logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालको पहिलो महिला सिइओ, अनुपमाको बैंकिङ यात्रा


  • जन आकाश
  • मंगलबार, जेष्ठ १५ २०७५

 



माइक्रोसफ्ट कम्पनीका मालिक अर्थात् विश्वका धनी व्यक्ति बिल गेट्सले भनेका छन्, ‘धैर्य नै सफलताको मुख्य आधार हो ।’ बिल गेट्सका यिनै भनाइ आत्मसात् गरेरै होला सायद अनुपमा खुञ्जेली वाणिज्य बैंकको सिइओ बन्न सफल भइन् । असिस्टेन्ट पदबाट बैंकिङ करिअर सुरु गरेकी खुञ्जेलीलाई त्यही धैर्यले मेगा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा पु(यायो ।

असिस्टेन्ट पद बैंकिङ करिअरको सुरुवाती पाइला हो । त्यही पाइला धैर्यले दह्रोसँग टेकेर ‘क’ वर्गको बैंकको सिइओसम्म पुग्नु चानचुने कुरा होइन । यसका लागि बिल गेट्सले भनेजस्तै धैर्य र कडा परिश्रम आवश्यक पर्छ । खुञ्जेलीले यही सुत्र अपनाइन् । २७ वर्षसम्म कडा परिश्रम गरिन् । धैर्य डगमगाउन दिइनन् र, ‘क’ वर्गको बैंकमा नेपालमै पहिलो महिला सिइओ बन्न सफल भइन् ।

सन् १९९१ मा बैंकिङ करिअर सुरु गर्दा खुञ्जेलीलाई लागेको थिएन ‘कुनै दिन बैंकको सिइओ बन्छु’ भनेर । उनले बैंकिङ क्षेत्रमा करिअर बनाउने सपना पनि बुनेकी थिइनन् । यस क्षेत्रमा प्रवेश गर्नु उनको बाध्यता थियो ।

‘व्यवस्थापन संकायमा अध्ययन गरेपछि कि त व्यवसाय गर्नुप(यो, या त बैंकमा जागिर खानुप¥यो,’ उनी सम्झन्छिन्, ‘पारिवारिक पृष्ठभूमि व्यावसायिक थिएन । मैले बैंकिङ रोजेँ ।’ जब उनले बैंकिङ करिअर सुरु गरिन् त्यसपछि भने उनलाई यस क्षेत्रको नेतृत्व तहमा पुग्ने अभिलाषा पलाएर आयो ।
अध्ययन र जागिर सँगै खुञ्जेलीले विद्यालय तहको अध्ययन सेन्ट मेरिज स्कुलबाट गरेकी थिइन् । त्यसपछि प्लस टुको पढाइ भारतमा गरिन् । पुनः नेपाल फर्किइन् र शंकरदेव कलेजबाट व्यवस्थापन स्नातक तह उत्तीर्ण गरिन् । स्नातक उत्तीर्ण गरेपछि अध्ययनलाई निरन्तरता दिने कि जागिर सुरु गर्ने भन्नेमा दुविधा भयो ।

उनका बुवा अकुर नरसिंह राणाले अध्ययनसँगै जागिर पनि सुरु गर्न सुझाब दिए । अनुपमाकी आमा ओपल राणा भने अध्ययन सकेर मात्रै जागिर गर्नुपर्ने पक्षमा थिइन् । उनले बुवाको सुझाबलाई मानिन् र जागिर र पढाइ सँगै गरिन् ।

बैंकिङ क्षेत्रको विकल्प

खुञ्जेली स्ट्यान्डर्ड चार्टर्ड र नबिल हुँदै मेगा बैंकमा आइपुगेकी हुन् । खुञ्जेली मेगा बैंकमा स्थापनाकालदेखि नै आबद्ध छिन् । ८ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धक भएर सेवा प्रवेश गरेकी खुञ्जेली नायब प्रमुख कार्यकारी अधिकृत हुँर्दै कायम मुकायम सिइओ बनिन् ।

तर, तत्कालीन ग्रिनलेज बैंक अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकमा जागिर सुरु नगरेको भए अचेल उनी कुन क्षेत्र वा पेसामा हुन्थिन् होला जिज्ञासमा उनले भनिन्, ‘सायद कुनै व्यवसायमा हुन्थे हुँला ।’ स्नातक सकाएपछि उनले सुरुमा टेलरका रूपमा जागिर सुरु गरिन् ।

आफ्नो बिजनेस गरेको भए सजिलो हुन्थ्यो कि भन्ने उनले पनि नसोचेकी होइनन् । ‘बैंकिङ क्षेत्रमै प्रवेश गरेपछि कसरी राम्रो गर्ने भन्ने साचिँदो रहेछ,’ उनी भन्छिन्, ‘काम गर्दै जाँदा प्रोत्साहन र हौसला मिल्दो रहेछ, त्यसले अघि बढ्न प्रेरित गरिरहँदो रहेछ ।’

मेगाको ‘ब्रेक थ्रु’

राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, नेपाल उद्योग वाणिज्य महासंघलगायतमा महिला नेतृत्व आए । नेपाल टेलिकमले पनि महिलाकै नेतृत्वमा काम गरिरहेको छ ।

यो सिलसिलालाई मेगाले अनुसरण ग(यो । मेगा बैंक लिमिटेड सञ्चालक समितिको वैशाख २ गतेबाट लागू हुने गरी खुञ्जेलीलाई सिइओ नियुक्त ग(यो । यससँगै ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर बनिन् । ‘इतिहासमा वाणिज्य बैंकले महिला नेतृत्व नै पाएको थिएन, त्यसले हामीलाई झस्काएको थियो,’ उनी भन्छिन्, ‘मेगाले ‘ब्रेक थु्र’ गरेको छ, यो उहाँहरू मेगा बैंकका सञ्चालकको प्रशंसनीय कदम हो ।’

आफूले पाएको जिम्मेवारीलाई उनले अवसरसँगै चुनौतीका रूपमा लिइकी छिन् । बैंकिङ क्षेत्रमा महिला नेतृत्व बढाउन आफूमा जिम्मेवारी थपिएको उनले महसुस गरेकी छन् । ‘यो मेरो लागि परीक्षाको घडी हो, म खरो र जिम्मेवार भएर उत्रनुपर्छ,’ उनी भन्छिन्, ‘अरू बैंकका बोर्डले पनि यस्तो निर्णय लिन महिलाको लागि वातावरण बन्ने छ ।’

जागिर छाड्ने मनस्थिति

तत्कालीन ग्रिनलेज अर्थात् अहिलेको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट असिस्टेन्टका रूपमा उनी बैंकिङ क्षेत्रमा प्रवेश गरिन् । त्यसपछि उनले फर्किएर हेर्नुपरेको छैन । असिस्टेन्टबाट सिइओसम्म पुग्दा उनले धेरै तह पार गरिन् ।

तर, काम गर्दागर्दा खुञ्जेलीलाई बैंकिङ क्षेत्रदेखि दिक्क पनि लाग्यो । उनले पटकपटक जागिर छाड्ने मनस्थिति बनाइन् । तर, नेतृत्वमा पुग्ने चाहनाले उनलाई बाँधिरह्यो । बैंकिङ क्षेत्रमा काम गरेर कुनै पनि फाइलमा हस्ताक्षर गरेपछि त्यसको जिम्मेवारी हस्ताक्षर गर्नेले लिनुपर्छ ।

‘हस्ताक्षर गरिरहँदा कतिपय अवस्थामा फसिने, तलमाथि हुनेलगायतका परिस्थिति सिर्जना हुन्छन्,’ उनी भन्छिन्, ‘अनि यस्तै अवस्थामा जागिर छाड्ने मनिस्थति बन्छ ।’ उनले पनि थुप्रैपटक यस्तै अवस्था भोगिन् । तर, धैर्य र सहनशीलता गुमाइनन् ।

‘स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकमै काम गर्दा पनि कहिलेकाहीँ मिहिनेतअनुसार प्रतिफल पाइएन कि भनेर दिक्क नलागेको होइन,’ उनी सम्झन्छिन्, ‘तर, आफूलाई सम्हालेँ अनि धैर्य गरेँ ।’ जागिरे जीवनमा पद बढ्दै जाँदा धैर्य र सहनशीलता झन् बढाउन आवश्यक हुने उनको अनुभव छ ।

छोरी हुर्काउन नपाएको दुःख

बैंकिङ क्षेत्रमा बजारमा आइरहेको परिवर्तनले चुनौती भइरहन्छ । समयसँगै आफू परिवर्तन हुन सक्नुपर्छ । नयाँ प्रडक्टहरू आइरहेका हुन्छन्, त्यसलाई बुझ्नुपर्छ । पैसा पनि राम्रै कमाइन्छ । तर, दुःख पनि उत्तिकै हुन्छ । खुञ्जेलीलाई बैंकिङ करिअरमा दिक्क लागेका पल धेरै छन् । जागिरकै कारण उनलाई आफूले आमाको पूर्ण जिम्मेवारी निर्वाह गर्न नसकेकोमा दुःख अनुभूति भएको छ ।

उनले छोरी जन्माइन् । छोरी हुर्काउन, स्याहार्न समय दिन सकिनन् । छोरीलाई उनकी सासुले हुर्काइन् । ‘बुझ्ने सासु भइदिँदा धेरै सहज हुँदोरहेछ,’ उनी भन्छिन्, ‘सासुले साथ दिएकै कारण मैले सफलता हासिल गरेँ ।’ सायद छोरीले पनि कुरा बुझिदिइन् होला ।

पछि तिनै छोरीले एसएलसी दिँदा खुञ्जेली पनि मास्टर्स गर्दै थिइन् । जागिर सुरु गरेपछि अध्ययनलाई रोकेकी थिइन् । मेगा बैंक प्रवेश गर्नेवेला स्नतककोत्तर अध्ययन गरिन् । ‘एस इस्टिच्युट अफ म्यानेजमेन्ट कलेजबाट मैले एमबिए गरेकी हुँ,’ उनले भनिन्, ‘छोरी र म सँगसँगै पढ्थ्यौँ ।’

खुञ्जेलीका श्रीमान् फोक्सो रोग विशेषज्ञ डाक्टर हुन् । उनी आर्मीका कर्णेल हुन् । उनलाई व्यावसायिक धर्म थाहा छ । त्यसैले पनि घरपरिवारमा कम समय दिएकोप्रति उनले कहिल्यै गुनासो गरेनन्, बरु साथ र हौसला दिइरहे । ‘यो कुरामा घरपरिवारको सहयोग एकदमै आवश्यक पर्दछ,’ उनी भन्छिन्, ‘तपाईं साँच्चै यो प्रतिस्पर्धी विश्वमा खरो उत्रिने हो भने घरपरिवारको सहयोग अनिवार्य छ ।’

महिलालाई असहज

महिलाका निम्ति बैंकको जागिर इज्जतदार छ । महिलाले बैंकिङ क्षेत्रलाई सबैभन्दा सुरक्षित र इज्जतदार जागिर ठान्ने गरेका पनि छन्, खुञ्जेलीको अनुभव पनि त्यही हो । अधिकांश महिलामा हिनामिना तथा घोटालको भावना हुँदैन । यस्ता घटनामा महिलाको संलग्नता निकै कम देखिन्छ । महिलाको यही गुण नै बैंकका लागि सकारात्मक पक्ष भइदिएको उनको बुझाइ छ ।

बैंकमा चाहिने सबैभन्दा महत्वपूर्ण कुरा विश्वास हो । प्रायः महिला विश्वसनीय हुन्छन् भन्ने मान्यता उनको छ । महिलाले यसलाई अवसरका रूपमा लिएर जानुपर्छ । बैंकिङ क्षेत्र स्थिर हुने पेसा होइन, जुन शाखामा पनि जानुपर्ने हुन्छ । अबेरसम्म काम गर्नुपर्ने हुन्छ ।

छोरालाई जागिर गर्न सहयोग गर्ने र बुहारीलाई जागिर छाड्न दबाब दिन नहुने उनको सुझाब छ । तर, अझै पनि हाम्रो समाजले महिलालाई त्यति सजिलोसँग अवसर दिँदैन । अहिलेको पुस्ताले जुन उपलब्धि हासिल गरिरहेको छ, त्यो सन्तोषजनक रहेको उनको बुझाइ छ ।

‘अहिले केही ठाउँमा महिला नेतृत्वमा पुगेका छन्,’ उनी भन्छिन्, ‘यसले वातावरण बनाउँछ, उनीहरूले प्रमाणित गर्छन् र भोलिका दिनमा नेतृत्व तहमा पुग्न महिलालाई कसैले छेक्ने छैनन् ।’

सफल सिइओ महिला नै

मेगा बैंक सुरु गर्दा ६० प्रतिशत कर्मचारी महिला थिए । तीमध्ये एक थिइन् खुञ्जेली । अहिले महिला घटेका छन् । तर, पनि नेतृत्व तहमा भने महिलाको बाहुल्यता छ । रविना देशराज र प्रज्ञा पाण्डे नेतृत्व तहमै छन् । उनीहरू पनि लाइनमै छन् ।

भोलिका दिनमा उनीहरूलाई सफल बनाउने उनको उद्देश्य हो । ‘उहाँहरूलाई प्रोत्साहन गर्नेछु,’ उनले भनिन् ‘अरू बैंकमा पनि महिला लाइनमा छन्, आउँछन् । अब चार वर्षमा मैले के सफलता हात पार्छु, त्यसले पनि अबको बाटो तय गर्ला ।’

असफलताको चिन्ता

नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय सिइओ र सञ्चालकबीच बिमति बढेको देखिन्छ । कार्यकाल बाँकी हुँदाहुँदै सिइओले जागिर छाड्ने घटना भइरहन्छन् । सञ्चालक समितिसँग सिइओको सम्बन्ध चिसिँदै जानु भनेको सिइओले जागिर छाड्नुपर्ने अवस्था आयो भनेर बुझ्नुपर्ने उनको ठम्याइ छ ।

सिइओ भनेको सञ्चालक समिति र व्यवस्थापनको पुल हो । यी दुई पक्षबीच सुमधुर सम्बन्ध कायम राख्नु सिइओको अभिभारा हो । व्यवस्थापन वा सञ्चालक कुनै एक पक्ष रिसाए पनि काम गर्न गाह्रो हुने उनले बुझेकी छन् ।

सिइओको कार्यक्षमता पनि यहीँ आएर ठोकिन्छ । ‘म आफ्नो बोर्डसँग फरक मत राखेर हिँड्न खोजेँ भने सफल हुन सक्दिनँ,’ उनले भनिन्, ‘बोर्डको भिजन व्यवस्थापनलाई बुझाउन सकिन भने पनि सफल भइँदैन ।’

आगामी योजना

मानिसलाई अनुभवले आत्मविश्वास बढाउँछ । खुञ्जेलीलाई पनि २७ वर्षे अनभुवले खारिदिएको छ । ‘मैले सबैजसो विभागमा काम गरेकी छु, यसले मलाई परिपक्व बनाएको छ,’ उनी भन्छिन्, ‘मैले सबैखाले अर्थतन्त्रका अवस्थासँग बैंकिङ क्षेत्रमा रहेर जुधेकी छु, असहज अवस्थामा बैंकलाई स्थिर राखेर लैजाने क्षमता र अर्थतन्त्रले गति लिएको वेला बैंकको ग्रोथलाई गति दिने क्षमता मसँग छ ।’

बैंकलाई अझै सबल, समृद्ध र सुदृढ बनाएर लैजाने उनको लक्ष्य छ । ५ वर्षे रणनीति तयार गरेकी छिन् । नयाँ आएका समकालीन वाणिज्य बैंकभन्दा अघि पुग्ने लक्ष्य उनको छ । ‘मेगा बैंक भर्खर आठ वर्ष भएको छ, अहिल्यै हामी ‘टप फाइभ वा टेन’ गइहाल्न सक्छौँ भन्ने छैन,’ उनी भन्छिन्, ‘तर, समकालीन बैंकभन्दा माथि जाने, अनि मध्यस्तरका बैंकलाई टप्ने हाम्रो योजना हो ।’

मेगा बैंकका संस्थापक सिइओले बैंकको बलियो जग हालिदिएका छन् । अब यही बलियो जगलाई टेकेर बलियो घर बनाउन आवश्यक रहेको उनको भनाइ छ । मेगा बैंकका संस्थापकदेखि सर्वसाधारणसम्मको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘सफलता भनेको अवसर र कडा मिहिनेतको संगम हो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend