जन आकाश
नेपालकै पहिलो उद्योगको रुपमा स्थापित विराटनगरस्थित जुटमिलको अस्तित्व सकिन लागेको छ । राणाकालिन राज्य व्यवस्थामा नै स्थापना गरिएको नेपालको पहिलो जुटमिल हो । जुन उद्योगबाट उत्पादन गरिएका जुटका बोराहरु त्यतिबेला नेपालमा मात्र नभएर भारतमा समेत निर्यात गरेर नेपालको प्रतिष्ठा बढाउँथ्यो । नेपालको प्रजातन्त्रको आन्दोलनका निम्ति मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला जो पछि नेपालका प्रधानमन्त्री समेत भए ती स्वर्गीय कोइराला र अधिकारीले समेत विराटनगर जुटमिलमा काम गरेर मजदुर आन्दोलन गर्न नेतृत्व दिएका थिए ।
तर विडम्बना नेपालमा प्रजातन्त्र बहुदलीय व्यवस्था स्थापना भएपछि नेपालमा उद्योग कलकारखानाहरुमा तिनै प्रजातन्त्र ल्याउन जुटमिलमा मजदुर आन्दोलन उठाउन भूमिका खलेका गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीहरुले नै पार्टीका नेता, कार्यकर्ता भर्ति केन्द्र बनाएर विराटनगर जुटमिललाई धराशायी बनाउने काम भएको जुटमिलमा काम गरेका तर पछि राजनीतिक षड्यन्त्रद्धारा निकालिएका जुटमिलका कर्मचारी हाल बृद्ध अवस्थामा रहेकाहरुले भन्ने गरेका छन् । त्यसपछि एकपछि अर्को गर्दै २०४७ को बहुदलीय व्यवस्था स्थापना भएपछि त निजीकरणका नाममा राष्ट्रिय उद्योगहरु बन्द गराउँदै बहुदलको नाममा किर्तिमान कायम गरेको देखिन्छ । विभिन्न मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित बालाजु कपडा उद्योग, हेटौंष कपडा उद्योग, जनकपुर चुरोट कारखानालगायत २० वर्षे बहुदलीय व्यवस्थामा समाप्त पारिएको देखिन्छ भने बाँकी रहेका नेपालगञ्ज सुगर मिल, बुटवल धागो कारखाना, विराटनगर जुटमिल, साँस मात्र धानेर बसेका थिए ।
त्यो पनि २०६२।०६३ को जनआन्दोलनबाट बनेको सरकार त्यसपछि गणतन्त्र नामक क्रान्तिले बाँकी रहेका उद्योगहरु समेत समाप्त पारिएको छ । अझ त्यो भन्दा लाज लाग्दो विषय विराटनगर जुट मिलमा भएका सामाग्रीहरु, पाटपूर्जाहरु हुँदा हुँदा कर्मचारी बस्ने क्वाटरको पर्खाल भत्काएर इटा समेत बेचेर राष्ट्रिय उद्योग सिध्याउने किर्तिमान कायम गर्न पो गणतन्त्र नामक क्रान्ति देशमा ल्याइएको रहेछ । इतिहासमा पढ्ने हो भने नेपालमा अहिले शासन गरिरहेका व्यक्तिहरुले राणा शासन व्यवस्थालाई धेरै निच शब्दहरु प्रयोग गरेर विरोध गरेको देखिन्छ ।
त्यसमा बहुदलीय प्रजातान्त्रिक समाजवादी भनिएको नेपाली काँग्रेस जनताको अधिनायकवादी समाजवादी व्यवस्था भनेर क्रान्तिको कुरा गर्ने र लेख्ने त्यतिबेलाको नेपाल कम्युनिष्ट पार्टी पछि माले, एमाले, त्यतिले नपुगेर जनयुद्धमा होमिएको नेकपा माओवादी हालको नेकपा नेपालको यतिबेला ठुलो पार्टी दुईतिहाइको सरकार यतिबेलासम्म आइपुग्दा राणा शासन व्यवस्थामा नै शुरु भएको जलविद्युतको विकासलाई ७० वर्षमा एकहजार मेगावाट विजुली उत्पादन गर्न नसक्ने, भएका उद्योग बन्द गर्ने बेच्ने, मिलिभगतमा तै चुप मै चुप गरेर राष्ट्रिय उद्योगहरु बन्द गराउने, ती राष्ट्रिय उद्योगहरु हिनामिना गराएर अनियमितता गरेको पैसाले बहुदलीय, गणतन्त्र व्यवस्थामा नेताहरुको छोराछोरी विदेशमा पढ्न पठाउने तर त्यही उद्योगमा हजारौं हजार मजदुरले काम गरेर राष्ट्रको उत्पादन प्रतिष्ठा र आफ्नो विहान बेलुका छाक टार्ने इमान्दार मजदुरहरुको विचल्ली बनाउने क्रान्तिकारी भनिएका नेताहरु हामीले पाइराखेका छौं ।
उद्योग खोल्ने, राष्ट्रिय उत्पादन बढाउने, देशभित्र रोजगार सृर्जना गर्ने योजना कसैले देशमा समाजमा सुनायो भने त्यो यथास्थितिवादी हुने र जो मेहनत गरेर आत्मनिर्भर हुने प्रयास गर्ने वास्तविक स्वाभिमानी नेपाली गुमनाम हुने र जो नेपालका उद्योग, कलकारखाना, व्यापार डुबाउन लाग्छन् त्यस्ता चाहिँ क्रान्तिकारी, देशभक्त भनेर चिनिने हाम्रो देशको चेतना विकास भएको रहेछ ।
त्यसो नहुन्थ्यो त जम्माजम्मी ३ करोड जनसंख्या भएको देश नेपालले दुईतिर ठुला राष्ट्र चीन र भारतलाई आवश्यक पर्ने वस्तुहरुको उत्पादन गरेर संसारकै धनी राष्ट्र नेपाल बनिसकेको हुन्थ्यो होला । नेपालमा भारतको वा अमेरिकी साम्राज्यवादको विरोध गर्ने तर सधें त्यतैतिरको भत्ता बुझेर नेपाललाई अस्थिरता मच्याउन भूमिका खेल्ने सोझा नेपालीलाई ढाँटेर गरेको छलछामले राष्ट्रिय उद्योगहरु धराशायी भएको देखिन्छ । त्यसकारण राष्ट्रिय उद्योगहरु संरक्षण गर्न वास्तविक देशभक्त, जो उद्योगहरु चलाउन दक्ष कामदारहरु प्रतिस्पर्धा गराएर छनोट गरी नाजायज माग राखेर पार्टीको स्वार्थ पूरा गरी नेपाललाई धराशायी बनाउने पुरानै प्रबृत्तिलाई चिनेर परास्त गर्दै राणाहरुले बनाएको भौतिक संरचनाको तरिकाबाट त्यसलाई अझ आधुनिकीकरण गरेर नेपाल राष्ट्रको लागि हित हुने राष्ट्रिय नयाँ उद्योगहरु खोल्नुपर्छ तव मात्र नेपालको प्रतिष्ठा विश्व बजारमा देख्न सकिन्छ । अहिलेको जुन लाजमर्दो अवस्थामा राष्ट्रिय उद्योगहरुको विजोग छ ती उद्योगहरुको तुरुन्तै संरक्षण गर्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend