जन आकाश
मोहन पोखेल
सत्तासिन पार्टीको शक्तिशाली पदमा रहेका कमरेड पुष्पकमल दाहाल उर्फ प्रचण्ड यतिखेर हतास मनस्थितिमा छन् । नेपाली राजनीतिका दुर्भाग्यपूर्ण दिनहरु शुरु हुन लागेको छनक पाएर हो, वा अन्य कुनै कारणल हो, समयले बताउला । तर नेकपाको अध्यक्ष जस्तो गरिमामय पदमा पुगेको एउटा चर्चित नेता, त्यसमा पनि प्रधानमन्त्री भइसकेर मुलुकको बागडोर सम्हालिसकेको व्यक्तिले सानातिना विषयलाई आधार बनाई आफैंमा रुमल्लिनु युक्तिसंगत देखिँदैन । आफ्नो कान नछामिकन कागले कान लग्यो भन्दै चिच्याउँदै कागको पछाडि दौड्नु प्रचण्डको विशेषता नै बनेको छ । वितग देखिनै आफूले गरेको गल्तीको महसुस गर्दै आएका प्रचण्डले कतै भोलिका दिनमा वास नै नपाइने होकि भन्ने चिन्ताले सताइरहनु पनि स्वभाविक नै मान्नुपर्छ । किनभने उनी दाह्रा नंग्रा फुकालेको बाघसँग पनि कतै झम्टिहाल्छ कि भन्दै डराएका छन् । दाह्रा झिेको बाघले शिकार गर्न सक्दैन भन्ने जान्दा जान्दै पनि प्रचण्ड बनको बाघसँग भन्दा मनको बाघसँग डराएका छन्, कतै केही भइहाल्छ कि भन्दै बर्बराएका छन् ।
गल्ती गरेको मान्छेले कुनै पनि बेला ठुलै सजाय पाउन सक्छ भन्ने मनोरोग प्रचण्डमा पलाएको छ । साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेझै प्रचण्डले यतिखेरको बिग्रेको राजनीतिमा जताततै प्रतिगमनको भुत देख्न थाल्दा नेपाली समाज पनि लगभग–लगभग तरङ्गित अवस्थामा छ । पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेको नोल कम्युनिष्ट पार्टी (नकेपा) लाई नेपाली जनताले लगभग दुई तिहाइ मत दिएर सत्तामा पु¥याउँदा पनि हिनताबोध गर्दै प्रचण्डले प्रतिगमनको छाया मात्रै देखिरहनाले जनताको मनोबल खस्कनु पनि स्वभाविक नै मान्नुपर्छ । किनभने दुईतिहाइको सरकारले प्रतिगमनको भूतलाई निमिट्यान्न पार्न असक्षम छ, प्रचण्डको मनोरोग यसमा सीमित रहेकाले अन्य दायाँबायाँ यिनले नजर लगाउन सकेका छैनन् । राजनीतिक क्रान्ति सकिएको छ, आर्थिक क्रान्तिको बाटो खुला भएको छ भन्दै जनतालाई बिकासको बाटोमा लगाउने जस्ता ज्ञानगुन दिनुको सट्टा राजनीतिक हिनताबोध गर्दै हिँड्नु प्रचण्ड जस्तो नेतालाई सुहाउनु नपर्ने हो ।
यहाँनेर पूर्व राजा ज्ञानेन्द्रको कुनै टेलिभिजन अन्तरवार्ता होस् अथवा देशवासीका नाममा कुनै सन्देश प्रवाह गर्दा होस्, कमरेड प्रचण्ड पूर्व राजाले व्यक्त गरेका शब्द शब्दमा प्रतिक्रान्तिको भूत सवार भएको महशुस गर्छन् र अत्तालिँदै भन्छन्– धेरै वकवक गर्ने हो भने ज्ञानेन्द्रलाई नागार्जुनबाट पनि लेखिटिनेछ । माथि नै भनिसकियो कि “राजा ज्ञानेन्द्र दह्रा नंग्रा झिकेका बाघ हुन् । तर पनि ज्ञानेन्दैसँग प्रचण्ड डराइ रहनुको अर्थ के हो ? बाघको शल्यक्रिया गरेर दाह्रा नंग्राको प्रत्यारोपण गरी पुनः हिंस्रक बनाउन अन्तर्राष्ट्रिय शक्ति केन्द्र लागेकै हो भनौ भने पनि नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारीले त्यसलाई मेटाई सकेको छ । युरोपियन युनियनको पहलमा तत्कालीन माओवादी सेनाको केही भाग नेपाली सेनामा समायोजन भइसकेको छ, बाँकी सबै हतियारहरु राज्यको कब्जामा आइसकेका छन् । राज्यको पुनर्संरचना भइसकेको र दुई तिहाइको सरकार बनि सकेको अवस्थामा प्रचण्डले आफूलाई निरीह देख्नु आश्चर्य लाग्दो छ । सधैंभर “हेग”को डर पाल्नु, प्रतिगमन देख्नु, नागार्जुनबाट लखेट्ने भन्दै बर्बराउनु मनोरोगका विशेषता हुन् ।
“राजा”लाई नागार्जुनबाट लेख्टनु ठुलो पुरुषार्थ होइन । नारायणहिटीबाट लेखेटिएका राजा नागार्जुनबाट पनि लेखेटिएमा पूर्व राजालाई कुनै हिनताबोध हुनेछैन । “राजा” मातृभूमिकै माटोलाई अनुशरण गर्दै बसेका छन् । राष्ट्रको राष्ट्रियता लोकतन्त्र र गणतन्त्र भन्दा पनि प्यारो हुन्छ । राष्ट्रियता रहेमात्र यी सबै पद्धति रहने हुन् । तर राष्ट्रियता भन्दा पनि गणतन्त्रलाई बढी प्रमुखताका साथ उठाएकाले राष्ट्रियता गौण विषय बनेको हो । वर्तमान सरकारको काम गर्ने शैली लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउने खालको नदेखिएको महशुस भएर नै पूर्व राजाका पछिल्ला गतिविधि क्रियाशिल भएका हुन् भन्नुमा कुनै दुईमत छैन ।
राष्ट्रियता माथि ओतप्रोत भई राष्ट्र निर्माणका गतिविधि अगाडि बढाउँदा प्रतिक्रान्तिको हौवा पिटाउने अहिलेको नेतृत्व वर्ग र त्यसैबाट बनेको सरकार केवल लाचार छायाँमात्र भएको आम नागरिकको बुझाई छ । त्यसकारण नेतृत्वको जिम्मेवार तहबाट उठाइएको नागार्जुनको विषय र प्रतिक्रान्तिको हौवा नर्तकीहरुको नाच जस्तै हो र बेला छँदै सरकार तथा उसको नेतृत्वमा रहेको पार्टीले संभावित दुर्घटना (?)बाट देशलाई बचाउने हो भने अरु कसैको कुरा नसुनी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउने आधारशिला तयार गर्नपट्टी लाग्नुपर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend