logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

खोक्रो राष्ट्रवाद कहिलेसम्म अलाप्ने ?


  • जन आकाश
  • शनिबार, साउन ३२ २०७६

मोहन कार्की
नेपालको खोक्रो राष्ट्रवादको चर्चा नेपालदेखि अमेरिकासम्म चल्ने गरेको छ । खोक्रो राष्ट्रवादको अर्को भाषामा नक्कली राष्ट्रवाद पनि भन्ने गरिन्छ । त्यही नक्कली राष्ट्रवादको नारा लगाउँदै नेपालीलाई झुक्याउँदै नेपाल सक्किनै लाग्यो भन्दै कहिले राणा शासन व्यवस्था मास्नलाई राष्ट्रवादको सहारा लिइन्थ्यो भने प्रजातन्त्र आइसके पछि शासनसत्ता ढाल्ने आफ्नो स्वार्थ पूर्ति गर्नको लागि देशलाई अस्थिरता बनाएर जनतालाई जति दुःख परेपरोस त्यसको कुनै नैतिकता नराखी देशको राष्ट्रियता खतरामा भन्दै एकातिर कराउने अर्कोतिर भारतीय विस्तारवादको नेपालमाथि हस्तक्षेप ग¥यो भनेर कराउने जब–जब सत्ता भन्दा बाहिर जुन पार्टी बस्छ त्यस पार्टीको नेताले जनतालाई झुक्याएर मन जित्ने काइदाको अस्त्रको रुपमा प्रयोग भएको राजनीतिक झेलको अस्त्र नक्कली राष्ट्रवाद नेपालमा अहिलेसम्म प्रयोग हुँदै आएको छ ।
नेपाल र अन्य देशको राष्ट्रवाद
विश्वका जति पनि कठिनपूर्ण आफ्नो निष्ठाको राष्ट्रवादमा विश्वास राख्ने राष्ट्रहरुले प्रगति गरेको उदाहरण धेरै छन् जसमध्ये बेलायत, चीन, कोरिया, साउथ अफ्रिका, हाम्रै छिमेकी राष्ट्र भारत पछिल्ला उदाहरणहरु हुन् भने उत्तर कोरिया र क्युवा चरम राष्ट्रवादको प्रतिरक्षा गरी रहेका छन् भने त्यो भन्दा पनि चर्को राष्ट्रवाद जर्मनको हिटलरलाई लिन सकिन्छ । ति र यी उदाहरणहरु हेर्दा ती वास्तविक राष्ट्रवादको अभ्यास गरेका देशहरु बिकासको गतिमा निक्कै अगाडी बढिसकेका छन् । आफ्नो राष्ट्रको रक्षाको लागि निष्ठापूर्ण अडान लिँदा हजारौं हजारले नरसंहारमा समेत होमिनु परेको इतिहास पहिलो र दोश्रो विश्वयुद्धका घटनाहरुले पुष्टि गरिसकेका छन् ।
हाम्रो नेपालको राष्ट्रवाद चाहिँ नितान्त अरुलाई गाली गर्ने आफू केही नगर्ने मात्र विरोधका लागि विरोध गर्ने भ्रष्टाचार भयो भनेर जो कराउँछ उसैले मै खाउँ मै लाउँ मै मोजमस्ती गरौं भन्ने व्यवहार गरेर विचौलिया बनेर वा कमिशन खाएर वा जालसाक्षी गरेर स्वाभिमानी पौरख गर्नुभन्दा लाचारी विचौलियो बनेर बसेकाहरुको नै ठुला गफ गर्ने चलनको विकास नेपालमा आज पनि हावी छ । यस्तै यस्तै व्यवहार देखाउनेहरुनै राष्ट्रवादको नारा लगाउँछन् । जबकी नेपालमा प्रजातन्त्र ल्याउनलाई अलापिएको राष्ट्रवादले नेपालको प्राकृतिक जलसम्पदाको अधिकार समाप्त ग¥यो २००७ सालमा राष्ट्रवादसँग जोडेर ल्याएको प्रजातन्त्रले २०११ सालमा कोशी सम्झौता, २०१६ सालमा गण्डक सम्झौता गरी भारतको हातमा नेपालको जलसम्पदाको चावी बुझाउने काम गरेको देखिन्छ र इतिहासमा उल्लेखित छ । यसको असर २०६५ भदौ ५ गते कोशी ब्यारेजमा पानीको बहाव बढेको बेला भारतीयहरुले मुख्य ढोकाहरु बन्द गरिदिँदा नेपालतर्फ बाँध खोलेर धनजनको क्षति पु¥याएको थियो ।
२०१७ सालमा स्व. राजा महेन्द्रले गरेको एकतन्त्रीय राष्ट्रवादले गरेको २० वर्षे शासनकालमा भने केही हदसम्म नेपालको भौतिक पूर्वाधार उद्योगहरुको स्थापना गरेको देखिन्छ । त्यसपछि पुनः २०३६ सालमा पञ्चायतकालमा भए गरेका अभ्यास आफ्नै खालका मनगढन्ते र हचुवाको भरमा गरिएका कामहरुले सबै पञ्च जनता सबै जनता पञ्च चन्ने नारा सफल भएको देखिँदैन । २०४६ सालमा अर्को खालको राष्ट्रवादको नारा जोडेर भारतीय विस्तारवादको विरोध गर्ने कम्युनिष्ट पार्टी जसको जन्म भारतमा घोषणा गरेको र नेपाली काँग्रेसको स्थापना पनि भारतमा नै गरेको पार्टीहरुले अर्को राष्ट्रवादको रटान र अलाप शुरु गरेको देखिन्छ । होला त भनेर त्यतिबेलाका जनताले पत्याए । २०४७ सालमा एउटा शक्ति निर्माण भयो जसलाई विपीले राष्ट्रिय मेलमिलापको नारा पनि दिए तर २०४६ सालको आन्दोलन पछि २०४७ सालमा संवैधानिक राजतन्त्र सहितको प्रजातन्त्र जसलाई बहुदलीय व्यवस्था भनिएको छ । जसलाई उदारवादी नीतिले व्याख्या गरिन्छ त्यो २०४७ सालको राष्ट्रवाद र भनिएको परिवर्तनले महेन्द्रकालमा स्थापना भएका उद्योग, कलकारखाना निजीकरण गर्दै केही मात्रामा भए पनि नेपालीलाई रोजगार दिइरहेका उद्योगहरु समाप्त पारेको देखिन्छ । त्यस्तो खालको बहुदलीय व्यवस्था नेपालले पाएको थियो । बहुदलीय व्यवस्थाको ५ वर्ष पुग्न नपाउँदै २०५२ सालमा भारतीय विस्तारवाद मुर्दावाद नारासहित ४१ बुँदे माग राख्दै जनयुद्ध लड्न जंगल पसेका माओवादी नेताहरु राष्ट्रवादको नारा लगाउँदै कताकताबाट बेलाबेलामा पत्रपत्रिका र एफएममा समाचार, तिनीहरुका लेख रचना आउँथे नेपाली जनतालाई लाग्थ्यो ती त वास्तविक राष्ट्रवादी हुन् भनेर सोच्दै गाउँतिर आउने ती सोझा सिधा माओवादी कार्यकर्तालाई सित्तैमा खान ख्वाउने देखि लुकाउनेसम्म जनताले सहयोग गर्थे भारतीय विस्तारवाद विरुद्ध सुरुङ युद्ध घोषणा गर्ने माओवादी पार्टीका नेता भारतको विभिन्न सहरबाट कोही पक्राउ परे कोही खुलेआम भारतमै हिँडिरहेको देखेपछि नेपाली जनता चकित परे । माओवादीको राष्ट्रवाद त्यसरी प्रकट भयो र हतारहतारमा अर्को नाटक मञ्चन गर्दै जनताले सत्य कुरा थाहा पाउने भए अव अप्ठ्यारो पर्ने भयो भनेर आठदलको बैठक भारतको दिल्लीमा सम्पन्न गरे । भारतमा बसेर भारतलाई गाली गर्ने नेपालमा त्यो मुद्धा बनाएर अस्थिरता ल्याउने राष्ट्रवादको नकाप त्यहाँ पनि उतारियो ।
त्यो अवस्था सम्म आइपुग्दा हाम्रा उद्योग सबै रुग्ण भइसकेका थिए । भारतीय मुलका मानिसले चलाएकालाई माओवादीले कतै पनि आक्रमण गरेको देखिँदैनथ्यो भने नेपाली नागरिकले चलाएका उद्योग, सरकारी कार्यालय, नेपाल राष्ट्रको सञ्चार नेपाल टेलिकमको टावर, बर्षौवर्ष लगाएर बनाएका पुल, हस्पिटल, गाविस भवन, स्कूलहरु बम पड्काएर ध्वस्त पारिएका थिए भने मानवीय क्षति र अङभङको कुरा सम्झदा आङ जिरिङ हुने खालको वातावरण बनेको थियो । त्यतिबेलासम्म माओवादीको जनयुद्धको राष्ट्रवादले गाउँका कुना कुनामा खेती लगाएर जसोतसो नेपाल राष्ट्रको प्रतिष्ठा जोगाएका र आफै स्वाभिमानी भई बाँचेका नेपालीहरु लखेट्दै लखेट्दै कोही सदरमुकाम कोही मोफसलको शहरमा कोही काठमाडौं राजधानी त १८ वर्षदेखि ४० बर्षभित्रका दक्ष जनशक्ति चाहिँ बिदेश पलायन भइसकेका थिए । यसरी परनिर्भरतातर्फ धकेल्ने गरी गराइएको राष्ट्रवादले नेपाललाई झनै उद्योगतितिर लगेको देखिन्छ भने त्यो २०४७ सालबाट २०६२ साल मंसीर २ गतेसम्म १५ वर्ष एकछत्र राज गरेको बहुदलीय व्यवस्थाले बहुदलका अगुवाहरुका छोराछोरी विदेशमा महँगा स्कुल कलेजमा पढाउन सक्ने बनिसकेका थिए तर गाउँमा अभावमा बाँचेका गरिबका छोराछोरी औषधीको अभावमा मृत्यु व्यहोरी रहेका थिए । यस्तै खालको राष्ट्रवादले गिजोली नेपाललाई चिथोरी राख्यो । २०६४ सालको संविधानसभाको निर्वाचनपछि फेरी प्रधानमन्त्री फेर्ने पालो पु¥याउनुपर्ने कहिले कुनलाई उचाल्ने, कहिले कुनलाई प्रयोग गर्ने नियतले संविधान बनाउन ९ वर्ष लाग्यो जबकी विश्वमा ५ वर्षमा एउटा कार्यकाल पूरा हुन्छ त्यो कार्यकालभित्र त्यो देशभित्र मानवीय सूचांकदेखि भौतिक पूर्वाधार, औद्योगिक व्यापार लक्ष्य भेटाउन काम र योजना लगायत कामहरु सम्पन्न गर्छन् । हाम्रो नेपालमा सधैं यो व्यवस्था भएन त्यो व्यवस्था भएन यो राष्ट्रवादी त्यो राष्ट्रघाती भनेर आफ्नै देशलाई कमजोर बनाउने र पटक पटक पञ्चायतकालदेखि गणतन्त्र स्थापना भइसक्दा समेत तिनै पात्रहरु दोहो¥याई रहनुपर्ने, दोहोरिरहने चलन हाबी छ । किनकी ती नेताहरु सबैको राजनीतिको मुहान पार्टीको स्थापनाकालदेखि नै भारतमा भएको थियो ।
यो बीचमा भौतिक संरचनाहरु कहिँकतै राष्ट्रिय योजनाहरुले पूर्णता पाएनन् । राणाकालीन अवस्थामा नै फर्पिङ र सुन्दरी जलविद्युत उत्पादन गरेको देश नेपाल आज लोडसेडिङ कम गर्न भारतबाट विजुली किनेर बाल्नुपर्छ ।
त्यसैगरी २०७२ सालमा बनेको नयाँ संविधान जारी भयो । भारतको विहारी मोडलमा भारतको डिजाइनमा बनाएको संविधान अरु जनताले थाहा पाउँछन् भनेर हतारहतार भारतले असन्तुष्टि पोखेको नाटक गरेको थियो । नेपालमा अस्थिरता निम्त्याउने कुनै बहाना नहुन सक्छ भन्ने सोचेर नाकावन्दी समेत लगाएर दुःख दिने काम भयो जुन बेलामा नेपालमा सुत्केरी, बालबालिका, बृद्धबृद्धा बेलैमा औषधी र समयमा एम्बुलेन्स सेवा नपाउँदा मृत्यु व्यहोर्नु प¥यो ।
२००७ सालमा अलापिएको राष्ट्रवादले अठोट राखेर नेपालाई ५ वर्ष वा १० वर्षभित्रमा सबै यातायात विद्युतबाट चल्ने बनाउँछु र त्यो बराबरको विद्युत उत्पादन गरेर विश्वको सस्तो विजुली दिएर उद्योग खोल्छु र सबै नेपालीलाई रोजगार दिलाउँछु भन्ने अठोट गरेको भए त्यस्ता भारतीय नाकावन्दी के अमेरिकाले उत्तर कोरियालाई लगाएको नाकावन्दी जस्तो परिस्थिति पनि नेपाल चट्टान जस्तो दह्रो, पूर्णिमाको चन्द्रमा जस्तो अटल भएर अडान लिएर प्रतिरक्षा गर्न सक्थ्यो । प्रतिरक्षाको लागि नेपाली सेनाको आफ्नै हतियार उत्पादन गर्ने उद्योग, युद्धपोतहरु, फाइटरहरु, क्षेप्यास्त्र, हेलिकप्टर, आफ्नै टेक्नोलोजि हुनुपर्ने थियो तर, सैनिकलाई आवश्यक गोली, बारुद, हेलिकप्टर, अत्याधुनिक हतियार भेइकल हुँदा हुँदा जुत्ता समेत विदेशबाट आयात गर्नुपर्ने र अन्तर्राष्ट्रियस्तरमा गएर रोइकराई गर्नुपर्ने थिएन ।
त्यतिले त चेत फिर्नुपथ्र्यो नाकाबन्दी हुन्जेलसम्म भारतको विरोध गर्ने नाकाबन्दी खोल्ने बित्तिकै विर्सिहाल्ने रोग पुनरावृत्ति भयो अर्को उदेक लाग्दो त राणाकालिन विराटनगरस्थित जुटमिलको पाटपूर्जा त बेचेर खाए खाए बनाइएको भवनको इँटा समेत भत्काएर बेचेर खाने राष्ट्रवादी पनि हाम्रै देशमा देखियो । त्यस्तैयस्तै क्रान्तिले नेपालमा उद्योग बन्द गराउने, खेती गर्न बन्द गराउने, गोलभेडा पनि विदेशबाट किनेर ल्याई खानुपर्ने, २० वर्षमा एउटा आयोजना पूरा नहुने राणा शासन, बहुदलीय व्यवस्था, ठिक छैन भन्नेहरुले नै अचेल त्योभन्दा बढी अनियमितता गरेर सुविधायुक्त ठाउँहरुमा घर घडेरी जोड्ने, छोराछोरीलाई अष्टे«लिया, युरोप, अमेरिका पढ्न पठाउने गरिब र स्थानीय रुपमा आएको बजेट मिलिजुली टाठावाठाले रित्याउने गरिब दुखीले अकालमा बाटो राम्रो नहुँदा दुर्घटनामा परेर ज्यान गमाउनु पर्ने, स्थानीय निकायका प्रमुखहरुको सबैको निजि निवास काठमाडौं वा जिल्लाका सदरमुकाममा हुने भन्ने बेलामा स्थानीय अधिकारको कुरा गर्ने, बार्षिक झण्डै ४ अर्वको गाडी मात्र खरिद गरेर समृद्धिको सपना देखिने नेपालको राष्ट्रवादले देशलाई कति फाइदा गर्दैछ ?
नेपालमा भएका शक्ति राष्ट्रहरुका कुटनीतिज्ञहरुले जथाभावी बोल्दै हिँड्दा र अमर्यादित बनेर भेटघाट वा राजनीतिक चासो राख्दा नदेख्ने तर गणतन्त्रले विस्थापित गरेपछि सामान्य नागरिक बनेर बसेका पूर्व राजालाई लान्छना लगाउँदै हिँड्ने राष्ट्रवादले कस्तो खालको देश निर्माण गर्दैछ ? कस्तो राजनीतिक संस्कार विकास गर्दैछौं हामी ।
नेपाल राष्ट्र त्यत्तिकै अहिलेसम्म स्वतन्त्र रहेको होइन । नेपालीहरुको एकता, धार्मिक सहिष्णुता, सदभाव कायम गरेर हाम्रा पूर्खाहरुले देखाएको अदम्य सहास र बुद्धिमत्ता कुटनीतिक चालले गर्दा नै नेपाल राष्ट्र स्वतन्त्र रहेको हो । त्यो अहिले विस्तारै भत्किँदै, भत्काउँदै लगेको देखिन्छ यस्तो छ नेपालको खोक्रो राष्ट्रवाद । युवा पुस्ताले सोच्ने बेला आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend