logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

‘‘सी” भ्रमणबाट नेपालले सिक्नुपर्ने पाठ


  • जन आकाश
  • सोमबार, कार्तिक ४ २०७६

मोहन पोखरेल



चिनियाँ राष्ट्रपति सिजिङपिङको बहुचर्चित नेपाल भ्रमण सकिएको छ र राष्ट्रपति सी स्वेदश फर्किसकेका छन् । विश्वको उदियमान शक्तिको रुपमा रहेको चीनका राष्ट्रपति विश्वकै दोश्रो शक्तिशाली नेता पनि हुन् । छिमेकी देश नेपालमा २३ वर्ष पछि हुन गएको विश्व शक्तिशाली नेताको यस भ्रमणले निकै महत्व राख्नु स्वभाविकै हो । तर यस भ्रमणबाट नेपालले के लाभ लिन सक्छ या सक्दैन भन्ने विषय नै महत्वपूर्ण हो । नेपालीहरुको चाहना हिमाली पारीबाट नेपालको केरुङ्ग हुँदै काठमाडौंबाट भारतीय सिमानाको लुम्बिनी सम्म रेल चलेको देख्न पाए हुन्थ्यो भन्ने हो । नेपाल सरकारको लक्ष्य पनि मित्र राष्ट्र चीनको आर्थिक सहयोगमा रेल मार्गको विस्तार गर्ने भन्ने नै हो । तर महामहिम राष्ट्रपतिको नेपाल भ्रमणले के सन्देश दिएको छ भने नेपालजस्तो अल्पविकसित राष्ट्रले विदेशी मित्रसँग ऋण लिएर खर्चिलो रेल मार्ग तयार गर्न सम्भव देखिँदैन । राष्ट्रपति तथा राष्ट्रपतिसँग रहेको उच्चस्तरीय भ्रमण दलले स्पष्टसँग यस्तो कुरा नेपाल सरकारसँग नभने पनि रेलमार्ग विस्तारमा संभाव्यता अध्ययन गरेर सहयोगी हात अगाडि बढाउने कुटनीतिक शैलीको अवलम्बन गरेको छ ।
चीन सरकारको सहयोगमा खुलेका भृकुटी कागज कारखाना लगायतका धेरैजसो कलकारखाना बन्द भएर कौडीमा पनि विक्न नसक्ने अवस्थामा पुगेका छन् । त्यस्ता रुग्ण अवस्थामा रहेका उद्योगलाई पुनः सञ्चालनमा ल्याउने बचनबद्धता चीनले व्यक्त गरेपनि चिनियाँ लगानीकर्ताहरु यस विषयमा स्पष्ट नदेखिएकोले चिनियाँ लगानीको विषयमा संसय पैदा भएको छ । यसबाहेक धेरै परियोजनाहरु ठेकेदारले काम सम्पन्न नगरेर विचैमा अलपत्र परेकाले त्यस्ता परियोजनालाई सम्पन्न गर्न चीन सरकारले चासो देखाएको छ । मेलम्ची खानेपानी आयोजना पनि त्यसैको एउटा उदाहरण हो । अर्बौ चिनियाँ मुद्रा नेपालमा खर्चिने र नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भुजडित राष्ट्रमा परिणत गर्ने चीनको लक्ष्य रहेको कुरा पनि राष्ट्रपति सीले नेपाल सरकारसँग राखिसकेका छन् । नेपालका नेताहरु भ्रमण उपलब्धीमूलक रहेको भन्दै मुलुक अव चाँडै नै विश्वकै नमुना बन्ने गफाडी गफ हाँक्ने मौका पाएका छन् ।
३० वर्षमा राष्ट्रपति सीले चीनका ७३ करोड जनतालाई गरिबीको रेखाबाट माथि पु¥याएका छन् । सी पथलाई कार्यान्वयन गर्दै र भ्रष्टाचारको जरो उखेल्दै चीनले ३० वर्षमा कृषि, व्यापार, उद्योग, शिक्षा र विकासका अन्य प्रयोजनमा मुलुकको कायापलट गरिसकेको छ । विश्वको दोश्रो महाशक्ति राष्ट्रमा आपूmलाई उभ्याइसकेको छ । हामीले छातिमा हात राखेर भन्नुपर्दा बहुदल आएको ३० वर्षसम्म के गर्न सक्यौँ ? मुुुलुकलाई कहाँ पु¥याएका छौं ? नेपालका नेताहरुले आत्मालोचना अवश्य गर्नुपर्ने छ र मुलुकको विकासका लागि भ्रष्टाचारलाई शुन्यमा झार्दै रात दिन नभनेर खट्नु पर्ने बेला आएको छ ।
चीनले “गीभ एण्ड टेक” को रणनीति लिएको छ । यस रणनीति अन्तर्गत नेपाललाई फकाउन सके दक्षिण एसियामा आफ्नो प्रभाव जम्ने र त्यसको विस्तार विश्वव्यापी बन्न सक्नेमा चीन विश्वस्त छ । यही रणनीति अन्तर्गत “बेल्ट एण्ड रोड इनिसियटिभ” (वीआइआर) चीनले अघि ल्याएको हो । किनकी दक्षिण एसियाको मुलद्धार नेपाल भएको र नेपाललाई आफ्नो कब्जामा लिन सकेमा पश्चिमा शक्तिशाली राष्ट्रले अवलम्बन गरेको “इण्डो प्यासेफिक योजना असफल हुने र त्यसपछि चीन व्यापारिक क्षेत्रमा र हतियारमा समेत विश्वकै महाशक्ति राष्ट्र बन्नेछ । यही देखेर पश्चिमा राष्ट्र अमेरिकाले आफ्ना हितैषी राष्ट्रको सहयोगमा चीनको योजना असफल बनाउन” इन्डो प्यासेफिक योजना बनाएको हो ।
अर्कोतर्फ दलाई लामा समर्थक तिब्बती शरणार्थीहरुको आश्रयस्थल काठमाडौं भएको र यिनीहरु हिमालपारी तिब्बततर्फ सजिलै छिर्न सक्ने र एक चीन नीतिको विरुद्धमा लडिरहने भएकाले चीन चिन्तित छ र नेपाल सरकारका माध्यमबाट यस्तो गतिविधिलाई रोक्न चाहन्छ । विआरआई पद्धतिलाई नेपाल छिराउन तिब्बती शरणाथीको रोकथाम आवश्यक पर्ने भएकोले चीनले नेपाल सरकारसँग सहयोगको अपेक्षा चाहेको छ । यसरी चीनले “गीभ एण्ड टेक”को रणनीति लिएकोले चिनियाँ राष्ट्रपतिको भ्रमण हुन गएको बौद्धिकहरुको विश्लेषण छ ।
हाम्रा नेता तथा सरकारले के बुझन जरुरी भएको छ भने हामी अव यसरी मगन्ते रुपमा चल्नु हुँदैन । सधैंभरी रेलको सपना देखिरहने र अर्काले गरिदिए हुन्थ्यो भन्ने संकल्प बोक्दै दौडिरहने हो भने हामी कहिल्यै अगाडि बढन सक्दैनौ । हाम्रो देशमा मित्रराष्ट्र चीन र भारतसँग वार्गेनिङ्ग गर्ने र आफूले चाहेजस्तो गर्न सकिने प्रशस्त ठाउँ छन् । चीनले विआरआईमार्फत नेपाललाई फकाउन खोजिरहेको छ हामीले दक्षिण एसियाको मुलद्धार नेपाल भएको गर्व गर्दै चीनसँग वार्गेनिङ्ग गरी प्रशस्त सहयोग लिन सक्दछौं । इण्डो प्यासेफिकमा पनि भारत र अमेरिकासँग वार्गेनिङ्ग गर्ने हामीसँग प्रशस्त आधार छन् ।
कुटनीतिलाई राम्रोसँग बुझ्दै पश्चिमा राष्ट्र अमेरिका र हिमाल पारीको छिमेकी देश चीनसँग कतैतिर नझुकी आफ्नो तटस्थ नीतिलाई अवलम्बन गर्न सक्नुपर्दछ । कसैको पक्ष लिएर काम गर्न थाल्ने हो भने हाम्रो कुटनीति असफल हुनेछ र हामी एउटा न एउटा शक्ति राष्ट्रको मारमा पर्नेछौं । कतै पनि नढक्निे किसिमको कुटनीति संचालन गर्न सकेमा सबैको सहयोग हाम्रो देशलाई प्राप्त हुनेछ ।
कुटनीति राम्रोसँग संचालन गर्न नजान्नाले पश्चिमा मुलुक डेनमार्कले काठमाडौंको आफ्नो दुतावास नै बन्द गरिदिएको छ । क्यानडाले पनि काठमाडौंस्थित आफ्नो कन्सुलर नै बन्द गरिदिएको छ । फ्रान्स र बेलायतले काठमाडौंस्थित दूतावासमा आकार घटाउँदै लगेका छन् । यस्तो अवस्थामा वीआरआई र इन्डो प्यासेफिक रणनीति जुुधेकाले हाम्रो सरकारले बडा सतर्कतापूर्वक कसैको पक्ष नलिई दुबैबाट आफ्नो स्वार्थ खिच्न सक्नुपर्दछ । “जाने श्रीखण्ड, नजाने खुर्पाको बिंड” भयो भने अवस्था घातक हुन सक्ने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend