logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कहिले बनाउछौ आत्मनिर्भर देश ?


  • जन आकाश
  • मंगलबार, कार्तिक ५ २०७६

मोहन कार्की
मेरो देश हाम्रो देश हामी सबै नेपालीहरुको देश नेपाल, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न हाम्रो देश, हाम्रो देशको संस्कृति सबैलाई दिन पुगोस् खान पुगोस् । तर यतिबेला नेपालको राष्ट्रिय स्थिति मगन्ते अवस्थामा छ । नेपालीहरुले विश्वमा थुपै्र देशहरुमा गएर चरम महेनत गरेर देशको अर्थतन्त्रलाई जोगराइराखेका छन् । देशको नेतृत्व गर्नेहरुले चाहिँ नेपाललाई आत्मनिर्भर बनाउने खालका योजनाहरु अहिलेसम्म बनाउन सकेका छैनन् । कुनैबेला हाम्रा बाउ, बाजे, बराजुहरुले मानवीय सुविधाका लागि पार्टी, पौवा, कुवा, धारा, मन्दिर, गुम्बा, सत्तल, मसानघाटजस्ता सामुहिक रुपमा काम गरेर राखेका पुरातात्विक संरचनाहरुले पुष्टि गरिरहेका छन् । तिनै महान पूर्खाका सन्तान हामीहरु जो आधुनिक युगको कुरा गर्छौ र विज्ञानको युगमा एक्काइसौं शताब्दीको उत्तराद्धमा छौं । यही समयमा एउटा फराकिलो कोटेश्वर जगाती सडक जापानले आएर बनाइदिएको छ । अर्को पनि धुलिखेल खुर्कोट विपी राजमार्ग जापानले बनाइदिएको छ । लामोसाँघु–जिरी सडक खण्ड स्वीट्जरल्याण्डले, कोटेश्वर–कलंकी सडकखण्ड चीनले त्यस्तै अनि कुनै आयोजना बनाउनु प¥यो भने पनि विदेशीको ऋण लिनुपर्ने ठुला आयोजनाहरु सबै विदेशीलाई दिइरहेको अवस्था छ ।
नेपालमा आम सञ्चारको अवस्था
देशको सत्य तथ्य विश्वसनीय र धेरै भन्दा मानिसहरुलाई छिटो छरितो ढंगबाट जानकारी गराउने आम सञ्चार क्षेत्रका सञ्चारकर्मीहरुले फलानो देशले यति नेपाललाई सहयोग ग¥यो भनेर त्यसैलाई ठुला ठुला अक्षर राखी समाचार बनाउनु परेको छ । किनकी आफ्नो देशलाई सहयोग गरेको कुरा राम्रो हो । तर नेपालीहरु दिनानुदिन परनिर्भर हुँदै गएको नराम्रो कुरा हो । अर्को नेपालका आम सञ्चारका माध्यमहरु अधिकाँश विदेशी कम्पनीका आयातित सामाग्रीहरुको विज्ञापनबाट धानिनुपर्ने अवस्था छ । नेपालको आफ्नै उत्पादन केही नहुँदा विदेशी कम्पनीबाट परनिर्भर हुनु पर्दा आम सञ्चारक्षेत्रले कहिलेकाहिँ ती विदेशी कम्पनीले गरेको गल्ती समेत समाचार बनाउँदैन त्यसको असर राष्ट्रलाई हुन्छ । यसरी राष्ट्रलाई नोक्सान पुग्दोरहेछ भनेर बुझेर हाम्रो देशका नेताहरुले कहिल्यै आफ्नै देशभित्र ठुलाठुला कम्पनीहरु कहिल्यै खोल्ने सोच राखेको देखिँदैन ।
राणाकालिन युगमा सेनाको गोली गठ्ठा उत्पादन
नेपाली सेनाले राणाकालीन व्यवस्थामा आफै हातहतियार, गोलीगठ्ठा उत्पादन गथ्र्यो रे त्यही इतिहासले भन्छ । नेपाल आफैले बन्दुक, गोली, बारुद्ध बनाएर भोटयुद्ध जितेको इतिहास छ । अहिलेको अवस्थामा सामान्य बन्दुक, गोली पनि भारतबाट आयात गरिएको र एमसिक्टिन बेल्जियमबाट खरिद गरिएको घटनाले त नेपालको बारेमा सबैलाई जानकारी भएकै कुरा हो ।
सेना भनेको देशको रक्षा सुरक्षा गर्ने निकाय हो । हो त्यही देशको रक्षा सुरक्षा गर्ने निकायले समेत अरु देशबाट हात हतियार ल्याएर प्रयोग गर्नुपर्छ भने राष्ट्रको रक्षा, सुरक्षा कसरी होला भोलि यो संवेदनशील विषयमा हातहतियार, गोलीगठ्ठा नभएको खण्डमा के गर्ने समस्या उत्पन्न हुन सक्ने देखिन्छ । यसलाई परनिर्भरताको पराकाष्ठा भनिन्छ ।
गोलभेडा समेत आयात गर्ने देश नेपाल
कृषि प्रधान देश भनेर ठुलाठुला अक्षरमा लेखेर पढाउने र कृषिको आधुनिकीकरणमा कहिल्यै ध्यान नदिने कृषकको पेशा, उत्पादन, बिक्री, बजारको व्यवस्थापन नगर्ने अनि कृषि प्रधान देश भनेर रटान रटिरहने र त्यस कृषिबाट किसानले आफ्नो जीविकोपार्जन गर्न नसकेर भएको खेतीयोग्य जग्गा बाँझै छोडेर विदेश पलायन हुँदा समेत देखेर पनि नदेखेझै गर्ने राज्यको व्यवस्थापन पक्षले गोलभेठा समेत भारतबाट आयात गरेर नेपाली भान्छामा पु¥याउनुपर्ने अवस्था आएको छ । जबकी नेपालले १९६२ मा कोरियालाई खाद्यान्न अभाव हुँदा चामल सहयोग गरेको रेकर्ड भेटिन्छ । यो अवस्था सृजर्ना हुँदा समेत कृषिको लागि कुनै पनि ठुला परियोजना बनाउन सरकार सञ्चालन गर्नेहरुले कृषिलाई प्राथमिकता नदिएको बुझिन्छ ।
सरकारपक्ष ऋणमा नै मख्ख
नेपालको यो ७० वर्षमा कुनै पनि पार्टीबाट सरकार चलाउन गएका नेतृत्वहरुले कहिल्यै पनि नेपाल आफैले आम्दानी गर्नुपर्छ, आम्दानी गर्नको लागि सम्भावित क्षेत्रहरुलाई चयन गरेर उत्पादन, व्यापार, पर्यटन के गर्दा देशलाई फाइदा हुन्छ र आत्मनिर्भर बन्न सकिन्छ । आर्थिक बृद्धि कसरी गर्न सकिन्छ भन्ने तर्फ गम्भीर भएर कुनै पनि नेतृत्वले सोचेको देखिँदैन । उनीहरुको सोच परनिर्भरवादी छ । विदेशी ऋण ल्याएर मख्ख पर्ने र बस्ने देखिन्छ । त्यो ऋणको भार भोलिका भावी नेपाली सन्तानलाई असर पुग्ने कुरा सोचेका छैनन् भन्ने भान गराउने खालको उनीहरुको शासन पद्धतिले देखाइरहेको छ ।
के भन्छन् राष्ट्रवादी देशभक्तहरु ?
क) हामीले हाम्रै देशको कम्पनीको उत्पादनको प्रशंसा कहिले गर्न पाउँछौं ? पत्रकारहरुको भनाई ।
ख) हामीले आफ्नै देशले बनाएको मोटर कहिले चढ्न पाउँछौं, यात्रुहरुको भनाई ।
ग) हामीले आफ्नै देशले बनाएको हतियार कहिल्य बोक्न पाउँछौं, नेपाली सेनाहरुको भनाई ।
घ) हामी आफ्नै देशको उपकरणहरु प्रयोग गरेर ठुला ठुला संरचना बनाउन ती उपकरण किन्न पाउँछौं ? निर्माण व्यवसायीहरुको भनाई ।
ङ) हामी १२ महिना खेती गरेर कृषि उत्पादन गरी कृषिमा आत्मनिर्भर हुनलाई, सिचाई, बिउ, बिजन, सितभण्डार, बजारको ग्यारेन्टी हुन्छौं, किसानहरुको भनाई ।
च) हामी आफ्नै देशको ठुलो कारखानामा काम गरेर हामीले उत्पादन गरेको बस्तु मेड इन नेपाल ब्याज टाँसेर विदेशलाई निर्यात गर्न सक्छौं र हामीले गरेको कामबाट परिवार पाल्न पुग्ने पारिश्रमिक कहिले पाउँछौं ? मजदुरहरुको भनाई ।
छ) हामीले पढेको ज्ञान नेपालकै लागि प्रयोग गर्न कहिले पाउँछौ र +२ गर्ने बित्तिकै अष्टे«लिया, अमेरिका, युरोप भन्दा नेपालमै सम्भावना छ भन्ने विश्वासिलो वातावरण कहिल्य बन्छ ?, विद्यार्थीहरुको भनाई ।
ज) हामीले आफ्नै देशले छुट्याएको सामाजिक कोषबाट रकम लिएर स्वच्छ, निष्पक्ष स्वतन्त्र मानवीय तथा प्राणीहरुको सामाजिक हितमा काम गर्ने वातावरण कहिल्य बन्छ ? समाजसेवीहरुको भनाई ।
झ) हाम्रो देश नेपालको लागि आइपर्ने भव्यतव्यको लागि अनिवार्य कोर्ष कहिल्य गराइन्छ, युवाहरुको भनाई ।
यो माथि उल्लेखित भनाइहरुले हेर्दा सबै तप्काले देशको असाध्यै माया गरेका छन् । देशको सम्बन्धित पक्षले ध्यान दिएर नेपाल हाम्रो हो हामी सबै मिलेर नबनाएसम्म अरुले बनाइदिन्छु भनेको भरमा अरु नै आएर विकास गरिदेला भन्ने आशमा हाम्रो देश नेपाल विकास हुँदैन । नेपालको विकास, नेपालको सुरक्षा, नेपालको हरेक क्षेत्रको संरचना नेपाली हामीहरुले नै एकतामा बाँधिएर, अठोट संकल्प राखेर नेपालको विकास, उन्नति प्रगति गर्न कडा मेहनत गर्यौँ भने शुरु गरेको देखि १५ वर्ष भित्रमा विश्वका विकसित राष्ट्रको सूचीमा पार्न सक्छौं र नेपालीहरुको खान पुगोस् दिन पुगोस् भन्ने संस्कृतिलाई शिर ठाडो पारेर उभ्याउन सक्छौ यसरी बन्छ स्वाभिमान नेपाल ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend