logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोहन कार्कीको ‘माइली’ उपन्यासलाई नियाल्दा


  • जन आकाश
  • शुक्रबार, मंसिर १३ २०७६

शालिकराम तिमलसेना



पुस्तक समिक्षा 
फेसबुकबाट माइलीको नाम सुन्नासाथ कुनै श्रृंगारिक उपन्यास लेखियो होला भन्ने सोचेको थिएँ । तर साँच्चै पुस्तक मेरो हातमा प¥यो र पढ्न थाँले । त्यसलाई जति पढ्दै गएँ त्यतित्यति म पुर्वाग्रही बनेछु भन्ने लाग्दै गयो र मेरो मानसको भ्रम हट्दै गयो । अन्त्यमा उपन्यास निखुर सामाजिक यथार्थवादी देखियो । यस्तो किन भएको थियो भने महान् प्रगतिवादी लेखक राहुल सांस्कृत्यायनद्धारा रचित र नारायण आचार्यद्धारा अनुदिन ‘भोल्गादेखि गङ्गासम्म’ जस्तो प्रगतिवादी रचनामा पनि श्रृंगारिकता उदात्त छाल तरंगहरु ज्यास्ती थिए । जसलाई मैले भर्खर पुन पढेको थिएँ । मोहनजीजस्तो युवावयी लेखक श्रृंगारिकता अथवा प्यार प्रणयका फुलहरु रोप्न कहाँ चुक्नुहोला र भन्ने लागेको थियो । यो सब मेरो मनको बाघ ठहरियो तर बनको बाघ अर्कै थियो ।
जसमा मनोज र अञ्जनाजस्ता युवा दम्पत्ति थिए तर तिनमा रागात्मकता थिएन । उनीहरु परेवाका दुःखी जोडीजस्ता थिए । उपन्यासमा उनीहरु प्रेमप्रणयको लिला खेलभन्दा पर छन् । उनीहरु आफ्नै काकाद्धार हडपिएका छन् । कोसीको बाढीद्धारा बगाइएका छन्, धीरजधारा बेचिएका छन् । माइलीद्धारा सहयोग गरिएका छन्, विछोड षड्यन्त्रको भूमरीमा फसेका छन् र अन्त्यमा सेक्सपियरका नाटकहरुमा झै पुर्नमिलनको संयोग सुख प्राप्त गर्न सफल भएका छन् । अघि मनोज अन्जनाका अबोध बालक छोराहरुलाई दुःखसाथ हुर्काउन माइलीले गरेको त्यागप्रति कृतज्ञ भएका छन् । यसरी एउटा श्रमजिवी परिवारले गरेको संघर्षको चित्र माइली उपन्यासको क्यानभासको रंग भएको छ ।
म यो उपन्यास पढ्दा यसरी आश्चर्यचकित भएँ जुन औपन्यासिक पूर्व परम्पराभन्दा भिन्न चित्र यहाँ छ । बसबाट यात्रा गर्दा झ्यालबाट देखिने फरक फरक दृष्यहरु जसरी लगातार आइरहन्छन् त्यसरी नै यस उपन्यासमा घटनाहरु आइरहन्छन् । यस्तो प्रयोग नितान्त नविन र पूर्व परम्परा भिन्न छ । मैले यस्तो स्थितिलाई घटनाहरुको एनिमेसन भनेको छु । यसका लागि संस्कृतको पुनसंयोजन शब्दको पनि प्रयोग गर्न सकिन्थ्यो । तर आजका किशोर पुस्ताका लागि एनिमेसनले बोधगाय छ । लैनसिंह बाङदेलको मुलुक बाहिर उपन्यासमा पनि घटनाहरुलाई यसरी नै बुनिभएको छ । तर त्यस उपन्यासमा घटना प्रवाह यति तिब्र छैन ।
यस्तै कुरालाई बुझेर समालोचक हृदयचन्द्रसिंह प्रधान (२०६१) ले लेख्नुभएको थियो– उपन्यास लोकप्रिय, यसको कारण हो– यसमा हुने रोचकता, बृहत जीवनको परिचय र सत्याभास (पृ.१) । त्यसरी नै वहाँले भन्नुभएको थियो–उपन्यास कला हो, रागात्मकता भएको कला (पृ.६) ।
मैले मासको संसारकै सर्वप्राचिन नाटक ‘स्वप्नवासवदत्ता’ अनुवाद गराएर जव निर्देशक प्रभाकरदेव शर्माका हातमा थमाएँ, त्यो पढेपछि उनले मसित भने यो त आधुनिक फिल्मजस्तै रहेछ, घटनाहरुको शृंखला टे«नको झ्यालबाट देखिने पार्थिव दृश्य जस्तै अनवरत आइरहने रोकावटहीन, अन्तिम विन्दुसम्म उस्तै तीब्रताकासाथ फटाफट अघि बढिरहने मनोरम यात्रा । माइलीको भूमिका लेखक दोमोदर ढकाल दीपकले यसलाई सिनेमा हेरिरहेजस्तै गरी पढे भनेका छन्– जुन सही हो । यस किसिमको रोकावटहीन प्रवाहशीलता यस कृतिको सुन्दर पक्ष हो भन्ने मलाई लागेको छ ।
यत्तिले मात्र वा यस किसिमको प्रवाहशीलताले मात्र आख्यान फिल्म हुँदैन । किनकी यसमा प्रत्यक्ष कथन संवादको सर्वथा अभाव छ । यसलाई फिल्म बनाउने हो भने संवादहरु थप्नुपर्छ, कथपोकथनहरुको चाङ, उभ्याउनु पर्छ । फिल्म वा नाटकमा पात्रले केही कुरा बोल्नुपर्छ । त्यसकारण राजेन्द्र सुवेदी (२०६४) ले कटापेकथनलाई नाटकीय तत्व भनेका छन् । उहाँले यसैद्धारा उपन्यास ‘व्यञ्जित’ हुन्छ भनेका छन् (पृ.२४) । फिल्ममा संवाद वा कथपोकथनहरुको चाङ उभ्याउनु भनेको उपन्यासको पुनर्कयन हो । उपन्यासको पुनर्कयन कति दुरुह काम हो भन्ने बारेमा एउटा घटना तपाइलाई सुनाउन चाहन्छु ।
सांस्कृतिक साधनाले उपन्यासले हृदयचन्द्र सिंह प्रधानको एक चिहान उपन्यासलाई नाटकीकरण गरी देखाउने निर्णय गरेपछि पुनर्कयन गर्न मैले नभ्याउने भएपछि त्यो जिम्मा मैले मेरा साथी र त्यहाँका कर्मचारी रमेश विजीलाई दिएँ । वहाँले त्यो दुरुह कार्य आश्चर्यजनक एवं सुन्दररुपमा सम्पन्न गर्नुभयो । वहाँ प्रतिभाशाली गीतकार हुनुका साथै साहित्यिक चेतले ओतप्रोत हुनुहुन्थ्यो । मैले वहाँलाई धेरै धन्यवाद दिएँ । सांस्कृतिक संस्थानले वहाँलाई केही थोरै पैसा दियो । केही संकीर्णहरुले त्यसको विरोध पनि गरे । अहिले पनि त्यो पुर्नकथित रुपान्तरित नाटक सांस्कृतिक संस्थानले प्रदर्शन गरिरहेको छ । निर्देशक वीरेन्द्र हमाल र साथीहरुले त्यसलाई सुन्दर रुपमा मञ्चन गरिरहेका छन् ।
रमेशजीको त्यो काम भनेको उपन्यासमा भएका प्रत्यक्ष कथन संवादहरुलाई छान्नु, कुनै संवादहरुको मर्मत गर्नु र कतिपय ठाउँहरुमा नयाँ संवादहरु थाप्नु थियो । अनुवाद शास्त्रका दृष्टिमा त्यो काम भाषन्तरिक अनुवाद थियो, अनुकूलन थियो । अनि भाषा विज्ञानका दृष्टिमा चाहिँ त्यो काम भाषिक एकाइहरुको आर्थी होइन, संरचनागत परिवर्तन थियो । जसलाई नाट्य प्रदर्शनका लागि योग्य बनाउनु थियो । यो सब गरियो । उपन्यास प्रेक्षालयमा रंगीन रुपमा नाच्न पायो । यस विषयसँग सम्बन्धित दोश्रो घटना पनि तपाइलाई सुनाउन चाहन्छु ।
सांस्कृतिक संस्थानले महाकवि देवकोटा रचित मुनामदन गिती नाटक ६२औं पटक प्रदर्शन ग¥यो । त्यो खबर तत्कालीन माओवादी नेता पूर्व प्र.म. बाबुराम भट्टराईले पाउनु भएछ । वहाँ पत्नी हिसिला यमिका साथ मुनामदन हेर्न आउनु भयो र त्यो हेर्नुभयो । अन्त्यमा हिसिलाले मेरो पिता धर्मरत्न यमीले पनि ‘खासा बोल्छे’ शीर्षकमा यस्तै गीति काव्य रच्नु भएको छ, त्यो पनि यसरी नै देखाउन मिल्छ कि मिल्दैन हेरिदिनुप¥यो भन्नुभयो र केही दिनपछि मलाई एकप्रति पठाइदिनुभयो । त्यसलाई मैले आधोपान्त हेरेँ । खासा बोल्छेमा देवकोटाको मुनामदनमा जस्ता सपाट संवादहरु थिएनन् । त्यसमा प्रकृति चित्रण थियो, सामाजिक जीवन थियो । पात्र र घटनाहरु थिए, तर पात्रबीच हुने वार्तालापहरु थिएनन् । प्रयोगवादी नाटकहरुमा एकलाप, आत्मालाप, अलाप, विलापजस्ता शिथिल संवादहरु रहन्छन् । तिनमा घटना श्रृंखला हुँदैनन् तर आधुनिक नाटक, प्रहसन र फिल्महरुमा बहुपात्र, बहुसंवाद र बहुघटनाहरु हुन्छन् । धर्मरत्न यमीले लेख्नु भएको खासा बोल्छे गीति काव्यमा यस्ता वार्ताहरु नपाएपछि मैले यसलाई यत्तिकै रुपमा गीति नाटकका रुपमा मञ्चीय प्रदर्शनमा लान सकिन, लो हो भने पुर्नलेखन गर्नुपर्छ, यो कुरा बडो दुरुह छ भनी बताएँ । वहाँहरुले त्यसलाई मान्नुभयो ।
धर्मरत्न यमी नेपालको बाम प्रजातान्त्रिक आन्दोलनका सहयोगी हुनुहुन्थ्यो । त्यसो भए पनि वहाँले लेख्नुभएको लासा बोल्छेमा संवादहरु नहुँदा त्यसलाई मञ्चीय प्रदर्शनमा लान सकिएन । माइली उपन्यासका सन्दर्भमा यो पक्ष विचारणीय छ भन्ने मलाई लाग्छ । साहित्यिक पाठमा रहने वार्ताहरु वार्ताका लागि मात्र होइनन् । यस्ता वार्ताहरु भाषिक घर्षणका अभिव्यक्तिहरु ह्ुन् । यस्ता घर्षणमा स्रष्टा लेखक तटस्थ रहन्छ । स्रष्टाले आप्mना मनोभावहरु आफै प्राचिन नाटकका सूत्रधारहरु झै आफै बोल्दैन । उसले मनोभावनाहरु पात्र मार्फत बोल्दछ । उपन्यासको सौन्दर्य यस कुरामा पनि निहीत रहन्छ साहित्यमा पात्रले बोल्ने सबै कुरा लेखकले नै बोलिदिँदा अदालतमा पौरवीकर्ताका बहसविनै न्यायाधीशले मुद्धा छिनेजस्तो भइदिन्छ । कृष्णहरी बराल र नेत्र एटम (२०६६) ले पात्रलाई जीवनसँग जोड्न सहयोग पु¥याउने तत्व नै संवाद हो भनेका छन् (पृ.३२) । चित्रमा जीवनलाई रंगले क्यानभासमा उतार्छ । उपन्यासमा, कथामा, नाटकमा, पात्रको बोलीको जीवनलाई उतार्छ । त्यसकारण हरेक लेखनमा संवाद आवश्यक छ ।
माइली उपन्यासले नेपाली समाजको यथार्थ चित्र उतारेको छ । त्यहीकारण विद्धानहरु साहित्यलाई समाजको ऐना भन्दछन् । सबभन्दा सुन्दर साहित्य कस्तो हुन्छ र हुनुपर्छ भन्ने कुरालाई लिएर विश्वभरीकै विद्धानहरुवीच बहस चलेका छन् र प्रगतिवादी साहित्य त्यस्तो सुन्दर साहित्य हो भन्ने उनीहरुको ठहर छ । यस क्रममा निनु चापागाई (२०५१) ले दुष्टताका विरुद्ध संघर्ष गर्ने (पृ.८३), क्रान्ति सम्पन्न गर्न र नयाँ सामाजिक व्यवस्थाको निर्माण गर्न संघर्षरत् जनतामाथि प्रकाश पार्ने (पृ.८३) साहित्य प्रगतिवादी साहित्य हो भनेका छन् । जसले वर्गीय सारतत्वलाई प्राथमिकता दिने गर्दछ (पृ.८३) जसले जीवन यसरी नै चलिरहन असम्भव छ भन्ने बुझ्दछन् (पृ.८४) उनले लेखेका छन्– नेविन कला साहित्य सर्वहारा उद्देश्यको एक अंग हुनुपर्छ भनी ठान्थे (पृ. ८६) । यस दृष्टिले साहित्यमा समाजचित्र मात्र पर्याप्त छैन । अनि समाजमा हुने शोषण, थिचोमिचो, अन्याय, ठगी, जालझेल, पतन र चरित्रहिनता र स्वार्थ मनोवृत्तिको चित्रण मात्रै पर्याप्त छैन । तिनका विरुद्धको साहषिक संघर्ष र यस्तो संघर्षमा हुने अवश्यभावी विजयको सपना आवश्यक रहन्छ । माइली उपन्यासमा जीवन संघर्षका थुप्रै घटनाहरु उल्लेख छन् यो कुरा उपन्यासको सवल पक्ष हो ।
गजानन माधव मुक्तिबोध (सन् २००८) ले लेखेका छन्, आलोचकको धर्म साहित्यिक नेतागिरी गर्नु होइन, जीवनलाई मर्मज्ञ बनाउन, सहयोग गर्ने उद्देश्यले कला समिक्षा गर्नु हो (पृ. ९९) । मैले पनि कतै बढी पो लेखेँ कि ? मलाई डर लागिरहेछ । कतै भावाव्यक्तिमा कमजोरी भएमा क्षमा चाहन्छु । माइली उपन्यासले सफलता पाओस् । अनि मोहनजीद्धारा भावि दिनमा अन्य रचनाहरु पनि लेखियुन् । इति ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend