logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतसँग युद्ध नै एकमात्र अन्तिम विकल्प हो कार्की


  • जन आकाश
  • बिहिबार, मंसिर १९ २०७६

डम्बरविक्रम कार्की
उपमहासचिव तथा प्रवक्ता
जनसमाजवादी पार्टी, नेपाल
० यतिबेला भारतले नेपालको भूमि आफ्नो राजनीतिक नक्शामा समेटेर सार्वजनिक गरेको छ । यस विषयमा तपाईको मत के छ ?
यसलाई हामीले नेपालको सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएका छौं । यो सीमा विवादको विषय नै होइन । यसलाई प्रोक्सी एग्रेसन भनिन्छ । यस्ताखाले दुष्ट हर्कत प्रतिकारयोग्य नै हुन्छ । यदि देशमा देशभक्त सरकार थियो भने भारतले गतिलो जवाफी कारवाही भोगिसक्ने थियो । यो निर्लज्ज नामर्दो र निम्छरो सरकारका कारण नेपाली जनताको नूर गिरेको छ भने बैरीको हौसला बढेको छ ।
निर्विवाद नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकमा धेरै अघिदेखि नै भारतले बखेडा झिक्दै आएको थियो । उक्त भूमिमा अवैध घुसपैठ तथा सैन्य उपस्थिति राख्दै आएको थियो । छिमेकी भएको नाताले नेपालले वार्तालाई नै प्राथमिकता दिँदै आएको थियो । सुस्ता र कालापानीको सम्बन्धमा दुबै देशका परराष्ट्रमन्त्री स्तरीय संयन्त्र मार्फत काम भइरहेको छ भन्ने पनि सुनिन्थ्यो । तर हठात भारतले नोभेम्बर २, २०१९ मा उक्त भूमि समेटेर आफ्नो राजनीतिक नक्शा सार्वजनिक ग¥यो । यस घटनाले देशभक्त नेपाली जनताको भारतप्रतिको आक्रोश अझ तिब्ररुपले बढाएको छ । यसको छिनोफानो युद्धले मात्र गर्न सक्छ भन्नेमा सबै देशभक्त नेपाली जनता एकमत हुनुहुन्छ । तर सरकारको काम कारवाही भने शंकास्पद देखिन्छ । समयमा नै नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्न यो सरकारले सकेन भने नेपाली जनताको आक्रोश सरकारप्रति तिब्र रुपले बढ्नेछ । देशको परिस्थिति नियन्त्रण बाहिर जान पनि सक्छ ।
हाम्रो भूमि तथ्य प्रमाणको अभावको कारणले होइन कि फौजी प्रत्याक्रमण नभएको कारणले भारतको अवैध कब्जामा रहेको छ ।
० विरोध त सबैले गरेको देखियो तर दीर्घकालीन रुपमा भारतीय विस्तारवादी नीति विरुद्ध तथ्यको आधारमा तर्कसंगत ढंगबाट अडान लिएर कसैले पनि काम गरेको त देखिएन नि ?
यही त दुर्भाग्य हो नि । नेपालको सत्तामा अहिलेसम्म जुन–जुन पार्टी तथा व्यक्तिहरु पुगे भारतीयले दिएको हड्डीमा पालिएका दलाललहरु नै पुगे । अहिले नै हेरौंन सत्तामा कुन–कुन पार्टी छन् ? प्रतिपक्षमा कुन पार्टी छ । कस्ता–कस्ता पार्टी र कस्ता–कस्ता व्यक्तिले संसदमा र सरकारमा पहुँच पु¥याएका छन् । यिनीहरुको भारतीय विस्तारवादी नीतिको विरुद्ध बोल्ने साहस कसरी आउला त ?
नेपालको एकलौटी हकभोगको महाकाली नदीलाई भारतीय नहरमा रुपान्तरण गराउनेहरु नै आज सत्तामा हालीमुहाली गरिरहेका छन् । राष्ट्रघाती एकीकृत महाकाली सन्धी गर्ने शेर बहादुर देउवा नै अहिले प्रमुख प्रतिपक्ष दलका प्रमुख नेता छन् । नेपाली काँग्रेसका सभापति छन् । उक्त सन्धी पारित गराउन प्रमुख भूमिका खेल्ने केपी ओली अहिले प्रधानमन्त्री छन् । झलनाथ खनाल र माधव कुमार नेपाल पनि प्रधानमन्त्री भैसकेका छन् र अहिले पनि सत्ताधारी पार्टीका प्रभावशाली नेता पनि छन ।
यता नेपलाी जनतालाई भुलभुलैयामा पारेर युद्धमा होमेर मराउने र उता भारतीय सत्तासँग तिमीहरुको हितविरुद्ध कुनै पनि गतिविधि गर्ने छैनौ भनेर करार गर्ने प्रचण्ड भन्ने पुष्पकमल दाहाल सत्ताधारी पार्टीका अध्यक्ष नै छन् । प्रधानमन्त्रीको कुर्सी हेरेर थुक निल्दै पनि छन् । बाबुराम भट्टराई उपेन्द्र यादवको पोल्टामा पुगेका छन् । उनी पनि सत्ता चिठ्ठाको पर्खाइमा रहेको देखिन्छ ।
एकीकृत महाकाली सन्धीको विरोध गर्ने तत्कालीन नेकपा एमालेको नेताहरुको अहिलेको सत्ताधारी पार्टीमा कस्तो हालत छ देखिएकै छ नि होइन र ? त्यही सन्धीको कारण तत्कालीन (एमाले) विभाजन भएको होइन र ? नेकपा (माले) राष्ट्रवादीहरुको के हालत भयो ? आरके मैनाली त अहिले निष्कृय हुनुहुन्छ क्यारे । सिपी मैनाली अझै पनि नेकपा मालेकै नेतृत्व गरिरहनुभएको छ । तर विडम्बना अहिले तिनै महाकाली बेचुवाहरु नै सत्ताका हर्ताकर्ता भएका छन् । केही सत्ता पक्षीय दलमा छन् कोही प्रतिपक्षमा छन् । अनि यिनीहरुले हाम्रो सार्वभौमसत्ता जोगाउलान् भनेर कसरी पत्याउने ?
हाम्रो पार्टी जनसमाजवादी पार्टी नेपाल पनि भारतीय विस्तारवादको विरुद्ध संघर्ष गरिरहेको छ । तर आशातित सफलता भने हासिल भइसकेको छैन । हाम्रो संघर्ष निरन्तर जारी छ र रहन्छ पनि । भारत– नेपाल युद्ध अव अवश्यमभावी भयो । युद्धको बिकल्पले काम गर्छ जस्तो हामीलाई चाहिँ लाग्दैन । तयारीतर्फ लाग्नु नै बुद्धिमानी हुन्छ । हाम्रो त कथित सुगौली सन्धी अघिको भूभागमा पनि दावी छ । त्यो जमिनमा चौलानी पोखिएको होइन नि त्यहाँ त हाम्रो बीर पुर्खाको रगत पसिना पोखिएको छ । हाम्रो भूमि हामी छोड्दैनौ । उक्त भूमि प्राप्त नहुन्जेल हाम्रो संघर्ष जारी रहन्छ । हामी उक्त भूमि फिर्ता लिन्छौं, लिन्छौं ।
० नेपाल पनि संयुक्त राष्ट्रसंघको सदस्य हो । नेपालको वर्तमान समस्या समाधान गर्न अन्तर्राष्ट्रिय अभ्यास के–के हुन सक्छन् ?
हो । नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र पनि हो । नेपाल सन् १९६९–१९७० र १९८८–१९८९ गरी दुई पटक संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को अस्थायी सदस्य भई कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरिसकेको देश पनि हो । नेपालले संयुक्त राष्ट्र संघको उपमहासचिव जस्तो गरिमामय जिम्मेवारी समेत सम्हालिसकेको छ । संयुक्त राष्ट्रसंघको वडापत्रलाई नेपालले सम्मानकासाथ मान्दै पनि आएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपालले सम्मानयोग्य र गर्विलो कार्य पनि गर्दै आएको छ ।
नेपालले आफ्नो समस्यालाई संयुक्त राष्ट्र संघको सम्बन्धित अंगमा राख्न अब ढिलो गर्नु पटक्कै हुन्न तर पनि भारत र नेपालबीचका समस्यालाई द्वीपक्षीय रुपमा समाधान गर्न भने भरमग्दुर प्रयास गर्नुपर्छ । किनकी संयुक्त राष्ट्र संघ पनि विवादको शान्तिपूर्ण समाधानमा नै बढी विश्वास राख्छ । नेपाल पनि विवादको शान्तिपूर्ण समाधान नै चाहन्छ । तर “जाइ कटक नगर्नु, झिकी कटक गर्नु” भन्ने मूल मन्त्रलाई हामी विर्सन पनि सक्दैनौ नि ।
० नेपाली भूमि कालापानीबाट भारतीय सेना हटेन र नेपालको भू–भाग हडपिराख्यो भने नेपालले के गर्नु पर्ला ?
भारतले नेपालको निर्विवाद भूमि कालापानीमा लामो समयदेखि आफ्नो अवैध उपस्थिति राख्दै आएको छ । अझ २ नोभेम्बर, २०१९ देखि त नेपालको निर्विवाद भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग आफ्नो राजनीतिक नक्शामा समेटेर सार्वजनिक गरेको छ । भारतको यो हर्कत अक्षम्य छ । भारत सरकारको यो कदम प्रोक्सी एग्रेसन हो । नेपालको सार्वभौमसत्ता माथिको आक्रमण नै हो । भारतको यस्तो हर्कतको नेपालले जमेर प्रतिकार गर्नुपर्छ ।
अहिले नेपालमा देशभक्त सरकार थियो भने नेपालले विवादको शान्तिपूर्ण समाधानको सबै विकल्पलाई प्रयोग गरिसकेर आवश्यकता परे युद्धको घोषणा गरिसकेको हुने थियो । तर सरकार कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्ने नाममा बेनामे प्रेस विज्ञप्ति जारी गरेर चुपचाप बसेको छ । उता भारतका सम्बन्धित अधिकारीहरुका अभिव्यक्तिहरु चाहिँ झन् पछि झन् आक्रामक र आपत्तिजनक बन्दै गएका छन् । अव युद्ध विना हाम्रो समस्याको समाधान हुने देखिन्न । भारतसँग युद्ध नै एकमात्र अन्तिम विकल्प हो ।
० एउटा गोली त अन्तैबाट किनेर ल्याउनपर्छ । युद्धद्वारा भारतलाई जित्न सक्छौं त ?
सक्छौं, किन नसक्नु ? नेपालको इतिहास बीरतापूर्ण इतिहास हो । हाम्रो देशको निर्माण नै विश्व साम्राज्यवादी शक्तिसँग संघर्ष गरेरै भएको हो । आधुनिक शस्त्रास्त्रले सुसज्जित ब्रिटिस सेनासँग वीरतापूर्वक लडेर आफ्नो अस्मिता जोगाएको होइन र ? रह्यो कुरा गोली त अन्तैबाट किनेर ल्याउनुपर्छ भन्ने, सम्भव भएसम्मका हातहतियार यहाँ निर्माण गर्ने हो आवश्यक परेका हातहतियार अन्तबाट किन्ने पनि हो । जे जसरी हुन्छ आफ्नो शैन्य क्षमतालाई अब्बल बनाउने हो । अझ परमाणु हतियार नै तयार गर्नुपर्छ । हाम्रो भूमिमा भारतको अवैध कब्जा हामीसँग प्रमाणको कमीको कारणले होइन कि मिलिटरी पावरको कमीको कारणले भएको हो । प्रमाण हेर्ने हो भने त सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको भूभाग मात्र होइन टिस्टादेखि सतलजसम्म २,०४,९१७ वर्ग किमी भूभाग नै हाम्रो हो किनकि सन् १८१६ को कथित सुगौली सन्धीलाई ३१ जुलाई १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धीको धारा (८), त्यसैगरी ३० अक्टोबर १९५० को नेपाल–बेलायत संयुक्त राज्य बीच भएको सन्धीको प्रस्तावना र धारा (८) ले पनि औपचारिक रुपमा नै खारेज गरिसकेको छ । त्यसैगरी सन् १९६० मा संयुक्त राष्ट्र संघले पारित गरेको रिजोलुसन अनुसार पनि कथित सुगौली सन्धीद्धारा ब्रिटिस इण्डियाको उपनिवेशमा रहेको हाम्रो भूमि फिर्ता भैसक्नु पथ्र्यो ।
हाम्रो झण्डै ६०,००० वर्ग किमी भूभाग अझै पनि भारतको अवैध कब्जामा छ । त्यो भूमि कब्जामा लिने अधिकार भारतलाई छँदैछैन । तर विडम्बना नेपालमा देशभक्त सरकार नभएको कारण भारतले “बाघको छालामा स्यालको रझाई” भनेझै हाम्रो भूमि हडपेर बसेको छ । बेलायतले कथित सुगौली सन्धीमार्फत उपनिवेशमा राखेको भूमि हामीलाई नै फिर्ता गर्नुपर्छ किनकी उपनिवेशमा रहेको भूमि फिर्ता गर्दा जसको हो उसलाई फिर्ता गर्नुपर्छ अरुलाई दिन पाइन्न त्यसकारण पनि उक्त भूमि प्राप्त गर्नु हाम्रो अधिकार हो । यो कुरा हर एक नेपालीले बुझ्न जरुरी छ ।
बेलायलते हाम्रो भूमि फिर्ता गरेको घोषणा गर्नासाथ भारतले ती भूमिमाथि अवैध कब्जा छोड्नै पर्दछ । सुस्ता, कालापानी, लिम्पियाधुरा लिपुलेक लगायतका भूभाग निर्विवाद हाम्रै सार्वभौमि भूभाग हुन् । यी भूभागमा दावी गर्नु वा अवैध कब्जा गर्नु भारत सरकारको मुर्खता हो । आफ्नो अन्त्यको विउ रोप्नु जस्तै हो । नेपालसँग निहुँ खोज्नु भारतका लागि महंगो पर्नेछ । नेपालको सार्वभौमसत्ता माथि हात हाल्नु भारतका लागि मृत्यु पत्रमा हस्ताक्षर गर्नु सरह पुष्टि हुनेछ । नेपालसँग निहुँ नखोज्न यसैमार्फत भारतसरकारलाई सचेत पनि गराउन चाहन्छु म ।
० अहिलेको परिस्थितिमा नेपालको सुनौलो इतिहास र लडाकु स्वभावलाई कायम राख्न सम्भव छ ?
सम्भव छ । तर यस्ताखाले नामर्द, निम्छरो र नालायक सरकारबाट चाहिँ सम्भव छैन । हरेक नेपालीमा देशभक्ति जाग्न सक्यो, हरेक नेपालीले यी गद्धारहरुलाई बेलैमा चिन्न सके र सबै मिलेर देशभक्तहरुको सत्ता स्थापना गर्न सकियो भने नेपालको क्षेक्रफल १,४७,१८१ वर्ग किमी होइन कि २,०४,९१७ वर्ग किमी कायम हुन्छ र आफ्नो भूपरिवेष्ठित स्थितिको पनि अन्त्य हुन्छ । त्यसपछि हामीले कहिल्यै पनि भारतीय नाकाबन्दी झेल्नुपर्ने छैन । विश्वको शक्ति राष्ट्रमध्ये एक बन्ने छौं । त्यसकारण म सम्पूर्ण देशभक्त नेपाली जनतालाई जनसमाजवादी पार्टीमा आबद्ध भई नेपाललाई विश्वको शक्ति सम्पन्न राष्ट्र मध्ये एक बनाउनको लागि देशभक्तिपूर्ण योगदान गर्न पाउने पुनित अवसरलाई नचुकाउन हृदयदेखि नै अनुरोध पनि गर्दछु । देशभक्तिपूर्ण अभिवादन सहित ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend