जन आकाश
टेकबहादुर गुरुङ
पूर्व अध्यक्ष
सतनचुली सामुदायिक वन तथा पूर्व प्रहरी निरीक्षक
टेकबहादुर गुरुङ रामनगर–१ को समाजसेवी हुनुहुन्छ । उहाँ रिटायर्ड प्रहरी इन्स्पेक्टर हुनुहुन्छ । सतनचुली सामुदायिक वनका पूर्व अध्यक्ष समेत रहनुभएका गुरुङसँग जन आकाश साप्ताहिकका तर्फबाट पत्रकारद्वय मोहन पोखरेल र सुरेश कुमार अधिकारीले लिएको अन्तरवार्ताको सारसंक्षेपः–
० तपाई सतनचुली सामुदायिक वनको अध्यक्ष हुँदा उपभोक्ताहरुका लागि केके काम गर्नु भयो ? तपाईले गरेका केही महत्वपूर्ण काम छोटकरीमा बताइदिनुस न ?
मैले सर्वप्रथम सतनचुली सामुदायिक बनको विधान बनाउन पहल गरे । तत्कालीन जिल्ला वन अधिकृत माधव आचार्य र बज्रकिशोर यादवसँगको घनिष्ठ मित्रताको माध्यमबाट उहाँहरुकै पहलमा र उहाँहरुकै सुझाव अनुसार ०५८ भदौ १३ गते सतनचुली सामुदायिक बनको विधान तयार भयो । उहाँहरुकै अलग अलग कार्यालय समय र अलग अलग कार्यकालमा सतनचुली बनको विधान बारे मैले उहाँहरुसँग समन्वय गरेको थिएँ । किनकी ०५८ भन्दा पहिले जलदेवी सामुदायिक बन र सतनचुलीको विधान एउटै थियो ।
० सतनचुलीबाट जलदेवी छुटिएपछिको अवस्थामा बनेको नयाँ विधानको कार्यान्वयन अवस्था कस्तो रहेको थियो, कुनै झण्झट बेहोर्न प¥यो कि परेन ?
झण्झट त कति भयो कति । तर मैले कत्ति पनि हार खाने काम गरिन । बरु डि.एफ.ओ. माधव आचार्यसँग नियमितजसो परामर्शमा रहेँ । आचार्य साहेवले भन्नुभएको थियो कि तपाइहरुको सतनचुली वनमा प्रशस्त आम्दानीका श्रोतहरु छन् । यसको राम्रोसँग सदुपयोग गर्न सक्नुभयो भने यहीको आम्दानीले तपाईका उपभोक्ताहरु धनी हुनेछन् । विद्यालय, हेल्थ पोष्ट, सडक, जिविकोपार्जनका लागि बाख्रा पालन तथा अन्य सबै प्रकारका घरेलु उद्योगहरु यही सञ्चालन हुनेछन् । खानेपानीको धारा घरघरमा पुग्नेछ । पानी र रोजीरोटीबाट कोही पनि वन्चित हुनेछैन ।
० माधव आचार्यले सल्लाह दिएझै तपाई त्यसमा कत्तिको लागि पर्नुभयो ?
मेरो कार्यकालमा सतनचुली वन भित्र रहेका पानीका श्रोतहरु, जडिबुटी, ढले पडेका सालका रुख तथा चोरी निकासीका काठको सदुपयोग गर्ने प्रयास भएको थियो । साथै उपभोक्ताका लागि सस्तो दर रेटमा काठ उपलब्ध गराउने काम भइरहेकै थियो । घरेलु उद्योग खोल्न तथा अन्य आवश्यक व्यवस्था मिलाउने तयारी भइरहेकै थियो । सतनचुली डाँडामा भ्यूटावर बनाउने र टोंड्के ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने र रामनगरलाई स्थानीय लाइन होटल नभएर सौराहको जस्तै गरी पर्यटन होटल रिसोर्टहरुको व्यवस्था गर्ने लक्ष्यका साथ मेरो कार्यक्रम अगाडि बढेको थियो ।
० तपाईलाई यी सबै काम गर्न केले बाधा पु¥यायो ?
अँ, सुन्नोस, त्यसपछि मेरो कार्यकाल समाप्त हुँदै गर्दा अर्को कार्य समिति बन्यो । भगवान घलेको अध्यक्षतामा । विचारा बुढाले सोझो तरिकाले कसैको एक पैसा नखाइकन राम्रो काम गर्दै गएका थिए । कहाँ कार्यकाल पुरा गर्न पाउँथे र । त्यसपछि अर्को अध्यक्ष,फेरी अर्को अध्यक्ष गरीगरी यहाँसम्म आइपुगेको छ । मेरो योजना जति सबै सपनामा परिणत भए ।
० त्यसो भए माधव आचार्यले झने झैं सतनचुली बनको आन्तरिक डोनर बन्ने सपना सकिएको हो ?
लगभग त्यस्तै भएको छ । हामीले रामनगर, ठिमुरा र देवघाटका उपभोक्ताहरुलाई परिचालन गर्न जानेनौ । अर्थात् त्यसपछि बनेका कार्य समितिहरुले सतनचुली बन भित्र रहेका बहुमूल्य श्रोत साधनलाई चिन्न सकेनन् । जानेर हो वा नजानेर हो, सतनचुली बनको करोडौं प्राकृतिक सम्पत्ति नष्ट भएको छ । म पछिका कुनै पनि कार्य समितिले आन्तरिक र बाह्य पर्यटनको विकास गर्ने गरी कुनै पनि कार्यक्रम ल्याउन सकेनन् । हुँदाहुँदा यहाँका उपभोक्ताले पानी खान पाएका छैनन् । इनारको खाएर बस्नुपर्ने बाध्यता छ ।
० यो सबै समस्या समाधान नहुनुका पछाडि के कारण छन् ?
सर्वप्रथम त जनताको निर्वाचित मतबाट बनेको कार्य समिलिते काम गर्नु प¥यो । यहाँ साधारणसभा भएको छैन । बर्षौदेखि एउटै अध्यक्षले दलिय भागवण्डाका आधारमा अध्यक्ष चलाइरहेका छन् । जनताको सामुदायिक बनमा दलिय भागवण्डाका आधारमा राजनीति गर्नु उपयुक्त हुँदैन भन्ने मेरो मान्यता हो । बिग्रन त धेरै बिग्रिसक्यो । वचेको श्रोत साधनलाई अझै पनि राम्रोसँग परिचालन गर्न सकियो भने हाम्रा अगाडि अझै पनि नयाँ पालुवा पलाउने संभावना छन् । किनकी कालो बादलभित्र चाँदीको घेरा अवश्य हुन्छ ।
० सतनचुलीको तुलनामा जलदेवीले राम्रैसँग विकास गरेको हो ?
देख्नु भाको छैन त्यत्रो पिकनिक सपोर्ट, मनमोहक दृष्य । अझै भन्ने हो भने एक इन्च सालको काठ पनि त्यो जलदेवीको समितिमा दुरुपयोग भएको छैन भन्ने कुरा बाहिर आएको छ । त्यहाँको बनको दृष्य हेर्नोस् त कति मनमोहक छ । सुरिला सालका रुखले भरिएको मनमोहक घना जंगल छ । त्यहाँका उपभोक्ता धनी भइसकेका छन् । कुनै समस्या छैन ।
० अँ एउटा पानीकै प्रसंग उठाउँ, रामनगरका उपभोक्ताले राम्रोसँग पानी खान पाएका छैनन् भन्ने जान्दा जान्दै त्यही कै बनको श्रोतबाट निक्लेको पानी बागेश्वरी पठाइन्छ भन्ने हल्ला छ नि ?
यो हल्ला होइन साँचो हो, मैले यति भन्न चाहन्छु कि सर्वप्रथम ढ्योङ्ग खेतबाट पाइप विछ्याएर रामनगरमा खानेपानीको आपूर्ति हुनुपर्यो । रामनगरलाई पुगिसकेपछिको बाँकी केही पानीको भाग वागेश्वरी तिर पठाइदिँदा रामनगरबासीलाई कुनै आपत्ति हुनेछैन । भरतपुर महानगरभित्र खानेपानी व्यवस्थापन बोर्डले सफा खानेपानीको वितरण गरिरहेको छ । रामनगरलाई उपेक्षा किन ? बोर्डले रामनगरका उपभोक्तालाई प्रशस्त पानीको व्यवस्था मिलाउँछ भन्ने ट्योङ्ग खोलाको पानी तर्फ आँखा जान्छ ? त्यसैले हामीले ढ्योङ्ग खोलाको पानी दिन्नौ भनेका हौं । बागेश्वरी आश्रम योगी नरहरी नाथको तपोभूमी हो, त्यहाँ साधुसन्तहरु बस्दछन् । त्यहाँ योग शिविर पनि छ । मेडिकल सम्बन्धी व्यवस्था पनि छ । पानीको आवश्यकता हुनु स्वभाविकै हो । भनिन्छ, पानी सबैको साझा हो । प्राकृतिक मान्यता र मानवताको नाताले पनि बागेश्वरी आश्रमले पानी खान पाउनु पर्छ । पानी खान पाउँदै पाउँदैनस् भन्ने हाम्रो भनाई होइन । कमसेकम दुबै ठाउँलाई फाइदा पुग्ने गरी पानी वितवरण गरियोस् । प्रदेश सरकारले बागेश्वरी आश्रमलाई मात्र हेरेर ६० लाखको विनियोजन गरेको हो भने रामनगरका उपभोक्तालाई त्यति नै बराबरको रकम बिनियोजन गरेर महानगरपालिकाले पानी खुवाउन किन नसकेको ? ३ नम्बर प्रदेश सरकारको आँखा रामनगरमा परेको छ कि छैन ? हाम्रो प्रश्न यही हो ।
० राष्ट्रसेवक प्रहरी अधिकृत हुनुहुन्छ । पेन्सन पनि खानु भएको छ । वर्तमान अवस्थामा कसरी परिचालन हुँदा ठिक होला ?
हामी प्रहरीहरु राज्यको निर्देशनमा र सरकारको इच्छा मुताविक चल्ने एउटा वर्ग हो । अहिले दुई तिहाई बराबरको कम्युनिष्ट सरकार छ । उसैको निर्देशनमा प्रहरी चल्नुपर्छ, दायाँबायाँ हुनुहुँदैन । चाहे प्रचण्डजी ओलीजी, देउवाजी जो सुकै होउन प्रधानमन्त्रीको हैसियतमा उहाँहरुको निर्देशनको पालना गर्नुपर्छ ।
० पूर्वराजा ज्ञानेन्द्र प्रति यहाँको धारणा के छ ?
पूर्वराजा ज्ञानेन्द्र प्रति मेरो हृदयदेखि नै सहानुभूनी छ । २५० बर्षको इतिहास बोकेको राजसंस्था भएकोले पूर्वराजा प्रति सहानुभूति हुनु स्वभाविकै हो । समय परिस्थितिको कुरा हो, १२ वर्षपछि खोलो पनि फर्कन्छ भन्छन् । हेर्दै जाउँ समयले त्यस्तै संकेत दिएजस्तो पनि लाग्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend