जन आकाश
–ः मोहन पोखरेल
प्रस्तुत लेख प्रजातन्त्रका विषयमा केन्द्रित छ । फागुन ७ को संघारैमा प्रजातन्त्र भन्ने शब्दको याद आउनु स्वाभाविकै पनि हो । १०४ वर्षसम्मको जहाँनिया राणा शासन समाप्त गरी देशमा प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ लाई नेपाली जनताले सदा स्मरण गरिरहनुलाई प्नि स्वभाविक नै मान्नु पर्दछ । तर राणा शासन पञ्चायती व्यवस्था हुँदै संसदिय व्यवस्था र यस व्यवस्थासंग सम्वन्धित प्रजातन्त्रका अवशेषहरुलाई पनि समाप्त गर्दै संघिय लोकतान्त्रिक गणतन्त्र नामक प्रजातन्त्रका युगमा मुलुक प्रवेश गरेको छ । यस व्यवस्थालाई हामीले प्रजातन्त्रको अति विकसित रुप भन्दै लोकतान्त्रिक गणतन्त्रको नामाकरण गरेका छौं । फागुन ७ लाई प्रजातन्त्र प्राप्तिको शुमदिन भनिरहदा संघीय गणतन्त्रको युगलाई के भन्ने ? प्रजातन्त्रको विकसित रुप भन्ने कि प्रजातन्त्र नै लोप भएको मन्ने ? यस मामलामा धेरै राजनीतिक विद्वान विश्लेषकहरुले मुलुक अलोकतान्त्रिक तरिकाबाट अघि बढिरहेकोले प्रजातन्त्रका अवशेष समेत समाप्तिको दिशातर्फ लम्किएको निष्कर्ष निकालेका छन् । काठमाण्डौंबाट प्रकाशित हुने केही राष्ट्रिय दैनिक पत्रिकाका स्तम्भमा लेखकहरुले लोकतन्त्र र गणतन्त्रको भविष्य उज्जवल नरहेको तर्क दिइरहदा कतै गणतन्त्रका वचेखुचेका अवशेष पनि नरहने हुनकि भन्ने चिन्ता बढ्नु प्रजातन्त्र प्रेमी नेपालीहरुका लागि मात्र नभइ मलुकको राष्ट्रियता माथि नै खतरा बढेको महसुस गर्न सकिन्छ ।
हामीले ०७ साल फागुन ७ गते यताका धेरै किसिमका प्रजातन्त्र देखेका र भोगेका छौं । नेपाली काँग्रेसले ०१७ सालमा दुईतिहाइको सरकार बनाउँदाको अवस्थालाई पनि उत्कृष्ठ प्रजातन्त्र भनिन्थ्यो । ०१७ सालमा राजा महेन्द्रले वि.पि. कोइरालाको सरकारलाई अपदस्त गर्दै त्यो वेलाको संसदिय प्रजातन्त्रलाई मार्दा र पञ्चायती व्यवस्था लागु गर्दाको अवस्थालाई पनि प्रजातन्त्रको उत्कृष्ठ नमुनाको रुपमा व्यख्या गरियो । राजा महेन्द्रले देशको हावापानी माटो सुहाउँदो भन्दै पञ्चायती व्यवस्थाको सुत्रपात गर्दा चारैतिर जय–जयकार गरियो । पञ्चायती प्रजातन्त्रको रुपमा चित्रण गरियो । यस्तो व्यवस्था ३० वर्ष सम्म विभिन्न आरोह अवरोह पार गर्दै चलिरह्यो । यो व्यवस्थाले पनि प्रजातन्त्र र राष्ट्रको उन्नतिका लागि केही गर्न नसकेको भन्दै त्यो वेलाका प्रतिवन्धित राजनीतिक दलहरुको अगुवाइमा उत्कृष्ठ प्रजातन्त्र प्राप्त गर्ने उद्देश्यका साथ ०४६ सालमा पञ्चायतका विरुद्ध राष्ट्रिय जनआन्दोलको घोषणा गरियो । आन्दोलनले सार्थक रुप लिदै गए पछि पञ्चायती व्यवस्था विघटन गरिएको घोषणा भयो । तत्कालिन राजा वीरेन्द्रले जनताको आवाज र चाहनालाई शिरोपर गर्दै बहुदलिय प्रजातन्त्रको घोषणा गरिएको उद्घोष गरे ।
यसरी प्रजातन्त्रका अनेक कोणहरु देशमा देखा पर्दै गए । संवैधानिक राजतन्त्र सहितको बहुदलिय प्रजातन्त्र पनि ०६२।०६३ को जनआन्दोलनले अस्थायी बनायो । साथै २४० वर्षको इतिहास बोकेको भनिएको राजतन्त्र समेत समाप्त भयो । यसरी गणतन्त्रकालिन युगमा प्रवेश गरिरहँदा के महसुस हुन गइरहेको छ भने यस अघिका प्रजातन्त्रका तुलनामा संघिय गणतन्त्र अथवा उत्कृष्ठ लोकतन्त्र ले मुलुकमा खासै ठूलो परिवर्तन गराएको महसुस भएको छैन । जनता दिन प्रतिदिन गरिवीको मारमा परेका छन् । हजारौ राष्ट्रघाती डनहरु मुलुक भित्र जन्मिएका छन् । राजनीतिक दलका जिम्मेवार नेताहरु तीनैको आदेश र सल्लाहमा मुलुक हाँक्न विवस भएका छन् । कहिं कतै शान्ति सुरक्षा छैन । चारै तिर न्याय मरिरहेको छ । गल्ती गर्ने कार्यकर्तालाई आफ्नो पार्टीको मान्छे भन्दै बचाउने गर्दा पिडितले न्याय पाएको छैन । यसरी दुरदिनहरु भोग्दै गर्दा ०७ साल फागुन ७ को दिनलाई संझिने गरिन्छ र साँचो अर्थमा फागुन ७ मा प्राप्त प्रजातन्त्र नै उत्कृष्ठ प्रजातन्त्र रहेको मान्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend