logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सहकारी क्षेत्रको विकाशबाट आर्थिक समृद्धि

आर्थिक बिशेषण मुलक लेख


  • जन आकाश
  • मंगलबार, फाल्गुन १३ २०७६

नेपाल एउटा विकासोन्मुख राष्ट्र हो । ऐतिहासिक रुपमा हेर्ने हो भने नेपालमा विभिन्न राजनीतिक आर्थिक, सामाजिक तथा सांकृतिक अवरोध पार गर्दै अगाडी बढेको अवस्था छ । १०४ वर्ष सम्मको निरंकुश जहांनिया राणा शासन चिरेर जब वि.सं. २००७ सालको प्रजातन्त्र स्थापन भयो । त्यसपछि नेपालमा राजनीति क्षेत्र संग–सँगै सामाजिक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा समेत विकासको लहर छाउन थाल्यो । यसै प्रजातन्त्रको खुल्लापनमा नेपालमा पनि सहकारीको विजारोपण भएको हो । विश्वमा औद्योगिक क्रान्ति पछि धेरै सहकारीको सुरुवात भएको हो । नेपालमा चाँहि विधिवत् रुपमा वि.सं.२०१३ सा चैत्र २० गतेबाट सहकारीको सुरुवात भएको हो ।



बेलायतको मेनचेस्टर भन्ने ठाउँबाट सन् १८४४ अक्टोवर २४ का दिन-Rochadale Equitable Pioneer Society_ सहकारी संस्था दर्ता गरेर सञ्चालनमा ल्याएपछि विस्तारै सहकारीको महत्व र प्रभाव फैलिएर गयो । नेपालमा चाहि सहकारी संस्थाको संस्थागत गठन भने अमेरीकाको सहयोगमा बाढी पिडितहरुलाई बसोवास समेत गराउन संचालित राप्ती दुन विकास आयोजना शुरु भएपछि चितवन जिल्लाको बखानपुरबाट बखानपुर सहकारी संस्थाको सुरुवात सँगै शुरुवात भएको थियो । जसरी राजनीति परिवर्तन संग–सँगै समाजमा रहेका हरेक क्षेत्रको पनि रुपान्तरण हुन्छ । नेपालको राजनीतिमा प्रजातन्त्र हरण गरेर ३० वर्षसम्म निर्दलीय पञ्चायती शासन व्यवस्था देशमा लादियो । त्यो समयमा सहकारी क्षेत्र समेत सहि रुपमा फष्टाउन सकेन । वि.सं. २०४९ सालको देशमा पुनः प्रजातन्त्रको स्थापना पछि गाउँ, शहर सबैतिर सहकारीको स्थापना गर्ने लहर नै चल्यो । अझ दोस्रो जनआन्दोलनपछि त सहकारीको महत्व र प्रभाव बढेर गएको छ । सरकार र नीजि क्षेत्रलाई जोडेर सामुहिक रुपमा काम गर्न सहकारीले जुन रुपमा सिकाउछ । त्यसैको जगमा टेकेर सहकारी आज फैलिदो रुपमा छ । सहकारीलाई संविधानमा समेत तीन खम्बे आर्थिक नीतिमा एक खम्वा हो भनेर उल्लेख २०६३ को आन्तरिक संविधानमा पनि छ ।
यति हुँदाहुँदै पनि सहकारी क्षेत्रको विकासबाट देशमा आर्थिक समृद्धि गर्न कस्तो मोडेल अपनाउने ? सहकारी क्षेत्रमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सरकारको भुमिका कस्तो हुने ? सहकारीको माध्यमबाट कसरी आर्थिक समृद्धि गर्ने ? यो विषयमा घनिभुत रुपमा छलफल, अध्ययन गरेर अगाडी बढ्दा सहकारी क्षेत्रले देशको विकासमा र आर्थिक समृद्धि गर्न समेत टेवा पु¥याउँछ । विशेष गरेर यस आलेखमा सहकारीको सैद्धान्तिक पक्ष र नेपालको सन्दर्भमा सहकारीको विकासले आर्थिक समृद्धिको बहस कसरी अगाडी बढीरहेको छ र यसले हामीहरुलाई कहाँ पु¥याउँछ भन्ने सवालमा आफ्ना तर्कहरु राख्नेछु । म मेरा तर्कहरु सामाजिक, सांस्कृतिक र आर्थिक बनोटको आधारमा गर्ने छु । भावनात्मक रुपमा भन्दा पनि तथ्य र आधारको आधारमा गर्नेछु ।

सहकारी क्षेत्र आफैमा एउटा वृहत क्षेत्र हो । त्यति मात्र होइन कि सहकारीको परिभाषा, महत्व समेत निकै व्यापक रुपमा फैलिदो रहेको छ । सहकारी भन्ने वित्तिकै समुहगत रुपमा काम गर्ने भन्ने सामान्य अर्थ बुझ्न सकिन्छ । सह भनेको मिलेको र कारी भनेको कार्य गर्नु हो । तसर्थ साधारण अर्थमा मिलेर काम गर्नुलाई नै सहकारी भन्न सकिन्छ । सहकारी भन्नाले शक्ति र समुदायको पारस्पारिक हित र विकासलाई जनाउँछ । सहकारिताको माध्यमबाट नै समाजका कमजोर निःसहाय एवम् निम्न आय वर्गीय व्यक्ति वा समुहले आर्थिक समस्यालाई समाधान गरी आफ्ना आवश्यकता इच्छा र आकांक्षा पुरा गर्न सक्छन् । समाजका निम्न आय भएका व्यक्तिहरुले आफै एक्लैले कुनै पनि काम गरेर आफ्ना आवश्यकता पुरा गर्न नसक्ने हुनाले उनीहरु समुहमा रहि काम गर्न सहकारी संगठनसँग आवद्ध हुन्छन् । सहकारी संगठनको सम्बन्धमा भन्नु पर्दा सहकारी एउटा स्वतन्त्र स्वायत्त संगठन हो – जसमा समान विचार, इच्छा, आकांक्षा र आवश्यकता भएका व्यक्तिहरु आवद्ध भएका हुन्छन् । साथै यस्तो संगठन एउटा निश्चित सिद्धान्त, मूल्य र मान्यता हुन्छ, जुन पारस्परिक सहयोग एवम् सद्भाव, न्याय र समानतामा आधारित हुन्छ (सापकोटा, २०७६) ।

विश्वमा जुन आवश्यकताको आधारमा सहकारी स्थापना भयो परिवर्तित समयसंगै सहकारीको आवश्यकता, महत्व झनै फैलिदै गयो । सहकारीको माध्यमबाट नै विकास गर्न आममानिसको जीवनस्तर उकास्न तथा शोषण दमन र अन्यायमा परेका मानिसहरु तथा समाजको विकास गर्न समेत सहकारी एउटा कोशेढुङ्गा भएर आयो भन्दा अतियुक्ति नहोला । एक आपसमा मिलेर बस्नु, मिलेर सोच्नु र मिलेर काम गर्नुलाई सहकारिता भनिन्छ । सामान्य अर्थमा सहकारिताले संगै बस्ने, विचार गर्ने र काम गर्ने पद्धतिलाई बुझाउँछ भने प्राविधिक रुपमा यसलाई व्यवसायिक कौशलको रुपमा लिइएको हुन्छ । सहकारी समाजशास्त्रीको नजरमा सामाजिक उत्पीडनबाट मुक्ति प्राप्त गर्नु हो भने अर्थशास्त्रीको नजरमा विचौलियाको शोषणबाट मुक्ति प्राप्त गर्ने व्यवसायिक संगठन हो ।

सहकारी सह र कार्य शब्द जोडेर बनेको हो । सह शब्दको अर्थ संगै र कार्य शब्दको अर्थ काम हो । यसरी संगै मिलेर कार्य गर्नु सहकारी हो । सहकारी नेपालमा अनौपचारिक रुपमा विगत देखि नै अभ्यासमा रहेको थियो । नेपालका गाउँ तथा शब्दहरुमा अनादिकाल देखि नै गुठि पर्म, ढिकुरी तथा संकाखल जस्ता अनौपचारिक सहकारी संगठन कार्यरत रहेको पाइन्छ । विगतमा यिनीहरुको काम समानरुपमा सबैको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकास र समृद्धि गर्नु नै हो । आधुनिक रुपमा जसरी सहकारीको परिभाषा र महत्व फरक हुँदै गयो । त्यसपछि यसको महत्व विश्वभरी नै आकर्षण र प्रभाव फैलिएको हो । (ठकुरी, २०६४)

विकास के हो ? यसको उद्देश्य के हुनुपर्छ भन्ने सन्दर्भमा विश्वविख्यात अर्थशास्त्री अमत्र्यसेनले नितान्त फरक अवधारणा अघि सारेर विकास सम्बन्धित वहसलाई नै फरक स्थानमा पु¥याइदिए । उनका अनुसार (१९९९), विकास गर्नु भनेको मानिसको स्वतन्त्रतालाई फराकिलो बनाउनु हो । त्यसैले विकाको उद्देश्य मानिसहरुको स्वतन्त्रतालाई सुनिश्चित गर्नु र फराकिलो बनाउनु हो । उनी भन्छन् कि मानिसहरु आफ्नो इच्छा अनुसारको काम गर्न वा आफ्ना चाहना मुताविक कार्य गर्न सक्नुप¥यो । यो कुरा पैसा वा आर्थिक वृद्धिसँग मात्रै सम्बन्धित छैन । यो देशको राजनीतिक, अवस्था, सामाजिक सांस्कृति अवस्थासँग पनि अभिन्न रुपमा गाँसिएको हुन्छ । निश्चित पनि आर्थिक वृद्धिले मानिसको स्वतन्त्रतालाई फराकिलो बनाउन मद्दत् गर्दछ । यो एउटा तत्व त हो, तर आर्थिक वृद्धिले मात्रै पनि स्वतन्त्रता सुनिश्चित हुन सक्दैन । सहकारीले विकासको अवधारणामा समाजमा जसरी सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रको विकास गर्न प्रजातान्त्रिक पद्धतिबाट गर्ने गर्दछ त्यसैले पनि अहिलेको उदार अर्थ व्यवस्थामा यसको निकै उपयोगी छ ।

सहकारीको माध्यमबाट देशमा विकास गरेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । सहकारीको समय अनुसार स्तरीकरण गर्दै मानिसका उद्देश्य र आवश्यकता अनुसार परिवर्तन गर्दै लैजाने हो भने देशको विकास गर्न वरदान साविक हुन्छ । सहकारीहरुले जसरी निक्षेप संकलन गर्ने र ऋण प्रवाह गर्ने मात्र काम अहिले अलि बढी भइरहेको छ । सहकारीलाई राज्यले समेत अझ सशक्त बनाएर देशभरि बाँझो रहेको जमिनलाई माटो, हावापानी सुहाउँदो सामुहिक खेती गर्ने वातावरण बनाउनु पर्दछ । समुह समुहबाट बनाएर सामुहिक उत्पादन गर्ने र राज्यले वजारीकरणको अवस्था गर्ने हो भने देशमा रहेका वेरोजगार तथा विदेशीएका युवाहरुलाई स्वदेशमा नै विकास निर्माणको मुलधारमा ल्याउन सकिन्छ । त्यसबाट देशको GDP, GNP / HDI समेत बलियो बनाउन सहकारीले योगदान गर्न सक्दछ ।

सहकारीले कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशतको योगदान पु¥याएको अनुमान गरिएको छ । वित्तिय क्षेत्रमा १५ प्रतिशत योगदान गरेको अनुमान छ । सहकारी संघ संस्थाको शेयर पूँजी मात्र २१ अर्व पुगेको छ भने कुल निक्षेप १२५ अर्व जति पुगेको छ । ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५ लाख भन्दा बढी मानिसहरु सहकारीको ‘भोलेन्टियर’ का रुपमा कार्यरत रहेका छन् । देशमा ५० प्रतिशत मानिसको पहुँच सहकारीमा पुग्न सकिने देखिएको छ । उप्रेती २०७४ ।

राज्यले समयानुकुल नीति बनाएर सहकारीलाई अझ व्यवस्थित बनाउनु पर्दछ । बैंक, लघुवित्तले जस्तो धितो नलिकन आफ्ना सदस्यहरुलाई ऋण दिने गर्दछ । समाजमा त्यो सानो सानो ऋणबाट व्यापार, व्यवसाय, कृषि तथा पशुपालन गरेर मानिसहरु स्वरोजगार बनेका छन् । सहकारीले समाजमा छरिएर रहेको पुँजीलाई संकलन गरेर ऋण अन्य सदस्यहरुलाई लगानी गर्ने हो । सरकारको विकास गर्ने लक्ष्यमा निजी क्षेत्रलाई र सरकारलाई जोड्ने सहकारीले पुलको काम गर्दछ । त्यसैले सरकारले सहकारीहरुलाई उचित नियमन गर्ने समन्वय गर्ने र समाजमा आधुनिकिकरण गर्नको लागि आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न सहकारीको माध्यमबाट कृषि, व्यापार, उद्योग, पशुपालनमा उत्पादनमुखि बनाउन सहजीकरण गर्नु पर्दछ ।
निश्कर्ष
विकास र समृद्धिको कुनै निश्चित परिभाषा र नमुना छैन । तर, देशको आन्तरिक उत्पादनमा वृद्धि र मानविय जनशक्तिको क्षमताको विकास नगरीकन देशको समृद्धि सम्भव छैन । सामाजिक र शैक्षिक क्षेत्रको लगानीले मानव पँुजिको विकास गर्छ । सहकारीको स्थापना नै समाजमा विद्यमान शोषण, दमन, उत्पीडन र विभिन्न विभेदको अन्त्य गरी आफ्ना सदस्यहरुको सामाजिक, साँकृतिक तथा आर्थिक विकास प्रजातान्त्रिक तरिकाले गर्ने हो ।

अहिले नेपालको जुन प्रकारको विकासको तय गरेको देखिन्छ यो उत्पादनमुखी नीर्यातमुखि भन्दा पनि आयात र उपयोगमुखि नीति अपनाएको देखिन्छ । सरकारले जुन रुपमा मोनोरेल, फराकिलो सडक, भ्यु टावर र पानी जहाजका सपना बाँडेको छ । यो आफैमा नराम्रो त होइन तर यसले राष्ट्रिय उत्पादन कहाँनेर योगदान वरु आयातमुखि बाटोलाई मलजल मात्र गर्दछ । यी मोनोरेल र स्मार्ट सिटीले त देशलाई झनै परनिर्भरतामा धकेल्छ । संविधानको जुन मर्म छ । समाजवाद उन्मुख नीतिको कुरा गरे पनि सरकार पश्चिमाहरुको फोटोकपि पुँजीवाद, नवउदारवादी नीतिलाई काखी च्यापेर अघि बढेको छ । नेपाली उखान झंै ‘काशी जाने कुटीको’ यो हुन्छ । यसले समाज पछि परेका वर्ग, तह र तप्काहरुलाई मुलधारमा आउन बाट रोकिरहन्छ । निश्चित धनी वर्गलाई अझ धनी र वहुसंख्यक गरिबलाई अझ गरिब बनाउँछ त्यसैले पनि नेपालमा सहकारीको विकासबाट आर्थिक समृद्धि हासिल गर्नका लागि पनि समाजमा तल्लो तह वा पिँधमा रहेका समुदायका लागी र मानव पुँजि निर्माण गर्नका लागि सामाजिक, शैक्षिक तथा सांकृतिक क्षेत्रमा लगानी बढाउनु पर्दछ । सहकारीको जुन मूल्य र मान्यताको समावेशी, समतामुलक प्रजातान्त्रिक पद्धतिबाट कसैलाई सहिष्करण नगरिकन आगडी बढाउनु पर्दछ । राष्ट्रिय पुँजि निर्माण गर्नका लािग उत्पादनमा जोड दिनपर्दछ ।

सन्दर्भ सामाग्रीहरु-References)
– ढकाल प्रसाद, सुदर्शन (२०७०) सहकारी अर्थव्यवस्था
– ठकुरी, चन्द्रवहादुर (२०६४) नेपालमा सहकारी व्यवसाय अवस्थापन
– उप्रेती, रामचन्द्र (२०७४) सहकारी मार्गदर्शन ।
– सापकोटा, शिवजी (२०७६) सहकारीको नतिजामुखि अवस्थापन
– – Sen, Amatya (1999) Development 95 Freedom, NewYork Alfred A. Knopf pp-
– बौद्धिक दर्पण (२०७५) अंक ५, दास, डा. अन्नपूर्णानन्द पे्रश ३५–३८
– राजहंस पुर्णाङ्क १५ ०७५।०७६ वानेश्वर बहुमुखी क्याम्पस मुखपत्र राई, प्रकाश पेज ३१–४०
– नेपालको अन्तरिम संविधान २०६३

प्रेमा संगम
कालिन्चोक–६, दोलखा
हाल – कोटेश्वर, काठमाण्डौ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend