जन आकाश
–ः गफाष्टक
लखतराने एकाविहानै आईपुग्यो । यो लखतराने कमको छैन । मै हुँ भन्छ । राजनीति कुरो पनि बान्की पु¥याएर गर्छ ।
‘कान्छा विहानै आई पुगिस् ! कता हिडिस् ?’ घरमा आको पाहुनालाई सोध्ने चलन अनुसार सोधें ।
खै कता हिडें भनौ हौ काका ! पहिला देखि नै डेगिलो भर बस्न सकिएन । गत स्थानीय चुनावमा रुखमा भोट हाल भने हालियो, संसदिय चुनावमा सूर्यमा ठोकी दे भने त्यही सूर्यमा ठोकियो । आफ्नो यसो हँसिया हथौडाको झल्को दिने चुनाव चिन्ह थियो त्यो पनि चिलिम फर्काई दिए । अहिले त ‘घर न घाट, झिल्के हिड्यो हाट’ भने जस्तो भाको छ ।
‘हौ भतिज ! पहिला केही थिएन, अहिले राम्रैसंग सम्पत्ति जोडेकै छस् । एक पटक भेलवाढी आको थ्यो त्यस बेला संविधानसभाको सदस्य पनि बनी हालिस । मान्छे मारेको दाग पनि देखिन छोड्यो । अब किन पिर गर्छस् !’ मैले सम्झाउने हेतुले भने ।
लामो सुस्केरा फालेर लखतराने आफ्नै शैलीमा बोल्न थाल्यो – के भनौ हौ काका ! पार्टी लगेर ओलीलाई बुझाई दिए । अहिले हाम्रा ठूला काम्रेड कहिले ओली, कहिले माधव नेपाल र कहिले वामदेवकामा तारिख खेपेर बसेका छन् । कठैबरा ! त्यस्तो तुजुक थियो । ‘ठूलो पार्टीको अध्यक्षको नाताले’ अथवा ‘प्रधानमन्त्री भएका नाताले’ भनेर यति माथि सम्म कुम हल्लाउँदै भाषण गर्थे । हेर्दा हेर्दै अहिले थेचारिएका छन् ।
हेर लखतराने ! तिमार्ले हौस्याएर म पनि त्यही पार्टीमा लागें, अहिले एमालेबाट पनि टाढा भएँ तिमार्को पनि चुरी फुरी सकियो । अहिले हामीलाई पूर्व माओवादी भन्छन् । पेशा नै राजनीतिको थियो त्यो पनि सकियो । तिमार्ले त त्यस बेला ‘लुटी ल्यायो, भुटी खायो’ गरेका थियौ । मैले त त्यो पनि गर्न पाइन ।
यस्तै कुरा गर्दा गर्दै लाक्पा दोर्जी र चित्रेको कान्छो पनि त्यही आई पुगे ।
लखतरानेले अर्को सुकुल ओछ्याइ दियो । उनारु बसेर गफ सुन्न थाले ।
तर, हौ काका हाम्रा नेता चुपो लागेर बस्ने खालका त होइनन् । केही खिचडी पकाउँदै होलान् भन्ने लाग्छ । एक पटक भृकुटी मण्डपमा माओवादीको कार्यक्रम थियो । त्यसबेला माओवादी सग्लै थियो । अघिल्लो दिन काम्रेडले ‘मैले हतियार बुझाउँछु भन्ने ठान्नु भाको होला । यो हतियार हाम्रो एक एक थोपा रगतबाट जम्मा भएको हो । तपाईंहरुमा हतियार बुझाउँछ भन्ने भ्रम छ भने त्यो भ्रमबाट मुक्त हुनुहोस्’ भने हामीले जोडले ताली बजायौं ।
काका त्यसबेला माओवादीले हतियार बुझाउँदै छ भन्ने हल्ला थियो । काम्रेडले त्यो हल्ला मात्र हो भन्ने प्रष्ट पार्नु भयो । अर्को दिन पनि कार्यक्रम थियो । तर, बेलुकै समाचारहरु आए ‘माओवादीले हतियार बुझाए’ भनेर । हामी जिल्ल ! भोली पल्ट काम्रेडले मञ्चबाटै घोषणा गरे ‘यदि हामीले हतियार नबुझाएको भए भौतिक र कानूनी रुपमा हामीलाई खतम गर्ने रहेछन्’ भनेर ब्यापक व्याख्या गरे । फेरि हामीले तालि पिट्यौ । मोहन वैध जिल्ला परे, विप्लवले आखाँ तरे । यस्तो बाठा छन् हाम्रा काम्रेड । ओलीलाई त्यसै त छोड्दैनन् होला ! अस्ति पश्चिम गएर पार्टी फुट्न सक्छ भनी सके । के बेर यता उता गरे भने सक्छन् होला ।
हेर भतिज ! त्यस बेला काँग्रेस र एमालेहर्लाई माओवादीसंग हतियार, सेना र जनता छन् भन्ने भ्रम थियो । अब त्यो भ्रम छैन । बाबुराम, मोहन बैध, विप्लवहरु हामीसंग छैनन् । जति सुकै ढाकछोप गरे पनि जनता हाम्रो पक्षमा छदै थिएनन् । अहिले पनि जनताकोमा गयो भने अपराधी आए जस्तो गर्छन् । अब तिनै ओलीको पछुवा बनेर नहिँडे खैरियत छ जस्तो लाग्दैन ।
छोडौ काका अब राजनीति कुरा । बरु लाक्पा दोर्जी र कान्छा किन पो आयौ होउ !
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend