logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विनोद वाह्रकोटी र मनकामना माविको सम्बन्ध

लेखक मोहन कार्की


  • जन आकाश
  • शनिबार, फाल्गुन १७ २०७६

संखुवासभा जिल्लाको वाह्रविसेमा जन्मनु भएका विनोद वाह्रकोटी वि.सं. २०३४ सालमा तुम्लिङटार आएर बसोवास गर्न थाल्नु भयो । त्यही बसेर छोरा–छोरीको लालन–पालन र शिक्षामा ध्यान दिदै समाज सेवामा पनि अग्रणी भूमिका निभाउन थाल्नु भयो । समाजसेवी वाह्रकोटीलाई निरास र हतोत्साही बनाउने तत्वहरु पनि त्यहाँ सक्रिय भए । तर, वाह्रकोटी निरास हुनु भएन ।
वास्तवमा तत्कालिन अवस्थामा संखुवासभा जिल्लाको तुम्लिङटारमा २०२६ साल देखि हवाई सेवा सुरु भए पनि विकासका अन्य कुनै काम भएका थिएनन् । पुरानो कुमाल वस्ती, माटाका स–साना घरहरु, आफ्ना बालबच्चा पढाउनु पर्छ भन्ने चेतनाको अभाव, विद्यालय भवनको जिर्ण अवस्था, ग्रामिण जनताको विसंगतिपूर्ण जीवनयापन यस्तै थियो तुम्लिङटारको अवस्था ।
विनोद वाह्रकोटी आफ्नो संस्मरण सुनाउँदै भन्नु हुन्छ – पत्रकार मोहन जी म आएको अवस्थामा मनकामना प्रावि अहिले पानीट्याङ्की भएको ठाउँमा ३ कोठाको थियो । त्यो पनि चिरै चिरा परेको जिर्ण भवन । त्यो भित्र बसेर विद्यार्थी पढ्न सक्ने अवस्था पनि थिएन । म मेरी छोरी पवनलाई लिएर नाम लेखाउनका लागि विद्यालय पुगें, तर विद्यालय भवनको त्यो दुरावस्ता देखेपछि मैले छोरीको नाम लेखाउन सकिन । मेरो मन हुँडलियो, ऐँठन भए जस्तो लाग्यो । उपायहरु सोच्न थालें ।
रातभरी निद्रा लागेन । हुर्किदै गरेका छोराछोरी तिर हेरें । अहो ! यिनीहरुको भविष्य के होला ? भन्ने प्रश्न उब्जेर मनमा चिन्ता बढाई रह्यो । विहान उठेर विद्यालय ब्यवस्थापन समितिसंग छलफल गरेर विद्यालय भवन निर्माण गर्ने सल्लाह गर्ने निर्णय मनले गरेपछि मात्र म त्यो रात निदाएँ ।
अर्को झ्याउलो आई लाग्यो ।
विद्यालय ब्यवस्थापन समितिका सदयस्यहरु भेला गरे पछि मैले पुरानो भवन भत्काएर नयाँ भवन निर्माण गर्नु पर्ने प्रस्ताव राखें । त्यस वखत विद्यालयमा १०।१२ जना विद्यार्थी र २ जना शिक्षक थिए । सरकारले पाँच हजार अनुदान दिएको थियो । अहिले पानी ट्याङ्की भएको जग्गा भन्दा उत्तर पश्चिम तर्फ दिलबहादुर कुमालको जग्गा थियो । मैले मनकारी दिलबहादुर कुमालसंग जग्गा दिन अनुरोध गरें । उहाँले निःशुल्क जग्गा दिनु हुने भयो ।
विडम्वना के भयो भने उक्त चिरैचिरा परेको भवन भत्काएमा स्कूलले पाँच हजार रुपैंया सरकारलाई जरिवाना तिर्नु पर्ने रहेछ । ब्यवस्थापन समितिले ठाडै अस्विकार ग¥यो । स्वभाविक पनि थियो त्यस ताका पाँच हजार रुपैंया भनेको निकै ठूलो रकम मानिन्थ्यो । कुरो बुझ्दै जाँदा भवन पुरै भत्किएमा भने उक्त पाँच हजार तिर्नु नपर्ने रहेछ ।
फेरि अर्को रात पनि मलाई निद्रा लागेन । मैले तुम्लिङटारका हस्तीहरु सम्झिएँ । त्यसताका स्वर्गे भै सक्नु भएका डिल्लीराम पोखरले, केशवराज घिमिरे, सर्वजीत तामाङ र जिवितै रहनु भएका डिल्लीराम घिमिरे, रत्न बहादुर कार्की, पदम केशर कार्की, दिपसुन्दर कार्की, गंजबहादुर घिमिरे, मित्र बहादुर घिमिरे, विष्णु बहादुर तामाङ, गंगावहादुर तामाङ, जितबहादुर तामाङ(काल्धन) मेहेरमान श्रेष्ठ, बद्रि ढकाल लगायतलाई सम्झे र यो गाउँका कुमाल, माझी, तमाङ, क्षेत्री, वाहुन सबैका छोराछोरीको भविष्य प्रति चिन्तित भएँ ।
मनमा विभिन्न तर्कनाहरु खेल्न थाले पछि ४ बजे राति नै उठेर प्रेमबहादुर गौरुङ कुमालको घरमा पुगें । भुइँमा उज्यालो खसी सकेको थिएन । चारैतिर कुकुर भुक्तै थिए । टाडैबाट गौरुङलाई बोलाएँ । ‘आज वाह्रकोटीलाई के भयो ?’ भन्दै उहाँ वाहिर निस्कनु भयो । मैले तपाइँको जग्गामा बनेको यो थोत्रे स्कूल भत्काई दिउँ । अनि मात्र अर्को भवन बनाउन दिन्छन् नत्र दिदैनन् भनें । गौरुङ डराउनु भयो । उहाँले ‘हामीलाई पैसा तिराउँदैनन् ?’ भनेर शंका व्यक्तगर्नु भयो ।
मैले उहाँलाई भने – दाइ ’ भोलि राति गएर झम्पलले हानेर यो भवन भत्काई दिउँ । कसैलाई पनि यो कुरा नभनौ । पैसा तिर्नु परे म तिर्छु । तपाईलाई लगाउदिन । तर, कसैलाई नभन्नु । हाम्रो सहमति भयो ।
जुनेली रातको काम
वातावरण चकमन्न छ । परपर कुकुरहरु भुकी रहेका छन् जुनेली रात छ । गौरुङ दाइ र म झम्पल बोकेर स्कूलको पछाडि पट्टी पुग्यौ । चारैतिर नियालेर हेरेपछि गौरुङ दाइलाई मैले ‘दाइ ! ठोकौं अब’ भने हामी दुई जना भएर असिनपसिन हुदै थोत्रे भवनको एक पाटो ह्वार्लाङ्गै भत्काइ दियौं । पछाडी पट्टी भत्काई सकेपछि मैले सानो स्वरमा भने ‘दाइ ! अब भयो जाउँ । यो कुरा कसैलाई नभन्नु है ।’ उहाँले ‘ज्यान गए भन्दिन’ भन्नु भयो । हामी दुवै आ–आफ्नो घरतिर लाग्यौं ।
भोलिपल्ट गाउँका मान्छे भेला भए कचहरी बस्यो । भवन निर्माणका लागि चन्दा उठाउने निर्णय भयो । भवन निर्माण पछि पाँच कक्षासम्म पढाइ हुन थाल्यो । विभिन्न व्यक्ति र संस्थाहरुसंग चन्दा, दान र श्रमदान मागेर भवन ठूलो बनाउने काम भयो । २०४९ सालमा हाल वरिष्ठ पत्रकार रहनु भएका गोविन्द पोखरेलको संयोजकत्वमा एउटा देउसी कमिटि बन्यो । उक्त कमिटिले देउसी खेलेर ५० हजार रुपैया उठाएर स्कूललाई हस्तान्तरण ग¥यो । त्यसताका यो रकम निकै ठूलो मानिन्थ्यो ।
पछि तुम्लिङटारको जनघनत्व बढ्दै गयो । वारिपारिका विद्यार्थी थपिदै गए । भवन फेरि अपुग हुन थाल्यो । हामीले आरआरएन संस्थासँग सहयोग माग गरेपछि संस्थाका सञ्चालक अर्जुन कार्कीले सहयोग गर्नु भयो ।
अहिले स्कूल भवन थुप्रै थपिएका छन् । छोरी पवनको नाम लेखाउन जाँदा १३ जना विद्यार्थी रहेकोमा अहिले १३ सय विद्यार्थी अध्ययनरत छन् भन्न पाउँदा धेरै खुशी लाग्छ । अहिले यो विद्यालय नमुना विद्यालयको रुपमा विकास हुदै छ । फेरि पनि भवन अपुग भएको छ । खुशीको कुरा के छ भने कुवेर भेटुवाल यो स्कूलको हेडसर हुनुहुन्छ । भेटुवाल अत्यान्तै जाँगरिलो क्षमतावान र कुशल नेतृत्व गर्न सक्ने व्यक्तिमा दरिनु भएको छ ।
पूर्व हेडमाष्टर गोपाल घिमिरेले स्कूललाई सफल बनाउने हरसम्भव प्रयास गर्नु भयो । तर, उहाँको सरल स्वभावका कारण स्कूलले समयानुकुल गति लिन सकेन । वर्तमान हेडमाष्टर कुवेर भेटुवालको लगन र मिहिनेत भने सफल भएको छ ।
खकुवाको जग्गा
विनोद वाह्रकोटी आफू र मनकामना रत्न अम्बिका मावि बिच गहिरो र सुमधुर सम्बन्ध रहेको स्वीकार गर्दै खकुवाको जग्गा कसरी विद्यालयको नाममा ल्याउने काम सम्पन्न भयो भन्ने रोचक कथा सुनाउनु हुन्छ ।
मोहन जी ! खकुवाको १० रोपनी जग्गा चलानी पूर्जी बनाई दुर्गाप्रसाद गौतमले लिएको रहेछ । कुमालहरुको उक्त गाई चर्ने जग्गा भएकोले फिर्ता माग्नु स्वभाविक थियो । फिर्ता मागे । तर, दुर्गाले ‘मेरो चार हजार परेको र राजिनामा पास गरेको जग्गा दिन्न’ भन्नु भए छ । तत्कालिन जिल्ला पंचायतमा मुद्दा प¥यो । तर, उपाय थिएन ।
कुमालहरु मलाई खोज्दै आइपुगे । लौ जग्गा फिर्ता गराई दिनु प¥यो भने । म दुर्गा प्रसाद गौतमसंग कुरा गर्न गएँ । तर, उहाँले जग्गा फिर्ता गर्न मान्नु भएन । आफ्नो पैसा फिर्ता नभएसम्म जग्गा फिर्ता नदिने भनेपछि मैले कुमाल दाजु भाइलाई जग्गा स्कूललाई दिने हो भने म पैसा खोजेर पनि जग्गा फिर्ता लिई दिन्छु भने । उहाँहरुले स्वीकार गर्नु भयो । दुर्गालाई मैले पैसा फिर्ता दिएँ । जग्गा स्कूलको नाममा भयो ।
मोहन जी ! मसंग पैसा थिएन । दुई तोलाको औंठी थियो । दुर्गालाई पछि उकास्ने गरी त्यही औंठी दिएँ । गोपाल घिमिरेले साथ दिनु भयो । यो २०३९ सालको कुरा हो । आज त्यो जग्गाको मूल्य सोचे भन्दा धेरै छ । यस पछि ‘धन भन्दा मन ठूलो’ हो भन्ने मलाई लाग्छ । अहिले मलाई स्कूलका लागि आफूले गरेको सहयोग प्रति गर्व लाग्छ ।
फेरि अर्को झमेला
स्कूलले जग्गा प्राप्त गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र घिमिरेको नेतृत्वमा स्कूलका विद्यार्थीहरु गएर खकुवाको जग्गामा छरिएर रहेका ढुङ्गाहरु बटुलेर एकै ठाउँ राख्ने काम भयो । जिल्लामा विकास निर्माणका कामहरु धमाधम हुदै थिए । ढुङ्गा, गिट्टी र वालुवाको आवश्यकता बढ्दै गएको थियो । त्यसैताका एयरपोर्टको ग्याभिङ भर्ने कार्य हुने भयो । ग्याभिङ भर्ने ठेक्का पाएका ठेकेदारले विद्यालयलाई नसोधी खकुवाको जग्गामा विद्यार्थीले थुपारेको ढुङ्गा र जग्गामा भूमिगत रुपमा रहेका ढुङ्गा ल्याएछन् ।
दुई सय जति मजदुर लगाएर एयरपोर्टमा ढुङ्गा ओसार्न थाले पनि रोक्न सक्ने कोही भएन । विद्यालयले कसैको साथ पाएन । एक्लो र निरिह बनेर विद्यालय टोलाई रह्यो । मोहन जी ! यस्तै बेलामा हो साथ, सहयोग दिने भनेको । त्यसताका दिपसुन्दर कार्की, मित्रबहादुर घिमिरे, लोकेन्द्र बहादुर तामाङ र म विनोद वाह्रकोटी समेतको मिटिङ्ग बस्यो । ठेकेदारलाई ढुङ्ग ल्याउनबाट रोकियो ठेकेदार जसमोहन श्रेष्ठले आफूबाट गल्ती भएको स्वीकार गरेर १२ हजार रुपैयाँ स्कूललाई तिरे । र मैले पनि खकुवाको जग्गा किनेको चार हजार रुपैयाँ फिर्ता पाएँ ।
स्कूलको अवस्था अहिले कस्तो छ ?
आ–आफ्नो ठाउँबाट विद्यालयलाई गच्छे अनुसार स्थानीय सबैले सहयोग गरेका छन् । अध्यक्ष देवेन्द्र घिमिरे र प्रअ कुवेर भेटुवाल लगायतको प्रयासमा विद्यालयमा अक्षयकोषको आव्हान गरियो । यसमा विनोद वाह्रकोटी, इश्वरा वाह्रकोटी, गोपाल घिमिरे, डिल्लीराम श्रेष्ठले इञ्जिनियरिङ सञ्चालनका लागि अक्षयकोष, स्थापना गर्नु भयो । प्र.अ. कुवेर प्रसाद भेटुवाल अध्यक्ष देवेन्द्र घिमिरे, लोकेन्द्र तामाङ लोकबहादुर वस्नेत, बद्री ढकाल, इन्द्र कार्की, राजकुमार घिमिरे, भीम श्रेष्ठ लगायतले स्कूललाई सकेसम्म सहयोग गरी रहनु भएको छ ।
हाल यो विद्यालय नमुना विद्यालयको रुपमा रहेको छ । नमुना विद्यालय छनोट र स्थापना गर्ने कार्यमा यही तुम्लिङटारमा जन्मनु भएका र हाल नेपाल सरकारका भुमिसुधार सचिव रहनु भएका सूर्यप्रसाद गौतमको महत्वपूर्ण योगदान रह्यो । अहिले नमुना विद्यालय अन्तर्गतको मापदण्ड अनुसार भौतिक निर्माण कार्य भई रहेको छ । विद्यालयमा प्राविधिक शिक्षा (सव ओभरसियर र ओभरसियर लेवल) को पठन–पाठन भई रहेको छ ।
पत्रकार मित्र ! पछिल्लो ३ वर्ष यता विद्यार्थी संख्या बढ्दै गएर १३ सयको हाराहारीमा पुगेको छ । तीन वर्ष यता जिल्लाकै उत्कृष्ठ विद्यालयका रुपमा पुरस्कृत हुदै आएको छ । यो सबै श्रेय हाम्रा हेडसर कुवेरप्रसाद भेटुवाललाई जान्छ । उहाँको मिहिनेत र पसिनाको कदर गर्नु पर्छ । कुवेर सरको परिश्रमले स्कूलले वोर्डिङ स्कूलहरुसंग प्रतिस्पर्धा गर्न सक्ने भएको छ । तुम्लिङटारका विद्यार्थी अभिभावकले कुवेर सर जस्तो एउटा विलक्षण प्रतिभा पाएका छन् । उहाँको खुलेर प्रसंसा गर्न चुक्नु हुदैन ।
हालको समस्या केछ ?
भवन अपुग भएको छ । श्रोत साधनको कमी छ । हेडसर कुवेर भन्नु हुन्छ – स्कुल नजिकैको जग्गा किनिदिए भवन निर्माणमा ठूलो सहयोग पुग्ने थियो । विद्यालयमा विद्यार्थी अनुमापतमा शिक्षक छैनन् । खाँदवारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडा र काठमाण्डौमा रहनु भएका वरिष्ठ पत्रकार गोविन्द पोखरेल वीच शिक्षक थप्ने वारे छलफल भएको भन्ने सुनेको छु । आशा छ उहाँहरुको छलफल सार्थक रहोस् र मूर्तरुप लियोस् ।
नगरपालिकाले नै हो शिक्षक दरवन्दी मिलान गर्ने । मेयरले चाहनु भयो भने यस मनकामना रत्न अम्विका विद्यालयमा शिक्षक थपिन सक्छन् । कुरोकानी अगाडि बढेको छ । तर, काम भएको छैन । शिक्षकहरुको आवश्यकता अत्यान्तै खट्किएको छ । फेरि पनि भन्छु ‘यी कुमाल, माझी, तामाङ, मगर, गुरुङ र राई लिम्बुका छोरा छोरी पढाउन शिक्षक दिनु होस् ।’ नगरपालिका भित्र रहेका शिक्षक मध्ये विद्यार्थी संख्याका आधारमा मिलान गर्दिए मात्र पनि यो विद्यालयलाई यथेष्ट हुन्छ । कृपया सबैले सोच्नु होस् ।
यो रिर्पोट बरिष्ठ पत्रकार गोबिन्द पोखरेल, समाजसेवी विनोद वाह्रकोटी, हाल अम्बिका मा.बिका हेड माष्टर कुवेरप्रसाद भेटुवालको सहयोगमा तयार पारिएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend