जन आकाश
दुर्गा अधिकारी भमरकोटेको नाम लिनासाथ हाइकु गायकको रुपमा सुपरिचित हुनुहुन्छ । उहाँले सिर्जना गरेका हाइकुहरू जब मञ्चमा उभिएर गाउन थाल्नुहुन्छ , लयमा लय मिलाएर स्रोता दर्शकहरूले स्वरखाप्न र ताली बजाउन थाल्छन् । अहिले कोरो आतङ्क बन्दाबन्दी अथार्त लकडाउनमा उहाँसँग मैले भिडियो कलमार्फत संक्षिप्त कुराकानी गरेको छु । सोही कुराकानीका आधारमा केही जीवनका कुरा, केही अनुभव र अनुभूतिका कुरा अनि केही साहित्यका कुरा प्रस्तुत गर्न गइरहेको छु ।
२०१७ साल असोज १९ गतेका दिन पिता भवानीप्रसाद अधिकारी र माता तिलाकुमारी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा उहाँको जन्म भएको हो । पाँचखाल नगरपालिका वडा नम्बर पाँच उहाँको जन्मस्थान हो । जन्मस्थानको उच्च महिमा राख्न उहाँले आफ्नो नामको पछाडि भमरकोटे राख्नुभएको छ । दुर्गा अधिकारी भमरकोटेको सट्टा साहित्यकारहरूको माँझ उहाँ दुर्गा भमरकोटेको रुपमा सुपरिचित हुनुहुन्छ ।
उहाँको बाल्यकाल एकदमै सुखद् तवरबाट बित्यो । धेरै सन्तानहरू जन्मिएर पनि नरहने परिस्थिति अधिकारी खलकले ब्योर्होनु परेको थियो । पुरानो मान्यता अनुसार सौतेलो ग्रहले पो यस्तो परिस्थिति उत्पन्न भएको हो भन्ठानेर उहाँको बुबाले अर्की श्रीमती समेत ल्याउनु भएको थियो । तर दुर्गा भमरकोटे जेठी श्रीमतीकै जेठो सुपुत्र हुनुहुन्छ । उहाँलाई त्यो परिवारले यति धेरै माया दियो कि त्यसको बयान गरि साध्य छैन् । उहाँ ३ बर्षको हुन्जेल काखै काखमा रहनुभयो । उहाँ सबैबाट बोकीनु भयो अर्थात काखे पल्टिनुभयो, पुल्पुलिनु भयो । उहाँका खुट्टा जमिनमा भन्दा आफन्तका खाखमा मडारिन पुगे ।
यसै मेसोमा यहाँनेर एउटा दुखद् स्थिति पनि सिर्जना भएछ । त्यो के भने उहाँ असाध्यै बिमारी पर्नुभएछ । घरका सबै परिवारका सदस्यहरूले उहाँलाई माया मारेछन् । तर सास हुन्जेल आस । अलिअलि सास र ढुकढुकी मात्र रहेको उहाँलाई उहाँकी आमाले उहाँलाई डोकोमा बोकाएर शिर मेमोरियल हस्पिटल बनेपामा लिएर पुग्नु भो । त्यस्तो सिकिस्त बिमारीलाई त्यहाँ ल्याउँदा उहाँकी आमाले , ढिला लिएर आएको भनेर निकै गाली समेत खानु प¥यो । मान्छे पनि गोरो, कपाल पनि खैरो झट्ट हेर्दा उहाँ अमिरिकनको बच्चा जस्तो देखिनुहुन्थ्यो । त्यहाँ कार्यरत अमिरिकी डाक्टरले उहाँलाई विशेष तवरले उपचार गर्नुभयो । उहाँलाई निको हुनुभयो । उहाँलाई उपचारको क्रममा ती डाक्टरले यति माया गरेछन् वा मन जितेछन् । उहाँको बाल मतिष्कमा सबैभन्दा असलमान्छे भनेका अमिरिकन हुन् भन्ने प्रभाव छोडेछ । उहाँले कसैले,‘बाबू, ठूलो भएपछि के बन्छौ ?’ भनेर प्रश्न सोध्दा , ‘अमेरिकन बन्छु !’ भनेर जवाफ दिनुहुन्थ्यो रे ।
उहाँको घरमा काम गर्ने मानिसहरू थिए । दिदीहरू पनि थिए । यद्यपि सानो उमेरमा उहाँ गोठालो गएको अनुभव छ । वनमा गएर डण्डीबियो र कपर्दी खेलेको अनुभूति छ । झिकु खोलामा गएर पौडी खेलेको अनुभव छ । पाँचसय मुरी धानको बीउ लाग्ने जग्गा जमिनको मालिक भएपनि उहाँले समग्र र आम जिन्दगी भोगेको कुरा बताउनु हुन्छ ।
उहाँ पाँचवर्ष पुगेपछि भमरकोटमै श्री गणेश प्रा.विमा भर्ना हुनुभयो । उहाँ भर्ना भएपछि उहाँको विद्यालयले काँचुली फे¥यो । कारण त्यतिबेलासम्म उक्त विद्यालयमा पढ्ने विद्यार्थीहरू कोही चकटीमा, कोही सुकुलमा त कोही भुइँमा नै बसेर पढ्थे । आफ्नो छोरो पढ्ने विद्यालयको यो हालत देखेर त्यतिबेला उहाँको बुबाले विद्यालयलाई पाँचसय रुपैयाँ चन्दा दिनुभयो । उक्त पाँचसयले त्यत्तिबेला पाँचबटै कक्षाका विद्यार्थी बसने डेक्स, बेञ्च बनाउन पुग्यो । पाँच कक्षा पढुन्जेल उहाँलाई विद्यालय जान पाँच मिनेर र फर्किन पाँच मिनेट लाग्थ्यो । तर छ कक्षा पुगेपछि भने उहाँको विद्यालय फेरिन पुग्यो । अब भने पैतीस मिनेट जति हिँडेर संजिवनी हाइस्कुलमा पढ्न आउनु प¥यो । उहाँले उक्त विद्यालयबाट प्रथम श्रेणीमा एस.एल.सी. उत्र्तिण गर्नुभयो ।
उहाँले टेष्ट परिक्षा दिनासाथ नै आफूलाई मनपरेको शिक्षण पेशामा आबध्द हुनुभयो । काभ्रे जिल्लाकै मण्डन देउपुर स्थित श्री तपेश्वर नि.मा.वि. मा उहाँ शिक्षक बन्नुभयो । त्यतिबेला निर्दल र बहुदलबीच एकप्रकारको राजनैतिक सगर्मी बढीसकेको थियो । एउटा परिवर्तनकारी क्ष्मता राख्ने शिक्षकले निर्दलको समर्थन गर्ने कुरै थिएन । जनताले, जनताद्वारा, जनतालाई गरिने साशन वा भनौं प्रजातन्त्र प्रति उहाँको झुकाब बढ्यो । उहाँ शिक्षक साथीहरूसँगै आन्दोलनको पक्षधर बन्नुभयो ।
एस. एल. सी. पास भएपछि उहाँले नेपाल ल क्याम्पसमा अध्ययन सुरु गर्नुभयो । अब उहाँ विद्यार्थी आन्दोलनमा समेत सरिक बन्नुभयो । उता शिक्षक आन्दोलनमा यता विद्यार्थी आन्दोलनमा । उहाँलाई त्यतिबेला न काठमाडौं, न घर, न विद्यालय कही पनि जाने अनुकुल परिस्थिति बनेन् । त्यतिबेला उहाँ जिल्ला शिक्षक संघर्ष समितिको सदस्य हुनुहुन्थ्यो । यसकारण पनि उहाँ सरकारको नजरमा तारो हुनुहुन्थ्यो ।
निलो ज्याकेटको प्रसङ्ग ः
वास्तवमा उहाँसँग त्यो निलो ज्याकेट अहिलेसम्म भए त्यो ज्याकेट सबैले हेर्न चाहन्थे होला । निलो ज्याकेट अहिले नभए पनि निलो ज्याकेटको किस्सा यहाँ प्रस्तुत गर्न उपयुक्त लाग्यो । शिक्षक संगठनको तर्फबाट वनेपाको चार दोबाटोमा बनाइएको मञ्चबाट उहाँले भाषण गर्दागर्दै पुलिसहरू त्यहाँ आइपुगेछन् । र पुलिसहरूले त्यहिँ निलो ज्याकेट लगाउनेलाई समात्ने हो भनेछन् । उहाँ मञ्चबाट ओर्लिएर साथीहरूको बीचमा घुस्नुभएछ । संयोग उहाँको ज्याकेट डबल लगाउन मिल्ने रहेछ । उहाँले साथीहरूको बीचमै ज्याकेट उल्टाएर वा अर्को पट्टि फर्काएर लगाउनुभएछ । निलो ज्याकेट लगाउनेलाई पुलिसले खोज्न थाल्यो तर उहाँ त्यतिबेला रातो ज्याकेट बन्नुभयो । उहाँको साथीले उहाँलाई बचाउन खरायोको स्पीडमा तीनतला माथि लगरे तीन दिन राख्नुभयो ।
घर जाने स्थिति नभएपछि उहाँ विद्यालय तिर जानुभएछ । तर त्यहाँ पनि पुलिसले खोजेको छ भन्ने थाहा पाएर उहाँ मामाघर लुक्न जानुभएछ । त्यहिँ घटनाले गर्दा उहाँलाई लाखौं विद्यार्थी उत्पादन गर्ने शिक्षण पेशाबाट अलग गराएछ । नत्र यतिबेला हामीले उहाँलाई रिटार्यड हेडसरको रूपमा चिन्थ्यौंहोला ।
बा–आमालाई छोराको पीर पर्ने नै भयो । उहाँको बुबाले कृषि अधिकृत उहाँको ठूलोबाको छोरो दाइ हिरामणि अधिकारीलाई सबै कुरा बताउनु भएछ । उहाँको कुरा सुने पश्चात हिरामणिले , ऊ कहाँ लुकेको छ , मलाई भेट्न पठाइदिनु, पीर गर्नुपर्देन भन्नुभएछ ।
भमरकोटे हिरामणि दाइलाइ भेट्न राती हिडेर सिन्धुपाल्चोकको निगाले भन्ने ठाउँमा पुग्नुभयो । उहाँलाई देखेपछि दाइले बेस्सरी झपार्नुभयो । तैपनि समाज र राष्ट्रमा बेथीति भएर यसरी क्रान्ति गर्नुपरेको कुरालाई दाइलाई सम्झाउनुभयो वा कन्भिन्स गर्न सक्नुभयो । त्यसपछि दाइले उहाँलाई त्यहिँ बस्नभन्नु भयो । करिब पन्ध्रदिन त्यहाँ बसेपछि त्यहीँ ठाउँको आलुबारी विकास परियोजनाको सहलेखापालमा उहाँलाई नियुक्ति दिलाइदिनुभयो ।
एउटा शिक्षकलाई जिन्दगीको मोडले सह–लेखापाल बनाइदियो । क्याम्पस गएर पढ्ने सपना तुहियो । वकिल बन्न पढ्ने उहाँको विषय कानून पनि पढ्न पाउनुभएन । उहाँले प्राइभेट आइ.ए. को परिक्षा दिनुभयो र पास पनि हुनुभयो ।
हामी बाल्यावस्था पार गरेपछि यौवनावस्थामा पुग्छौ । जिन्दगी यसरी नै चल्दै क्रमश वृद्ध बन्ने हो ।
उहाँको पनि एक्काइस वर्षको उमेरमा चन्द्रकुमारी मिश्रसँग विवाह भयो । उहाँका दुई सन्तान हुनुहुन्छ । अमित अधिकारी र डा. अरुण अधिकारी ।
उहाँ सहलेखापाल भएपनि अमेरिका जानलाई प्रत्येक वर्ष आवेदन दिइरहनुहुन्थ्यो र लोकसेवा आयोगको परिक्षा पनि दिइरहनुहुन्थ्यो । तर सफलता हासिल हुन सकिरहेको थिएन ।
एकदिनको कुरा हो । धुलिखेलमा उहाँको एकजना असइ सापसँग भेट भयो । असइ साप उहाँ नजिकको नातेदार भएको हुनाले धेरैबेर कुराकानी भयो । कुराकानीको क्रममा जागिरको पनि कुरा भयो । उहाँले आफूले लोकसेवा सधैं दिइरहेको तर नाम ननिस्केको बताउनुभयो । असइसापले उहाँको पुलिस रिपोर्ट हेरिदिनु भयो । उहाँको रिपोर्ट पुलिस रिपोर्ट बिग्रेकाहरूको लामो सूचिमा तीननम्बरमा रहेछ । लोकसेवा पास नहुनुको कडी उहाँले पत्ता लगाउनु भयो ।
हुनसक्छ असइसापले उहाँको ब्याक लिस्टबाट नाम हटाइदिनु भयो वा के भयो उहाँले एकैचोटि छ वटा आयोजमा दिएको परिक्षामा नाम निकाल्नुभयो ।
अब त उहाँ छानेर सरकारी जागिर खाने हैसियतको मान्छे बन्नुभयो । तर उहाँलाई सिन्धुपाल्चोक छोड्न मनलागेन । उहाँले सिन्धुपाल्चोकको जलबिरे भन्ने ठाउँको वाणिज्य बैंकमा ऋण सहायकको नियुक्ति बुझ्नुभयो ।
त्यहाँ उहाँको काम कृषकहरूको पीरमर्का बुझेर ऋण दिनु थियो । उहाँसँग फिल्डमा अमेरिकी पिसकोर भोलेन्टिएर मेरियन मके पनि हुनुहुन्थ्यो । मेरियन मके उहाँसँग यति प्रभाभित हुनुभयो कि उहाँले अमेरिका जान प्रस्ताव राख्नुभयो । प्रताव मनन योग्य थियो । सानोमा अमेरिकी डाक्टरले उहाँलाई बचाएको हुनाले त्यो गुण तिर्न पनि अमेरिका जाने उहाँको इच्छा थियो । उहाँले दुतावासमा प्रत्येक वर्ष आवेदन दिने गरेको तर सफल नभएको कुरा सुनाउनु भएको थियो ।
मरियन मके आफ्नो दुई वर्षको कार्यकाल सकेर अमेरिका फर्किनुभयो । मके अमेरिका फर्केको केही समय पश्चात भमरकोटेलाई अमेरिकन दुतावासबाट फोन आयो । उहाँ अमिरिका जान पाउने हुनुभयो । उहाँको निरन्तरको प्रयास र सपनालाई मरियन मकेले सफल बनाइदिनु भयो ।
अमेरिकी दुतावासमा कार्यरत इशा के.सी. दिदीले ,‘भाइ कतिपटक यो आवेदन फर्म भरिरहन्छौ ,तिम्रो किन हो हुँदैन् , कति दुतावासलाई मात्र पैसा बुझाउछौ ।’ भन्थिन् तर तिनै दिदीले, ‘भाइ, तपाईंलाई सम्मान साथ यसरी भिषा दिन लेखेको रहेछ ।’ भनिन् । भमरकोटेलाई यो घटना ताजै र अहिल्यै घटिरहेको छ जस्तो भान हुनेगर्दछ ।
उहाँले अमेरिका बस्दा पनि भमरकोट देवीको मन्दिर बनाउन सम्पूर्ण खर्च पठाउनुभएको थियो । विदेशको भूमिमा बसेर पनि आफ्नो गाउँको मन्दिरको दर्शन मनमनले गरिहनुहुन्थ्यो । पुकार गरिहनुहुन्थयो ।
उहाँ २०७१ सालमा बुबाको देहावासनका कारण नेपाल फर्किनुभयो । पारिवारिक व्यवहार मिलाउँदा मिलाउँदै एक वर्ष लाग्यो । २०७२ सालको महाविनाशकारी भूकम्प पश्चात त उहाँलाई देश छाडेर अमेरिका जानै मनलागेन । त्यसपछि उहाँ साहित्य सिर्जनामा रमाउन थाल्नुभयो । पूर्वसहायकरथी तेजप्रकाश बानियाँको छत्रछाँया र पूर्वसेनानी टंकबहादुर बजगाईंको संगत बिस्तारै झांगिँदै गयो ।
हुन त युवा जोशको बेला पनि आन्दोलन गरिरहेको बेला उहाँले कविता लेख्नुहुन्थ्यो । २०३५ सालमै दृष्टि साप्ताहिकमा उहाँको ‘फुटेको घ्याप्पो’ प्रकाशित भएको थियो ।तर अमेरिकाको बसाईं र विविध कुराले कल्पना र भावनालाई लिपिवद्ध गर्न पाउनु भएन ।
२०७२ सालको भूकम्पमा उहाँले निर्माण गरेको मन्दिर पनि भत्किएपछि उहाँसँग गाउँलेहरूले मन्दिर बनाइदिन अनुरोध गरे । उहाँले गाउँलेहरूको सहयोग, विभिन्न व्यक्तिबाट चन्दा र आफूले समेत गरेर पच्चिस लाख लागतमा भमरकोट देवीको मन्दिरको पुर्ननिर्माण सुसम्पन्न गराउनुभयो ।
उहाँलाई आफ्नै संस्कार, संस्कृति र लोकभाकाले मन तान्यो र साहित्य सिर्जनामा हुरुक्क भएर लाग्नुभएको छ । उहाँको चर्चित हाइकु संग्रह हाइकु वर्णमाला दोस्रो संस्करण पनि आइसकेको छ भने छ सय एक झटारा मुक्तक संग्रह र करिव आधा दर्जन संयुक्त कृतिहरुमा उहाँका रचनाहरू प्रकाशित भइसकेका छन् । लोकभाकामा हाइकु लेखनका अभियानकर्ता भमरकोटेसँग गरिएको साहित्यिक भलाकुसारी अब प्रस्तुत गर्दछु ।
तपाईंलाई साहित्यको कुन विधा मनपर्छ ?
मलाई साहित्यका सबै विधा मन पर्छन । यद्यपी मलाई लोकलयमा लेखिने कविता र यसका उपविधा गजल, मुक्तक र हाइकुले बढी मन छुन्छ र हाइकु हाम्रो विधा हो । यो हाम्रो लोक विधा हो कसरी हाइकु आयातित हुँदै आयो यसको अनुसन्धानमा छु ।
साहित्य भनेको के हो ?
साहित्य भनेको सुन्दर सिर्जना हो । यो पढेका , नपढेका जसले पनि सिर्जन ागर्न सक्छन् । कृषकले बीउ रोपेर बाली फलाउनु जस्तै हो साहित्य । त्यहाँ माटो बनाउनु वीउ रोप्नु , गोलमेड गर्नु , बाली काट्नु त्यहाँ जतिबेला पनि सिर्जना मात्र छ । ठ्याक्कै त्यस्तै सिर्जना भनेकै साहित्य हो । जुन जीवन र जगतसँग सोझै साक्षातकार हुन्छ ।
साहित्य किन र के का लागि लेख्नुहुन्छ ?
म सुरुमा सोच्थेँ बुढेशकालमा मन भूलाउन वा आफूलाई सक्रिय राख्न साहित्य सिर्जना गर्छु । तर जीवनका अनुभव र अनुभूति , समाजका विकृति र विसङ्गतिको विषयमा सिर्जन ागर्न थाले तब आफूलाई जवान भएको महसुस भयो । युवाअवस्थाका कलकलाउँदा युवाहरू मेरा फलोअर्स भए । मञ्चहरू तातिन थाले तब सोचे साहित्य समाजमा जनजागरण ल्याउन लेखिदो रहेछ । म पनि त्यसैको लागि लेखिरहेको छु ।
नेपाली साहित्यको विकास र बिस्तारको लागि के गर्नुपर्छ ?
सर्वप्रथम त नेपाली साहित्यको जग नै बसिसकेको छैन । जग निमार्ण गरिनुपर्छ । धेरै मान्छेलाई साहित्य एकैचोटि वयष्क भएपछि , कोही मान्छेलाई युवावस्थामा मात्र थाहा भएको अवस्था छ । कक्षा एक देखि नै विद्यार्थीहरू साहित्य सिर्जन ागर्न लगाउनु पर्ने आवश्यकता छ । यसको निम्ती सरकार र साहित्यकारहरू एक भएर एउटा सिर्जनशील समाज निर्माणमा लाग्नुपर्छ तब मात्र नेपाली साहित्यको विकास र बिस्तार सम्भव छ ।
साहित्य मार्फत समाजसेवा गर्न सकिन्छ ?
विल्कुल ! साहित्य नै समाजसेवाको जग हो । साहित्य बिना कुनै पनि समाज सहीबाटोमा जानै सक्दैन । समाजलाई तत्कालै परिवर्तन गर्न सक्ने शक्ति गीत, कवितामा रहेको हुन्छ । जस्ले तत्कालै मनसपटलमा परिवर्तन ल्याइदिन्छ जस्तै ‘गाउँ गाउँ बाट उठ’ , ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मूलुक दुई चार सपुत मरेर नगए , यस्ता धेरै कविता र गीतले समाज परिवर्तन गर्न मद्दत गरेका छन् । समाजलाई परिवर्तन गराउन सक्नु जत्तिको समाजसेवा अरु के हुन्छ ।
तपाईंलाई लेख्ने पर्ने कृति के लागेको छ ?
नेपालमा लोकभाकाको हाइकुको लेखनको अनुसन्धान सहित धेरै सर्जकहरूलाई समावेश गरेर विभिन्न लोकभाकमा गाउन मिल्ने खालको हाइकुको कृति । हाइकु किन नेपाली विधा हो यसको तथ्य र पुराना हाम्रा लोकगीत , चुट्का र भजन आदिको खोज अनुसन्धान र हाइकु लेख्ने विधि सहितको पुस्तक । यसैगरी मेरो जीवन अनौठो छ, जीवनका अनुभव र अनुभूति पनि अनौठा छन् , तिनीहरूलाई समेटेर आत्मकथा लेखिरहेको छु । यी चाँढै प्रकाशन हुन्छन् ।
अस्तु
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend