logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सर्जकलाई नजिकबाट नियाल्दा


  • जन आकाश
  • मंगलबार, साउन १३ २०७७

– दामोदर ढकाल ‘दीपक’
लक्ष्मीप्रसाद मिश्रको नाम लिनासाथ सुमधुर स्वरका धनी, अत्यन्त सहयोगी भावनाका धनी, सबैको मनमा बस्नसक्ने कुनै वादभन्दा अलग्यै बसेर साहित्य सिर्जना गर्नै होनहार प्रतिभाको रूपमा चिनिन्छ । उहाँले मञ्चमा उभिएर जब सवाई छन्दका कविताहरू गाउनुहुन्छ , सबैको ध्यान उहाँप्रति आकृष्ट हुन्छ र तालीको लय सिर्जना हुन्छ । कोरोना आतङ्क लकडाउन बन्दाबन्दीमा उहाँसँग भिडियोकल मार्फत करिब एक घण्टा मैले केही जीवनका कुरा, केही अनुभव र अनुभूतिका कुरा अनि केही साहित्यका बारेमा कुराकानी गरेको छु । तीनै कुराकानीका आधारमा उहाँलाई नियाल्ने प्रयत्न गरिरहेको छु ।



२०१९ साल जेठ सत्र गतेका दिन पिता महदत्त मिश्र र माता विष्णुमाया मिश्रको कोखवाट चौथो (जुम्ल्याहा) पुत्ररत्नको रूपमा उहाँको जन्म भएको हो । जमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नम्बर सातमा उहाँको जन्म भएको हो र सोही स्थानमा हाल पनि उहाँ स्थायी बसोबास गर्दै आउनु भएको छ । आमालाई अत्यन्त श्रद्धा र सेवा गर्ने लक्ष्मीप्रसाद मिश्रले खाँदै गरेको जागिर समेत छोडेर आमाको सेवाको निमित्त घर जानुभई आमाको सेवा गरिरहनु भएको कुरा उहाँलाई चिन्ने बुझ्ने सबैलाई थाहा छ । प्यारालाइसिसले थलिएकी वृद्ध आमालाई खुवाउने पियाउने , नुहाइदिने आदि सबै कार्य उहाँले गरिरहनु भएको छ । स्थानिय बासिन्दाहरूको भनाईमा उहाँ कलियुगमा जन्मेको श्रवणकुमार हो भनेर भन्ने गर्छन् । आमालाई र राष्ट्रलाई जसले सदैव सेवा गर्न सक्छ ऊ मात्र सच्चा छोरा हो । यसर्थ सीमित सच्चा छोरा मध्ये लक्ष्मीप्रसाद मिश्र एक सच्चा छोरो हुनुहुन्छ । म उहाँलाई हार्दिक सलाम अर्पण गर्दछु ।

उहाँको बाल्यावस्था गाई बाख्रा हेरेर नै बित्यो । म¥र्यादीको किनारमा घाँस काटेर, बरिपरिका वनमा सेउला काटेर , खेतीबारीमा कोदाली चलाएर । गाउँका आफ्ना दौतरीसँग उहाँले पुरानो मोजाको बल खेलेर । कपर्दी र डण्डिवियो खेलेर । नजिकैको पाउदी खोलाको असारे रहमा पौडी खेलेर । अनि म¥र्यासङी नदीमा पौडी खेलेर वारपार पनि गरेर । उहाँ पौडी खेल्न सानैदेखि इच्छा राख्ने र खुब सिपालु भएको कुरा बताउदा आफूले पौडी खेल्न नजाने पनि खुब चाख लिएर सुनेँ । हुन त खोला र नदीका छेउमा जन्मेका मान्छेलाई पानीले चिन्छ र माया गर्छ । अधिंकाश खोला र नदी नजिक भएका मान्छेहरू सानैबेलादेखि पौडी खेल्न सिपालु हुन्छन् र उहाँले पौडी खेल्न सिद्धता प्राप्त गर्नुभयो । मान्छेले जीवनमा दुईटा कुरा एकपटक सिकेपछि हत्तपत्त भुल्दैन रे त्यो हो साइकिल चलाउन जानेपछि साइकल चलाउन र पौडी खेल्न जानेपछि पौडी खेल्न भुल्दैन रे । हुन त उहाँ पौडी खेल्न जस्तै साइकल चलाउन पनि उत्तिकै सिपालु हुनुहुन्छ ।

उहाँ १३ वर्षको उमेरमा बल्ल पढ्न विद्यालय जानु भएको रहेछ । १३ वर्षको उमेरमा भाषा पाठशालाबाट उहाँले कखरा सिक्नु भयो । त्यहाँ उहाँहरूलाई शिक्षा दिने एक मात्र गुरु टिकादेव कडेल हुनुहुन्थ्यो । जुन हात भानु नगर पालिका १० तनहुँमा पर्छ । उहाँले त्यहाँ दुई हप्ता शिशु कक्षामा पढेपछि एकै चोकी कक्षा एकमा जानु भयो । कक्षा एकको अर्धवार्षिक र वार्षिक दुबै परिक्षामा उहाँ प्रथम हुनुभयो । उक्त विद्यालयमा दुई कक्षा र तीन कक्षामा एकै स्थानमा पढाई हुन्थ्यो । उहाँले त्यतिबेलै ३ कक्षाका विद्यार्थीहरूलाई म्याथ पढाउनुहुन्थ्यो । उहाँले तीन कक्षा पनि प्रथम स्थान हासिल गर्नुभयो । जुन भाषा पाठशाला अहिले तोक मावीमा परिणत भएको छ

त्यसपछि करिब डेडघण्टा पैदल हिँडेर उहाँ त्रिभुवन माध्यामिक विद्यालय मानेचौका तनहुँमा जानुभयो । भाष पाठशालाका प्राचार्यले उहाँको तिष्ण प्रतिभा देखेर त्यहाँका प्रधानाध्यापक जो पूर्व मन्त्री पनि हुनुभयो गोविन्दराज जोशीलाई लक्ष्मीप्रसाद मिश्र प्रतिभाशाली र मेहनती भएको हुनाले एकैपटक पाँच कक्षामा राखेर पढाउनुहोला भनेर चिठी नै लेखिदिनु भएको थियो । उहाँले त्यही चिठीको आधारमा पाँच कक्षामा भर्ना पाउनुभयो र पढ्न थाल्नुभयो । उहाँले सोही विद्यालयबाट २०३६ सालमा एस.एल .सीको परिक्षा दिनुभयो ।
२०३७ सालमा तत्कालिन शाही नेपाली सेना हाल नेपाली सेनामा उहाँ भर्ना हुनुभयो । राष्ट्रको सेवक बनेर उहाँले अब तालिम लिन थाल्नु भयो । सेनाको जागिर खाएको ४ वर्ष पछाडि २४ वर्षको उमेरमा उहाँले भरतपुर न.पा. ६मा बसोबास गर्ने लिलाधर ढकाल र गौरादेवी ढकालकी माइली छोरी पदम कुमारी ढकाल सँग मागी विवाह गर्नुभयो । उहाँहरूका रेनु मिश्र (अधिकारी), संजय मिश्र, मेनु मिश्र (अधिकारी)गरेर दुई छोरी एक छोराको जायजन्म भएको छ । छोरीहरूको बिवाह भइसकेको छ र छोरो वैदेशिक रोजगारको क्रममा मूलुक बाहिर हुनुहुन्छ ।

उहाँले नेपाली सेनामा कार्यरत रहँदा मूलकका विभिन्न भाग र मुलुक बाहिर शान्ति मिशनको लागि लेबलान समेत पुग्नुभएको छ । सामूहिक बसाइ र साथीभाइहरूसँगको घुलमिलमा जीवनको जवानी बिताउनु भएका मिश्रले २०५४ सालमा नेपालीसेनाको जागिरबाट पेन्सनमा रिटार्यड हुनुभयो ।

रिटायर्ड हुनासाथ उहाँले चार वर्षसम्म राष्ट्रिय बायोग्यास कम्पनीमा प्राविधिक पदमा अस्थायी जागिर खान थाल्नुभयो । पुनः चारवर्ष पछाडि उहाँलाई नेपालको कमाई चित्त बुझेन वा धेरै कमाउन इच्छा जाग्यो र उहाँ वैदेशिक रोजगारी लागि मलेसिया युनाइटेड प्लानटेसन सेक्यूरेटी गार्डको काममा जानु भयो त्यहाँ महिनाको चालिस हजारजति कमाउनुहुन्थ्यो । उहाँलाई धेरै वर्ष विदेशमा बस्न मनलागेन करिव साढे पाँचवर्ष पछि उहाँ स्वदेश फर्कनुभयो ।

२०६३ सालमा उहाँले काठमाडौँ सेक्युरेटी सर्भिसमा ज्वाइन्ट हुनुभयो । उक्त संस्थामा कार्यरत रहदा उहाँ माछापुच्छे र नविल बैंक जस्ता बैंकको सेक्युरेटी गार्ड भएको बखत उहाँलाई दिब्य ज्ञान प्राप्त भयो र लेखेका कवितालाई सुरक्षित राख्न थाल्नुभयो र विभिन्न कवि गोष्ठीहरूमा समेत भाग लिन थाल्नुभयो । आर्मीले गर्ने विभिन्न कार्यक्रममा तत्कालै लेखेर वाचन गर्ने र साथीभाइ माझ मात्र सुनाउने उहाँको कला अब प्रस्फुटन हुन थाल्यो , साहित्यिक कार्यक्रमहरूमा दर्बिलो उपस्थिति देखाउन थाल्नुभयो । सबैले उहाँका कविताहरू मनपराउन थाले । कवि गोष्ठीहरूमा लक्ष्मीप्रसाद मिश्रलाई खोज्न थाले , फोन कल र म्यासेन्जर मार्फत उहाँलाई निमन्त्रण गर्न थाले ।
उहाँले सेक्युरेटी सर्भिसबाट जागिर छोड्नु भयो र नागार्जुन टेलिभिजनमा मार्केटिङको काम शुरु गर्नुभयो पछि उक्त टेलिभिजन मेघा टेलिभिजनमा गाभियो र उहाँ मेघा टेलिभिजनमा कार्यरत रहनुभयो । मेघा टेलिभिजनमा कार्यरत रहँदा नै उहाँको ‘रातो बाकस’ कृति प्रकाशीत भयो । रातो बाकस कृति निस्केको केही समय पश्चात आमालाई रोगले बेस्सरी च्याप्न थाल्यो । तसर्थ उहाँले मेघा टेलिभिजनको जागिर छाडेर उहाँ लमजुङ घर जानु भयो । जन्मदिने आमाको सेवा गर्न ।

उहाँ लमजुङ गएर पनि साहित्यबाट टाढा हुनुभएन लमजुङका स्थानिय साहित्यिक कार्यक्रमदेखि तनुहँमा हुने कार्यक्रममा पनि उहाँले सहभागिता जनाउन थाल्नुभयो । उहाँले जमजुङ बस्दै ‘नशामा डुबेको जीवन’ खण्डकाब्य निकाल्नुभयो । जुन पुस्तकको विमोचन सुन्दर बजार महोत्सबको अवसर पारेर मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङको हातबाट विमोचन गराउनु भयो । उक्त पुस्तक यति चर्चित भयो प्रकाशीत भएको केही समयमै सम्पूर्ण पुस्तक बिक्री वितरण भयो । उक्त पुस्तकले गौरी पब्लिकबाट दिइने उत्कृष्ट वर्ष पुस्तक २०७५ प्राप्त ग¥यो ।
उहाँको लेखन यात्रा रोकिएन । उहाँले पेटारोभित्रको लोक सुसेली कविता सङ्ग्रह प्रकाशन गर्नुभयो । त्यो निस्केको केही समय पश्चात लमजुङको उपहार बाल कविता सङ्ग्रह र होशियार बाल कथा सङ्ग्रह पनि प्रकाशित गरिसक्नुभएको छ । हाल उहाँ एउटा सुसेली सङ्ग्रह र एउटा कविता सङ्ग्रहको प्रकाशनको तयारीमा हुनुहुन्छ । कर्मदा सिर्जना मञ्चको उपाध्यक्ष रहनुभएका मिश्र ज्यूसँग गरिएको साहित्यिक भलाकुसारी अब प्रस्तुत गर्न गइरहेको छु ।

तपाईंलाई साहित्यको कुन विधा मनपर्छ ?
मलाई साहित्यका हरेक विधा मनपर्छन । यसमा पनि लोकलयमा लेखिएका कविताहरू लोकछन्दका कविताहरू अत्यन्त मनपर्छ ।
साहित्य भनेको के हो ?
साहित्य भनेको बुलन्द आवाज हो । यसले राज्यमा अन्यायमा परेका व्यक्तिको आवाजलाई उजागर गर्छ । प्रकृतिको सोन्दर्यलाई कलात्मक ढंगले अझ सुन्दर बनाउँछ । यति मात्र नभएर समाजको संस्कृति ,कला र गाथा व्याथालाई पनि समाजसामु ल्याउँछ । सन्देशमूल आवाज नै साहित्य हो ।
साहित्य किन र के का लागि लेख्नुहुन्छ ?
म साहित्य समाजमा अन्याय र अत्याचारको विरुद्ध, जन चेतना जगाउने उद्देश्यले लेख्छु ।
नेपाली साहित्यको विकास र बिस्तारका लागि के गर्नुपर्छ ?
नेपाली साहित्यको साँच्चिकै विकास र बिस्तार गर्ने हो भने व्यक्तिगत प्रयाशले मात्र यो सम्भव छैन् । यसको निमित्त राज्यको तर्फबाट सर्जकहरूका पुस्तकहरू प्रकाशित गर्ने, बिक्रि वितरण गर्ने । लेखकहरूलाई उचित पारिश्रमीक दिएर पूर्णकालिन लेखक बनाउने । साहित्यको अध्ययन र अनुसन्धान कार्यका लेखकहरूलाई आबध्द गर्ने । ई–लाइबेरी मार्फत विश्वभरि नेपाली साहित्यका पुस्तक राख्ने र प्रचार प्रसार गर्ने । यति गरेको खण्डमा नेपाली साहित्यको विकास र बिस्तार गर्न सकिन्छ ।
साहित्य मार्फत समाजसेवा गर्न सकिन्छ ?
सकिन्छ ! समाजलाई सकारात्कमक शन्देश दिने गीत कविता बनाएर विभिन्न माध्यमबाट प्रचार प्रसार गरि समाजलाई सही र उन्नत बाटोमा लैजान सकिन्छ । जनतालाई सिर्जना मार्फत सुसूचित र आब्हान गर्न सकिन्छ । गलज बाटोमा गएको सिङ्गो समाजलाई जनचेतना जगाई सहि बाटोमा ल्याउन सकिन्छ , यसर्थ साहित्य मार्फत सबैभन्दा प्रवाभकारी किसिमले समाजसेवा गर्न सकिन्छ ।
तपाईंलाई लेख्नै पर्ने कृति के लागेको छ ?
समाज परिवर्तन गर्नसक्ने पुस्तकहरु धेरै लेख्न मनलागेको छ । जस्तै समाजमा हाल सम्म विद्यमान छाउपढी प्रथा, बोक्सी प्रथा जस्ता कुकृत्य हटाउने खालका सिर्जना ,यसरी नै धनी र गरिब बीचको खाडल पुर्ने किसिमका सिर्जना र त्यसैगरि जातिय, भेगिय र वर्गिय असमानताका कुराहरूलाई लिएर समाज परिवर्तन गर्नसक्ने किसिमका सिर्जनाहरु र मेरो आफ्नै जीवनलाई आत्ममूल्यांकन गर्दै आत्मकथा लेख्न मन लागेको छ ।
अस्तु !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend