जन आकाश
कविता :
नदी
बनी नदी
भावहरूसँग
बग्दै
अग्ला यादका
पहाड
उक्लदै
सम्झनाका
सम्थरतालाई छिचोल्दै
पुग्नु छ
दूर कही
त्यो हृदयमा प्रदीप्त
मायाका
तरङ्गहरूसँग
एकाकार हुन //
सुसेल्दै
वसन्त बन्दना
तराईका
सिमसारदेखि
हिउँका
ती साेते
चुचुरासम्म
बनी वैशिष्ट
नदी
बाेकी
आत्मीय प्रेम
पुग्नु छ मलाई
हिउँजस्तै भई बसेकाे
मेरो आफ्नाे
त्यो हिम
मानवसम्म //
पल्टाउदै
विस्मृतिका पानालाई
बनी छाल
मृदुल नदीकाे
सुरम्य स्पर्शले
आह्लादित
गराउनु छ
ती आत्मीयताका
अक्षरलाई
जहाँ
जीवन कुरी बसेकाे
मेरो शब्द
चिन्मय आनन्दमा
झुम्ने छन्
नदीसँग
बनी
अगम्य छाल //
बाेकि समदर्शनका
सम्भावित लहर
बन्दै नदी
प्यासी
काकाकुल
मायाकाे वस्तीलाई
अनुपम
अद्वितीय
अपूर्व
मायाद्वारा
घनिभूत
भाव स्पर्शका
छिटाद्वारा
अभिशेक गराउनु छ //
बगाई नदी
अश्रुका
ती माेतीहरुबाट
उनी
विश्वासको धागाेमा
दिव्य
माधुर्य
प्रेमकाे माला
शीतल समीर
सुगन्धित पवनसँगै
आयतनरहित भई
विलीन हुनु छ
विशाल सागरमा
बनी
हृदय स्पन्दनकाे
प्रेमिल नदी //
पुनम घिमिरे
२०७७/१०/१
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend