logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कविता “मृत्युकाे खबर”


  • जन आकाश
  • बिहिबार, जेष्ठ २० २०७८

प्रेमा सङ्गम



मलाई अचेल खुब डर लाग्छ
विहान,दिउँसो अनि बेलुका
पत्रपत्रिकामा र समाचारमा
अनि
सामाजिक सञ्जालमा
बनमा लागेकाे डढेलाे जस्तै
मुत्युकाे खबर मात्र आइरहन्छ ।

भाेलिकाे सुन्दर विहानी भेट्न नपाउँदै
अन्धकार रातका काला कालकाेठरिमा
कयौं बालबालिकाहरु
कयौं युवायुवतीहरु
कयौं वृद्धा बृध्दहरु
आफ्नाे जीवन लिला
मृत्युको मुखमा पुर्‍याइरहेछन ।

दुर दराजकाे गाउँबाट
मन्द मन्द आवाजमा फाेन अाउदाखेरी
मेराे मुटु फुलेर आउछ
धड्कन बढेर आउछ
सास राेकिएर आउछ
पसिनाले शरिर निथ्रुक्क भिज्छ
कतै याे फाेनकाे घण्टीले पनि
मुत्युकाे सन्देश त ल्यायन ।
काेेरानाकाे डढेलाे यति फैलियाे
मान्छेसँग मान्छे डराउनु पर्ने
साच्चै सहयोग चाहिएको याे बेलामा
माया र सद्भाव आवश्यक पर्दा
झन नजिकिनु पर्ने समयमा
नदीका दुई किनारा जस्तै
जुन र घाम झै
मान्छेहरु टाढा टाढा हुनुपर्ने
याे कस्तो विवशता हाे ।
हिजाे सँगै भेटेर
हिजो सँगै बाेलेर छुटेका
भाेलि फेरि भेटाैला भनेर
न्यानाे स्पर्शले मिलाएकाे हातहरु
फेरि अर्को पटक मिलाउन नपाउदै
विहानकाे लालिकिरण सँगै
मृत्युको खबर बनेर आउछ,
अहँ
अलिकति पनि विश्वास लाग्दैन
यति चाँडै सम्बन्धहरु छुट्छन भनेर
याे जीवनकाे लामाे यात्रामा
महामारीले पुर्णविराम लगाउछ भनेर
कति पनि भर थिएन
तर
साँचाे स्विकार्न विवश बनायाे ।
अब त विगतका संझनाहरु
वितेका यादहरु
काेसेलीकाे रुपमा राखेर
मुत्युकाे खबर सुनिरहेछाै ।
कसैले सामाजिक सञ्जालमा
कुनै बधाईकै फाेटाे हाले पनि
मनमा चिसाे पसेर आउछ
नाै नारि गलेर आउछ
मृत्युको सिजन चलेको छ
कतै मृत्युको खबर त हाेइन ?
मलाई डर लाग्छ
अखबार र पत्रपत्रिकाहरु हेरिरहदा
ती अक्षरका खेतीहरुले पनि
मृत्युुकै चर्चा चलाइरहन्छन ।
त्यसैले
हरेक रात सपनीमा
मलाई मृत्यले ऐठन गर्छ
भाेलिकाे घामकाे किरणलाई
भेट्न पाउछु कि पाउदैन भनेर
काेहि आफन्त आराम छ कि छैन भनेर
नत्र
काेराेनाले लगेकाे साइला दाई झै
आफन्तले मुख हेर्न पाउदैनन्
घरपरिवार,साथीहरू र मलामी सबै
त्यहाँ केवल सैनिक हुनेछ ।
अब यसरी हुदैन
हामी मिलेर उठाै एक पटक
आत्माविश्वासकाे भाव बाेकेर
मानवताकाे चेतना बाेकेर
सहयोगकाे मशाल बाेकेर
विषम काेराेनासँग डटेर लड्न ।
यसरी मृ्त्युकाे खबर चलिरहेछ
सावधान बनेर उठाै
मृत्युकाे युध्द जीत्न
संसारका मानव एक बनाै
मानवता र धर्ती बचाउन ।।

प्रेमा संगम
दाेलखा,कालिन्चाेक
हाल काठमाडौ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend