जन आकाश
नेपालमा अहिले सबैभन्दा चर्चामा रहेको कविताको लघुविधा अन्तर्गत सुसेली विधा नै हो । सुसेली विधाले चर्चा परिचर्चा पाउनुको एउटा कारण हो , यसमा कविले सहज रूपमा आफ्नो भावना प्रस्तुत गर्न पाउँछ र मज्जाले गाउन सक्छ । आफ्नो पाखामा गुञ्जिने भाकालाई टपक्क टिपेर भाका हालेर गाएपछि त्यो सिर्जनाले सबैको मनमा वास पाउनुलाई कसैले रिस , डाह र ईर्ष्या गर्नुपर्ने कारण नै छैन् । तर अहिले सुसेली विधालाई आक्रमण गर्ने प्रयास केही साहित्यकारले गरिरहेका छन् र लेखिरहेका छन् । तिनीहरूले न पुराना शास्त्र पढेका छन् , न हाम्रा डाँडापाखामा गुञ्जने भाका राम्रोसँग सुनेका छन् । यदि सुनेका भए र पढेका भए थाहा पाउँथे सुसेली विधाको विरोध गर्नु आफ्नै विरोध गर्नु हो र आकाश तिर फर्केर थुकेको थुक आफ्नै अनुहारमा पर्नु सो सरह हो ।
सुसेली विधा नयाँ विधा हुँदै होइन । पहिले सुसेली मन्त्रको रूपमा गाइन्थ्यो , त्यसपछि गीतहरूमा सुसेली गाइयो र ती सबै कुराको अनुसन्धानपछि पत्ता लाग्यो उक्त अक्षर संरचनामा लेखिने कुरा आयातित साहित्यको विधा होइन , हाम्रै साहित्य हो । हाम्रा पुर्खाहरूले नै लेखेर आएका रहेछन् । हामीले मात्र यसलाई पढेर, सुनेर , काव्यको रसास्वादन गरेर पनि विधागत नामाकरण गर्न सकिरहेका रहेनछौ । नामाकरण देखिको इतिहास र नामाकरण गर्नु अगाडिको अनुसन्धान र अभ्यासका दस्तावेज पनि हामीसँग सुरक्षित छन् । चाहे रातो नेपाल अनलाइन हेर्नुहोस्, सहयात्रा टि.भी. हेर्नुहोस्, जनआकाश साप्ताहिक र कपन वानेश्वर साप्ताहिक,हिमाली सौगात द्वैमासिक आदि जहाँ हेरे पनि सुसेलीका कुरा थाहा पाउनुहुनेछ ।
सुसेली विधा त्यसै फस्टाएको छैन । सुसेली विधाका परिकल्पनाकार स्वयं ऋषिमुनीलाई मान्न सकिन्छ र यसलाई प्रचार प्रसार मन्त्रको माध्यमबाट पहिले र त्यसपछि विभिन्न भाकाहरूमा लोक गायकहरूले गरेका थिए । अहिलेको वर्तमान समयमा कविहरूले यसले अझ परिस्कृत रूप दिँदै आएका छन् । लक्ष्मीप्रसाद मिश्रले सारङ्गीको धुनसँगै गाएर होस् चाहे सुरेशचन्द्र घिमिरेले किवोडको सुरमा होस् सुसेली गाइरहनु भएको छ । यसैगरी हजारौं सर्जकले यसलाई लेख्ने र गाउँने अनवरत प्रयास गरिरहनु भएको छ । नेपालमा मात्र नभई नेपाल बाहिर भारतमा पनि सुसेली लेख्ने र गाउने सर्जकको उल्लेखनीय सहभागिता रहेको कुरा पछिल्ला हिमाली सौगातका अङ्कहरू अध्ययन गर्दा थाहा पाइन्छ ।
दुर्गा भमरकोटेको लोकगीतभित्र सुसेलीको अनुसन्धान होस् वा तिलक लुईटेलको वैदिक साहित्यभित्र सुसेलीको अन्वेषण होस् । चाहे डा. जितालीको नेपाली भाकामा सुसेलीको प्रयोगको खोजी होस् , तेजप्रकाश बानियाँको सुसेलीको अर्थ र परिभाषामा होस् वा अझ माथि उठेर भन्नुपर्दा डा. शैलेन्दुप्रकाश नेपालको सुसेलीको अक्षर संरचनाको महत्वमा प्रस्टाइएको अर्थ र विश्लेषण होस् । यी सबैले सुसेली हाम्रो पुर्खा देखिनै चलिआएको विधामा कुनै दुविधा छैन् ।
यहाँ डा. नेपालले दिनु भएको सुसेलीको अक्षर संरचनाको महत्व प्रस्तुत गरिन्छ
पाँच अक्षर . पञ्चतत्व
सात अक्षर . सप्तऋषि वा इन्द्रेणी
पाँच अक्षर . पञ्चामृत वा पञ्चकन्या ।
यसरी हजारौं सर्जकहरू क्रियाशील वा साधनारत विधालाई एक जना विदेशी सामानलाई र विदेशी नामलाई वा अझ भन्नुपर्दा आयातित विधाको प्रचार प्रसार गर्ने झोले मनस्थितिका साहित्यकारहरूले यसरी लेखेछन् , चाहे छेक्काको नाममा होस्, चाहे अनुप्रास मिलाउने नाममा होस्, या त बाछिटा वा सुसेलीको नाममा नै किन नहोस् कुनै पनि विधाको सिद्धान्त हाइकुको भन्दा भिन्न पाइँदैन ।
साउनमा आँखा फुटेको गोरूले पराललाई हरियो देखे जस्तो पहिले मन्त्रको रूपमा आराधना गरेको विधालाई, त्यसपछि लोकगीतको रूपमा डाँडापाखामा गुञ्जिएको विधालाई , नेपालमा भित्रिएको ५० वर्ष जति भएको विधासँग तुलना गरेछन् । यतिमात्र नभई हामीले सधैं आदरणीय मानेका गुरूहरूलाई पनि यसरी गाली गरेछन् ,हालका दिनमा विद्वान भनिएका डा. उपाधि लिनेहरूबाटै पनि हाइकु विधामाथि तथानाम आक्रमण हुनुले यसको चिरहरण भएको अनुभुत गर्न सकिन्छ ।
लेखकले जापानको कुन विश्वविद्यालयबाट हाइकुमा विधावारिधि गरेका हुन् खुलाएन् । तर आफ्नो संस्कृति अरूको हो भन्ने देश बेचुवा नेताको जस्तो मनस्थितिका कारण आज नेपाली साहित्यमा केही खोज गरौ भन्नेहरूले गाली खानु वास्तवमा नेपाली साहित्यप्रेमीको निमित्त दुखद् कुरा हो । यस्ता पाखण्डी र मूर्ख तर्कको पछाडि नलागी हामीले अग्रज गुरूको मार्गदर्शनमा सुसेली विधालाई अझ शक्तिशाली विधाको रूपमा अगाडि बडाअयौं र विभिन्न ठाउँमा सुसेली विधाको विकास र विस्तारको निमित्त संघ संस्थाहरू निर्माण गरौ । सुसेली विधा प्राचीन काल देखि हाल समेत भएको हुँदा यश विधामा कुनै पनि व्यक्तिलाई देवत्वकरण गर्न आवश्यक छैन । यो परापूर्वकाल देखि हाम्रो विधा थियो र रहिरहनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend