logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अमर कार्की बाल्यकालको सम्झना यसरी गर्छन्


  • जन आकाश
  • शनिबार, साउन २३ २०७८

सम्पूर्ण गुरु हरुमा नमन गर्दै



पुराना पुस्तक
हिजो आफ्नो अफिस कोठाको सरसफाई गर्ने क्रममा आफुले पढेका यि महंगा पुस्तकहरु फ्याक्दै गर्दा म एक क्षण भाबुक भए ।

मलाई भाबुक मुद्रामा देखेर मेरो गोरा सहयोगीले के भयो अमर भनेर सोधे। मैले मलाई बाल्यकालको याद आयो भने पछि उनले मेरो काहानी सुन्नलाई उत्सुकता देखाए। मैले भन्दै गए “करिब ४० बर्ष अघि हामी स्कूल पढ्दा पाठ्य पुस्तकहरु पाउन गाह्रो थियो। त्यसमाथि पनि नया पुस्तक किन्न त अझै कठिन। जब जब शैक्षिक सत्रको अन्त्य तिर आइन्थ्यो तब हाम्रो ध्यान आफु भन्दा एक कक्षा माथि पढ्ने को को छन् भनेर खोज तलाश गर्न तिर जान्थ्यो। ति आफुले चिनेको वा आफ्नै गाउको बिद्यार्थी भएमा अझै राम्रो। कारण थियो आर्को बर्षको लागि उनीहरुको पुरानो पुस्तक आफ्नो लागि आरक्षित गर्नु। आफु अरु भन्दा ढिलो भैयो भने त अरुले नै पहिले सुइकाउने हुनाले अलि अघि देखि योजना बनाई राख्नु पर्ने

 

 

फेरि परीक्षामा पास हुने खालको बिध्यार्थी नि खोज्नु पर्यो। उ आफै गुल्टियो भने त त्यसको पुस्तक आफुले पाउने कुरै भएन। त्यसैले अन्तिम परीक्षाको दिन तिर आए पछि गोजीमा अलि अलि सुको दाम हुनु पनि जरुरि हुन्थ्यो किताबवालालाई घुस खुवाउन। घुस भन्दा राम्रो सुनिएन।

आइसक्रिम, कार्कोको चिरो, बदाम वा यसो एक प्लेट चना खुवाउन भनम न। आफ्नै घरमा आफु भन्दा माथिल्लो कक्षामा पढ्ने दाजु दिदीहरु हुनेलाई त ढुक्क भै गो। यसरी अरुको जड्यौली किताब लिएर पढ्दा समस्या पनि कम्ता हुन्थेन्।

कहिले किताबको कुनै पाना नै गायब हुन्थे भने कतै पाठकले आफ्नो नोट लेखेर किताबका अक्षर नै नबुझिने हुन्थ्यो। कुनै किताब आफुले नचिनेको मान्छेबाट प्राप्त भएको छ भने किताब दाताको नाम थाहा पाउन किताबका पुरै पानाहरु पल्टाउदा नि हम्मे हम्मे पर्थ्यो। “मेरो नाम थाह पाउने भए पेज नम्बर २० मा हेर” भनेको हुन्छ। त्यो पेजमा पुगे पछि “ए ला १० नम्बर पेजमा पो हो त सरी है।” त्यहाँ त पक्का होला भनेर थुक लाई लाई छिटो छिटो पल्टायो फेरि त्यहाँ लेखेको हुन्थ्यो “ला यहाँ पनि लेख्न बिर्से छु। सरी है पेज न ७ मा त पक्का छ।” तर त्यहाँ पनि हुन्नथ्यो।

सरी चाहिँ भनेकै हुन्थ्यो है। हुन त हामीले त्यतिबेला बोल्न जान्ने भनेको अङ्ग्रेजी केबल सरी (Sorry) र माइ किम सर (May I come in sir?) मात्रै त हो। भूतपूर्व पुस्तक धनि को थुक कटकट्टिएको पानामा फेरि आफुले चोरी औलामा थुक लगाइ लगाइ भाग दौड गरे पछि बल्ल उसको नाम थाहा पाउदा कोलम्बसले अमेरिका पत्ता लगाए जस्तै गर्ब लाग्थ्यो। अहिले भए कोरना पक्का सर्थ्यो होला।
दिदीहरुको किताब पायो भने चाहिँ पानाका बिच बिचमा मयुरका प्वाँख जस्ता राम्रा चिजहरु पनि भेटिन्थे। त्यो चाहिँ भाग्यमानीले मात्र। पुराना पुस्तक भए पनि पुरानो सालको भित्ते पात्रोको चिल्ला पानाहरु च्यातेर जिल्ला वा गाता वा खोल हालेर चिटिक्क पारे पछि तिन्लाई सुमसुमाइ रहन मन लाग्थ्यो। मिलाएर गाता हाल्ने पनि एउटा कला थियो। जे भए पनि म आफुमा त्यो कला भएकोले साथीहरुबाट अनुरोध आउथ्यो।

खासगरी केटिहरु बाट। केटाहरु चाहिँ बरु गन्ठ्याङ मन्ठ्यङ्ग भए पनि आफै हाल्थे तर मलाई भाउ दिदैन थे।
यसरी कट्थे मिनपचासका शुरुका दिनहरु। आज भोली नि होला त यस्ता चलन? ”
म सम्झनामा बहकिरहेको थिए उनी अबाक भएर मेरो कथा सुनिरहेका थिए।

गुरु पुर्णिमा

हातमा सिलोट र चक लिई क ख पढाउनेलाई
लठ्ठी देखाइ कान समाइ पाठ घोकाउनेलाई
आफ्नै काखमा कम्पुटर र मुसा खेलाउनेलाई
आजकल पावर प्वाइन्टमा पाठ पढाउनेलाई
स्कुल देखी कलेजका सबै आए सम्म याद
सम्पुर्ण गुरुहरुलाई गर्छु नमन अनी धन्यबाद!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend