logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विगतको तीज र अहिलेको भिन्नता, रेजु पोखे्रल साहित्यकार


  • जन आकाश
  • शुक्रबार, भाद्र २५ २०७८

 



नाम ः रेजु पोखरेल
ठेगाना ः बूढानीलकण्ठ, शब्दसंसार परिवार

कार्यालयमा आफ्नै काममा व्यस्त थिएँ । अनायसै आँखा अगाडिको क्यालेण्डरमा पुग्यो । ओहो तीज पनि आइसकेछ । पर्सि त दरखाने दिन । सोच्दै थिएँ, पूर्खाले यहि चाडपर्व परम्परा सबैको तासम्य मिलाएकाले त अहिले हामीले यो एकोहोरो जीवनबाट केही समय भए पनि फूर्सद पाएर भगवानको सानिध्यमा रही उहाँको आराधना गर्ने मौका पाएका छौ । सायद पार्वतीले पनि यसै कारण आफ्नो मनोकांक्षा पूरा गर्न एकान्तमा गई गुफामा बसेर ध्यान गरेकी थिइन् ।

दैनिक कामबाट केही समय भए पनि छुटकारा मिल्ने भएकाले मन एक किसिमले हल्का भयो । आफ्ना दिदी बहिनी आमा भाउजु साथीसँगी सबै सँग भेट गर्ने अवसर नै हो यो । सामाजिक प्राणी भएकोले समाजमा घुलमिल गर्दै रमाउँदै नगरे जीवन त आनन्दमय बन्न सकिदैन । समाज बिनाको जीवन त असंंभव जस्तै लाग्छ । यसैले यस्ता चाडपर्व दर खाने, तीज पंचमी, जस्ता पर्वले मानिसको जीवनमा निक्कै ठूलो भूमिका खेलेको छ । बिछडिएका आत्मियजनको भेटघाट, भावना साटासाट गर्ने अवसर हो यो । मनमा यस्तै कुरा खेल्दै थियो । कार्यालयमा सँगै काम गर्ने अर्कि साथी आएर– “दर मजाले खानु होला शुभकामना है म्याडम ।” भन्दै चुरा पोते उपहार दिएर जानुभयो । यसरी कार्यालयमा माहोलै रमाइलो हुन थाल्यो । भोलि सबै महिला दिदीबहिनीलाई दर खुवाउने भन्दै । “कार्यालयको सूचना पाटीमा सूचना पनि राखिएको छ” भन्दै –अर्कि महिला भित्र खबर लिएर आउनु भयो ।

हामी सबै कर्मचारीहरु खाजा खान क्यान्टिनतिर लाग्यौँ । त्यहाँ सबै शिक्षक कर्मचारीहरुको तीज, दरखाने दिनको लागि शुभकामना आदान प्रदान सुरु भयो । यसरी सबै विद्यार्थी भाइबहिनीहरुका साथै भेट भए जति सबैसँग शुभकामना आदान प्रदान गरेर आनन्दित मनले घर फर्कियौँ ।

घर फर्किँदै गर्दा बाटाभरि आफू केटाकेटी छँदा दर खाएर तिज मनाएका कुराहरु मानस प्रटलमा आउन थाले । दिदीले भाउजुले राम्रा राम्रा चुरा किनिदिएका अनि लुगा ल्याइदिएको । आमा उस्तै दङ्ग परेर दर खाने तयारीमा लाग्नु भएको । भोलि त दिदी पनि आउँछे भन्दै खुसी हुनुभएको । दिदीले मिठो मिठो खानेकुरा लिएर आउँछे । ढकनी पकाउनुपर्छ । रातो चुरा पोते धागो अनि रातो सारी लगाएर सबै मिलेर नाचगान गर्नु पर्छ भन्नु हुन्थ्यो आमा–दङ्ग पर्दै ।

छोरीहरुसँग बसेर रमाई रमाई गफ गर्न पाइने भयो भन्ने कुराले आमाको मुहारमा छचल्किएको देखिन्थ्यो । दिदीको आगमनको प्रतिक्षा ले मात्र पनि दङग पर्दै बाटामा आँखा बिछ्यइन्थ्यौ । मनभित्रैबाट खुसी भइन्थ्यो, मनै प्रसन्न हुन्थ्यो । दिदी पनि आफ्नो घरको सब तारतम्य मिलाएर दर खाने दिन आइपुग्नु हुन्थ्यो । अनि लौ सब मिलेर दर पकाउने है भन्दै आमा हामीलाई भान्छातिरै बोलाउनु हुन्थ्यो । दर खाने दिन ब्रत बस्ने अघिल्लो दिन भएकाले शाकाहारी भोजन पाक्थ्यो । ब्रत बसेको दिन हल्का रहन अघिल्लो दिन सादा अनि साकाहारी भोजन नै लिनुपर्छ भन्नु हुन्थ्यो । लसुन प्याज पनि चलाइदैन थ्यो । यसो गरे मन हल्का शरीर हल्का हुन्छ । अनि भगवानमा ध्यान लाग्छ भनेर सिकाउनु हुन्थ्यो । भाउजुहरु पनि हामीलाई दर भन्दै चुरा पोते उपहार दिएर माइत जानु हुन्थ्यो । यसरी छोरी माइत आउने बुहारी जाने कति राम्रो चलन ।

वर्ष दिन भरिका आफ्ना मनका भावनाहरु साटासाट गर्दै माइतमा आनन्दित मनले मनका भारी बिसाएर मानसिक सान्ती पाउने पर्व हो यो । यो पर्व नहुँदो हो त महिला दिदी बहिनीले आफ्ना माइतमा गई रमाउने अवसर पाउन पनि कत्तिलाइ त मुस्किलै पर्छ ।
तर अहिले आएर पर्वलाई तोडमोड पार्दै एक महिना अघि देखिनै दर खाने भन्दै आफूसँग भई नभई देखावटीका लागि समाजमा हिड्नुपर्ने बाध्यता जस्तो पनि हुँदै आएको छ । दर खाने भनेको तिजको जस्तो पनि हुँदै आएको छ । दर खाने भनेको तिजको अघिल्लो दिन आफ्नै घर माइतमा आमा दिदीबहिनी भाउजु बुहारी सँगै बसी पकाउने खाने, आफ्ना भावना साटासाट गर्ने मनका बह पोख्ने गर्थे । भजन, किर्तनमा रमाउँदै दर खाँदै खुसि हुन्थे ।

यसरी साँझ खाना खाएर रमाइलो गर्दै बेलुका दस बजेतिर दर विशेष मीठा मीठा खानेकुरा खाने । भोलिपल्टको निराहार ब्रतको कारण आडिलो खाना खानुपर्छ भन्नु हुन्थ्यो आमा, अनि सुत्ने बेलामा दूधमा मिश्री हालेर धेरै बेर उमालेको दुध पिएर सुत्थ्यौँ । यसरी आफ्नै घरमा रमाई रमाई दर खाने चलन सम्झिन्छु । त्यसरीनै दर खाइन्थ्यो ।

दिदी बहिनीको अनुभवका साथै सुख दुःखका कुराले मलाई भावुक बनाउथ्यो । म ध्यान दिएर उहाँहरुका कुराहरु सुन्थे । भोलिपल्ट नुहाई धुवाई गरी रातो टिका चुरा पोते अनि राता लुगा लगाएर हामी मन्दिर जान्थ्यौँ । भगवान लाई पाउन सुहद मनले भगवानमा मन लगाएर ध्यान गर्नुपर्छ । आमा भन्नु हुन्थ्यो । आमालाई सधै खुसी देख्थे । म भगवान प्रति पूर्ण समर्पित हुनुहुन्थ्यो । आफूसँग सधै खुसी देख्थे । म भगवान प्रति पूर्ण समर्पित हुनुहुन्थ्यो । आफूसँग जे जति छ त्यसैमा खुसी । सानो कुराले पनि दिन्छ भन्दै आमाले बिश्वस्त पार्नु हुन्थ्यो आमा । साँझ पाँच बजेपछि सबैको छुट्टैछुट्टै दियोमा मिलेर आ–आफ्नो दियो बालेर पूजा सुरु ग¥थ्यौँ । “नसक्नेले काँडा पानी दूध फलफूल खाओ–भन्दै आफू चाहि नखाइ बस्नु हुन्थ्यो ।

यसरी आनन्दमय तरिकाले दर खाई तीज मनाउने परम्परालाई तोडमोड गरेर पार्टी प्यालेसमा दर खाने भइ नभइ तडक भडक गर्दै मनाएको देख्दा अलि नमज्जा लाग्छ । बाहिरी श्रृङ्गार गर गहना अनि क्षणिक देखावटी बन्दै गएको यो समाजमा भावनात्मक सम्बन्ध पनि त्यति सुमधुर नभई बाध्यता बन्न जाँदा मन प्रफुल्ल अनि प्रसन्न हुन अलि कम हुँदै गएको अनुभव धेरैबाट सुन्नुमा आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend