जन आकाश
शीर्षक –निस्तब्ध दशैं
विश्व अस्पृश्य
कोरोनाको डडेलोले
भित्रभित्रै सल्किएको छ
यतिखेर!
जीवन मरणको लडाइँ
उत्कर्षमा पुगेको छ
पौठेजोरी खेल्दै।
सारा विश्व
परितापमा डुबेको बेला !
यो हृदय
शून्य शून्य भएको बेला!
जवरजस्ती जस्केलोबाट
चियाउँदै छ दशैं।
पुस्तौदेखि
वर्षैपिच्छे,
नौलो रौनक बोकेर
आउँने दशैं ,
विना रौनक आएको छ!
यो वर्ष ।
प्रकृतिले
आफ्नो धर्म
नछोडे पनि
किन किन
फिक्का फिक्का लाग्दैछ,
प्रकृतिका उपहारहरू।
फुलेका छैनन्
बारीको डिलमा,
सयपत्री र मखमली फूल!
टारीफाँट र गैरीखेतमा,
झुलेको छैन मार्सी धान।
पाकेको छैन
लटरम्म बेलौती!
गुन्टामा खुशी पोको पारेर
फर्केको छैन परदेशी।
आमै!सन्चै छ भन्दै,
खुइय सुस्केरा हाल्दै
उक्लेको छैन
आँगनको गौंडो।
लागेको छैन
धुरीमा कलिलो घाम।
साँझ जूनले टेक्दैन आँगनीमा!
राति निर्धक्क
निदाएका छैनन् ताराहरू।
एका विहानै
धुरीमा कराउँछ
कालो काग।
आँगनमा आउँन
छोडेका छन्
परेवाका बथानहरू।
गाउँन छोडेका छन्
शान्तिको गीत,
परेवाहरूले।
त्यसैले,
पोत्न मन छैन
रातो माटो र कमेरोले घर,
राख्न मन छैन जमरा,
मुछ्न मन छैन
दहीमा रातो अक्षता।
बाँध्न मन छैन
आँगनको डिलमा,
घोर्ले खसी।
खेल्न रहर छैन
रोटे र लिङ्गे पिङ।
छाएकै छैन
मनमा खुशी!
आएकै छैन
मनमा दशैं।
कसरी खुशी हुन सक्छु म,
विश्व परितापमा
डुबेको बेला!
कसरी मान्न सक्छु
म खुशीले दशैं!
वासुदेव ठकुरी
शिवपुरी, नुवाकोट ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend