logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कथा


  • जन आकाश
  • सोमबार, माघ १७ २०७८

 



शिर्षकस् श्रीमती चिठ्ठा

आइ लभ यु !
भनेको पनि त्यत्ति हो। मरिजाउ त्यो भन्दा एक शब्द बढि बोलेको भए। त्यति जाबो तिनवटा शब्दको लागि त्यत्रो बखडा निकाल्नु पर्थ्यो त माहाभारत नै मच्चाउनु पर्थ्यो त भन्या। मलाई गहुँ बारीबाट खेद्नु हुन्थ्यो तिमीलेरु हेर त्यो टुकुचा साहुले उसको गहुँ ध्वस्त पार्यो भनेर मलाई एक महिना पछि पनि हर्जना तिरायो। त्यसले गर्दा मेरा कति रात झिमिक्क नगरी कटे। पेटमा अन्नका गेडा परेनन्। तिमीले घरमा बस्न खान बस्न दिएको भए पो खाने सुत्ने कुरा हुन्थ्यो। स्याल जस्तो गहुँ बारी र काँडाघारी लुकेर बिते कयौं दिन र रातहरु। के म स्याल हो ? त्यति गर्दा नि एक दिन त भेटेर थला पर्ने गरि चुट्यौ है तिमीले मलाई ! पिट्दा पिट्दा आफै थाकेर छोडेका रे भन्थिन मेरी आमाले। तिन दिन पछि होस आउदा त जिउ दुखेर छुनै नहुने। झन्डै मारेको। तिमी यमराज हो ? आफ्नै श्रीमतीलाई आइ लभ यु भन्दा नि त्यस्तो सजाय दिने ठाउँमा कसरी बस्नु भनेर हिडेको म। अहिले पनि उ त्यो लेकमा हिउँ पर्ना साथ बायाँ तिरका करङ कर कर खान्छ। अनि सम्झी सम्झी मन दुख्छ। मन दुखे पछि एक दुइ प्याग लाउन मन लाग्छ।

यसो भन्दै उ फेरि एक गिलास स्वाट्ट पार्छ र गिलास टेबलमा बजार्छ। सँगै उभिएको उसको जेठान ङिच्च बत्तिसा देखाउदै भन्छ के गर्नु त ज्वाइँ, त्यतिबेला हजुर हाम्रो कोही न कोही ? बहिनीको माया लागेर नि।

उसलाई झनै पारो चढ्छ। एक प्याग आर्को चढाउछ र भन्छ अनि के त यो डि भि पर्ने बित्तिकै म ज्वाइँ बन्न योग्य भए ? तिम्लाई बहिनी प्यारो थियो कि मलाई परेको डि भी जेठान ? जबाफ चाहियो ।

सरिताले तिमीलाई लाग्यो अब ल हिड सुत्न बुढा भन्छे र घिच्याउदै कोठातिर लान्छे रमेसलाई।

टेनिसी राज्यको नक्सभिल अबस्थित रमेस र सरिताको घरमा हरेक पटकको जमघट हुँदा यो दृश्य दोहरिन्थ्यो। तर आज सरिताले त्यसो गरिन। उसले रमेसले ओकली रहेको आगोमा घिउ थपी हो नि त हजुरले त्यस्तो अत्याचार गर्नु हुन्थ्यो मेरो बुढालाई ?

मलाई चाहिँ खास कुरो के होला भन्ने खस खस भैराख्दथ्यो। तर सोध्ने आँट कहिले गरिन। आज सरिताको हातमा पनि वाइनको ग्लास देखेपछि मलाई लाग्यो यिनका कुरा थुत्ने मौका यही हो। हैन सरिता रमेसले भनेको कुरा साँच्चै हो र भन्या ? मैले आफ्नो उकुसमुकुस फुकाए।

सधै खिस्स हासेर टार्ने सरिताले आज रमेसको हात आफ्नो हातमा राख्दै भाबुक भएर कुरोको चुरो यसरी खोली एउटै गाउँमा जन्मि हुर्केको हामी। म अलि हुने खाने परिवारको छोरी तर उ गरिबको छोरो। म पक्की घरमा बस्ने तर उ खरको छानो मुनी। तैपनि आँट गरेर २० बर्ष अघि उसले मलाई आइ लभ यु भनेको थियो। यो खबर खरको छानो भएका माटाका घरहरुमा धुवाँको मुस्लो झै फैलियो र मेरो घरको झिङ्गटिको छानोलाई छेडेर भित्रै पस्यो। धुवाँ भएर पस्यो तर त्यो आगोको ज्वाला भएर निस्कियो मेरो घरबाट। अनि त्यहि भयो जे जे उसले अघि बेहोसीमा भनेको थियो।

मैले पुलुक्क उसको दाजु तिर हेरे। पोल्न हालेको कुखुराको साप्रालाई चिम्टाले ओल्टाउदै पल्टाउदै बिरेन्द्रले भन्यो के गर्ने त अब तेरै हितको लागि त हो नी त्यो सबै गर्नु परेको।

एक क्षण मौनता छायो त्यहाँ तर मेरो कौतुहलता भने झनै बढेर आयो। अनि कसरी भो त बिहे ? मैले नै कोट्ट्याए फेरि।
ूएक दिन मरै केटोले रमेसलाई डि भि परेको खबर लेरायो। मान्छे राम्रै हुन् अब अमेरिका गए पछि त बहिनीको नि भाग्य खुल्छ भनेर बिहे गर्छौ त हाम्रो बहिनी सँग भनेर सोधे। उनले हुन्छ भने पछि आफैले सबै खर्च लाएर बिहे गरिदियौ। यति भनेर बिरेन्द्र चुप भयो। यतिबेला भने उसको अनुहार पाकेको गोलभिँडा झै रातो भयो।

त्यो २० बर्ष अघिको घटना थियो तर उनीहरु डि भि परेर यता आएको त बल्ल दस बर्ष भएको थियो। मलाई भने के नमिले के नमिले जस्तो लागेर प्याच्च सोधिहाले ूआइ लभ यु भनेको दस बर्ष पछि को हो बिहे कान्ड ?

बिरेन्द्र त बोलेन तर सरिताले अलि ब्यङ्ग गरे झै बोली ूहैन त्यही बर्ष नै हो जबरजस्ती उसलाई भिराइदिएको म। अहिले लाज लाग्यो होला नि दाइलाई ?

म भित्र जान्छु है भनेर बिरेन्द्र तर्कियो। तर सरिताले कुरा खोल्दै गई।

जसरी आइ लभ यु भनेको कुरा धुवाँ झै फैलेको थियो त्यसैगरी चिठ्ठा परेको समाचार पनि एक कान दुइ कान हुदै सरिताको बाउको कान भै गो उत्निखेरै। त्यसपछि उनले छोरालाई आदेश दिइ हाले। बिरेन्द्र सोध्नु न खोज्नु पुगि हाल्यो बहिनीलाई अमेरिका पठाउन।

हुनेवाला जेठानले एक्कसी घरमै आएर ूए रमेस चिठ्ठा पर्यो भनेको हैन तलाई ? अब आइ लभ यु भनि हालिस ल सरितालाई पनि लैजा सँगै हुरुरुरु उतै बिहे गरेर भनेर थर्काए पछि रमेस झस्कियो। यो कंसले नि थाहा पाएछ मलाई चिठ्ठा परेको तर अस्ती मात्र करङ भाच्ने गरि गोद्नेले आज यसरी जबरजस्ती बहिनी भिडाउन लागेको भने उसले बुझेन। यसरी चैते हुरी झै अचानक आएको बिहेको प्रस्ताबमा पक्कै केही खुराफाती छ भन्ने लागे पनि डरले उसको बोली फुटेन। यो चैतमा नि बिहे हुन्छ र बिर दाइ ? उसले थरथराउदै भन्यो। अहिले नै बाजा बजाउने हैन्। कागज चाहिने त हो। यसो गरम पर्सी गएर गा बि स बाट सिफारिस लिउँ अनि सोमबार जिल्ला कार्यलय गएर बिहे दर्ता गराउँ। अब यो जग्गे घुम्ने र गाउँलेलाई भत्तेर खुवाउने काम त बैसाखमा गरौला नि।ू दाजुले सबै योजना बताए। रमेसले आफ्नो आमा र काकाहरु सँग सल्लाह गर्नु पर्छ भन्दा दाइले चिप्लो घसे ूहे लाटा यो सबै गुपचुप गर्नु पर्छ। तेरो काकाहरुले सुइको पाए भने त भाड्छन्।

ति त डाहाले जल्छन नि। अस्तिनै त्यो तेरो टारी खेत झन्डै ख्वापलाक्क पार्न लाको बिर्सिस ? हाम्रा बाले मालपोतको हाकिमलाई नभन्देको भए भोकै मर्थिस त हो कि हैन भन त ? अहिले आमालाई नि नभन। काम सके पछि सबैलाई थाहा भै हाल्छ नि। खसिको मासुको झोल र भात टपरीमा परे पछि सब दङ्ग हुन्छन।

फकाएको हो कि धम्काएको हो नबुझे पनि हातमा आको माछो फुत्काउन मन लागेन रमेसलाई। उ लोभियो। घुटुक्क थुक निल्यो र हस भनेर हुनेवाला जेठानको पछि लाग्यो।

सरिताले त राम्रो सँग कुरो बुझेको पनि थिइन। घरका सबैले अमेरिकामा उसको चम्किन लागेको भाग्यको बखान गर्दै दाजु सँग जान सल्लाह दिए। लभै नपरे पनि मन त पर्थ्यो यो काले केटो उसलाई। चिची पनि पापा पनि मिल्ने सपना देख्दै उ दाजुको पछि लागी। हाकिमको अगाडि रमेस र सरिताले दाजुको हो मा हो मिलाए। उनीहरुले भनेको कागजमा ल्याप्चे ठोके र सहीछाप पनि गरे। बिरेन्द्र र उसकै धुपौरेहरु साछी भए। त्यति भए पछि ग्रीन कार्ड नै दिए झै बिहेको प्रमाणपत्र बहिनी ज्वाइँको हातमा राखिदिए दाजुले। यो कुरा अहिले नभन्नु है कसैलाई भनेर दाइले किटाएकोले उनीहरु दुबै चुप थिए। तै पनि रमेसले हिम्मत गरेर दाइ अब त हामी लोग्ने स्वास्नी भैसक्यौ मेरै घर लिएर जान्छु है सरितालाईू भन्यो। सरिता पनि खुशि भई र उत्सुक पनि। उसले पनि उतै जाने मनसाय देखाए पछि उसका बाउ आमाले ठिकै छ नि त मोही माग्नु ढुङ्रो किन लुकाउनु अब आफ्नो काम बनिगो भनेर स्विकृति दिए। त्यसपछि उनीहरुलाई रमेसको घर सम्म पुर्याउन जाँदा चिया पसलमा गफ चुटिरहेका बेगारी देखि चौतारामा भारी बिसाएर सुस्ताएका भरिया र बारीका डल्ला फुटाइरहेका खेतालाहरु सम्म सबैलाई उनीहरु लोग्ने स्वास्नी भएको खबर सुनाउदै हिडे बिरेन्द्र। सबै गाउँले चकित भएर मुख बाइ रहे भने रमेसको आमा त झन्डै बेहोस भाकी थिइन। खै के खै के भन्दै भित्र्याइन आफ्नो घरमा सरितालाई बुहारी मानेर। रमेसको घरमा निकै बेर मान्छेको भिड भाड भयो। कसैलाई बोल्ने फुर्सद थिएन।
कोठामा सुत्न जाने बेलामा ए बाबु तेरो त्यो चिठ्ठा बाट खबर आको थ्यो है भनिन आमाले। म भोली जान्छु आमा, सुत्नु अहिले भनेर ढोका ढप्कायो उसले।

भोली पल्ट सरिता त चाडै उठेर सासुलाई भान्चामा सघाउन गई। रमेस ढिलो उठेर चिया पनि नखाइल आमा म टिभी लिन गए है भनेर हिड्यो। सरिताले सासुलाई हैन आमा के नयाँ टिभी किन्न गाको उ भनेर सोधी। उनले हैन त्यही चिठ्ठामा परेको टिभी लिन आउनु है भनेर खबर आको थियो त्यै लिन गाको होला नी भनिन्। हैन के भन्छिन यि बुढिया उ अलि अलमल्ल परी। के टिभी चिठ्ठा पनि परेको थियो र आमा भनेर सोधी। हो नि त ल यत्रो गाउँ भरी हल्ला भै सक्यो तिमीले थाहा पाइनौ र ? उनको यो अन्तिम बाक्यले सरिताको टाउको रिङ्गायो। अब उसले मुख नखोली धरै पाइन हैन आमा उसलाई त डि भि परेको हैन र ? उसको कुरा नबुझेर उनले भनिनके हो त्यो डि भि भनेको ?

पहिलो पुरस्कार नै टिभी हो क्यारे। उनले यती भन्दा नभन्दै सरिता रिङटा लागेर भुइँमा ढलि सकेको थिई। बिउझदा रमेस र सासु दुबै उसका अगाडि थिए। यसो टाउको उठाएर हेरी। एउटा नयाँ टिभीको बक्सा खाट माथी थियो। उ एकोहोरो त्यो टिभी हेर्दै भित्र भित्रै कोक्किई तर बाहिर फिस्स हासी। रमेसले सोच्यो उ टिभी देखेर खुशी भई। उ पनि हास्यो र भन्यो ल जाऊँ हिड यो टिभी देखाउन तिमी र म तिम्रो माइती।

उसले झ्वाट्ट माइती सम्झी। रमेसलाई अमेरिकाको डि भी चिठ्ठा पर्यो भनेर यो सबै तिकडम गरेर हुरी जस्तै लोग्ने स्वास्नीमा दर्ता गराएको र गाउभरी ढोल फिजाएको दृष्य झलझली आयो आँखामा। फेरि दाजुलाई सम्झी। लाटो खान्छ एक बल्ड्याङ बाठो खान्छ दस बल्ड्याङ भन्ने उखान याद आयो। तर जब केहि महिना अघिको आइ लभ यु कान्ड सम्झी मनमा एउटा सन्त्रास छायो। अब रमेसलाई मार्छन भनेर चिसो पस्यो उसको मनमा। रमेसको माया लाग्यो। उसले भनी माइती होइन हिड हामी काठमाडौं जाऊँ। आफ्नो मितेनीले तेरो बुढालाई देखाउन लेराइज है भनेकी छ आजै अहिले जाऊँ भनेर जिद्दी गरी। रमेस पनि सरिता आत्तिएको देखेर अलमल्ल पर्यो र डरायो पनि। तर उसलाई जसो तसो मनाएर उनीहरु त्यही दिन काठमाडौं हानिए।

बाटोमा डि भी चिठ्ठाको बारेमा कुरा निकाले पनि रमेसलाई खास कुरो भनिन सरिताले। रमेसले आफुले पनि बर्षै पिच्छे डि भी भरेको तर आफुलाई कहिले नपरेको गुनासो गर्यो।तिमीलाई डि भि नपरे नि बिबी चिठ्ठा पर्यो भन्दै सबै कुरो बताई सरिताले। उसले जिब्रो काट्यो र मरी मरी हास्यो। ूत्यही त म चकित थिएँ। मलाई त कतै तिमीले कसैको पेट बोकी छ्यौ र मलाई फसाउन लाएकि भन्ने पनि लाग्यो तर ठिकै छ आफुलाई मन परेको मान्छे नै हो भनेर आँखा चिम्लिएर सहिछाप ठोके। मलाई त के खोज्छस कानो आँखो भै गो उसको कुरा सुनेर सरिताले नाकको फोरा फुराउदै ए मलाई त्यस्तो सोच्ने पापी भन्दै मुक्का हान्न थाली। तर तुरुन्तै दुबैको छाती भोली आउने तुफान सम्झेर ढक्क फुल्यो। त्यसपछि सरिताको माइती सँग दस बर्ष पछि साँच्चै न उनीहरुलाई डि भी परे पछि मात्र आवतजावत भयो।

सरिताको कथा सकिदा बेलुकीको ११ बजि सकेको थियो। म रमेसलाई श्रीमती चिठ्ठा परेको सम्झदै आफ्नो घरतिर लागे।

 

डा.अमर कार्की, फ्लोरिडा

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend