logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रेम होस त यस्तो


  • जन आकाश
  • आइतबार, फाल्गुन १ २०७८

प्रेम होस त यस्तो



केही अघि एक जोडी बा आमा एक अर्काको हात समाएर पार्कमा हिडी रहेको भेटेर मलाई रमाइलो लाग्यो। भाषा नबुझीने आते जातेहरुलाई हाइ, हेलो, ओला, निहाओ भन्दा भन्दा दिक्क लागेका बेला आफ्नै बोली बोल्ने मान्छे ट्वाक्क्राक भेटीदा देउता भेटिए जस्तै भो। धेरै बेरसम्म सार्है आत मर्ने गरी कुरा गर्यौ हामीले। प्रेम दिवसकै आसपासमा एका बिहानै बुढा बुढी यसरी पार्कमा त्यो पनि हातमा हात राखेर मेचमा म सँगै बसेको देखेर मैले उहाँहरुको लामो प्रेम सम्बन्धलाई नकोट्टाइ रहन सकिन।हसिला र फरासीला बाले हास्दै भन्नु भो “भाइ यो जिबनको ७ दसक लामो सहयात्रामा हामी दुइ बीच प्रेम त सधै नै थियो नत्र त आज तिमीले हामीलाई यसरी साथमा देख्ने नै थिएनौ। जवानीमा धेरैले प्रेम गरेका हुन्छन। त्यतीबेला अङ्कुरित प्रेमलाई हुर्काइ बढाइ जिबनभर निभाउनु महान कुरा हो। त्यसलाई नै सफल प्रेम भन्छु म। हामीले त प्रेम सम्बन्धको तीन वटा अबस्था भोगिसकेका छौं। पहिलो रहरको प्रेम, दोश्रो कर र डरको प्रेम अनि भरको प्रेम।

जब हामी पहीलो पटक एक अर्काको नाजिक भयौं हामी जवान थियौं, सपना देख्ने उमेर थियो। उनी सङ्ग बस्दाको कुरा छोड्नुस उनको ख्याल मात्र मनमा आउदा पनि मनै रोमान्चीत हुन्थ्यो। उनको रुप, बोली, गन्ध सबै मन पर्थ्यो। रीसाएको पनि मन पर्थ्यो। उनको गाली समेत सुनिरहन मन लाग्थ्यो। अरु त अरु उनको माइतीको कुकुर पनि मन पर्थ्यो। म त सपना पनि उनको खुशीकै लागि देख्थे। उनलाई मन पर्ने कुरा खाइन्थ्यो र लाइन्थ्यो। उ उनको नाकको त्यो मासको गेडा जत्रो कालो कोठीलाई म सौन्दर्यको प्रतिक मान्दथे। मेरो दारी जुङ्गाको उनी सधै तारीफ गर्थीन र कस्तो सुहाएको छ, कहीले नखौरनु है भन्थीन।“

बाको कुरा बिचैमा काटेर मैले उहाँको कुरा सुनेर मुसु हासी रहनु भएकी आमालाई सोधे “हो आमा हजुरलाई नी यस्तै भाको थियो त? “ आमाले अझै अली खुलेर हास्दै भन्नु भो “अब त्यती बेला हामी केटी मान्छेलाई अहिले जस्तो खुलेर मन लागेका कुरा भन्न र गर्न त कहाँ पाइन्थ्यो र बाबु। आफुलाई भेट्न मन लाग्थ्यो तर अनेक बाहाना बनाउनु पर्थ्यो घरबाट निस्केर जान। बिहे पछि पनि म माइत गएको बेलामा भेट्न आउनुस है भन्थे उहाँलाई तर ससुराली धेरै जानु भन्ने चलन थियो नी त।“ आमाको कुरालाई बिचमा काट्दै बाले भन्नु भो “कस्तो गार्हो भनेनी भेट्न मन लाग्ने तर घरमा आज मात्रै माइती गएकी श्रीमतीलाई भेट्न जान्छु भन्न पनि अप्ठेरो लाग्ने। अनी भरे अफिसको साथीकोमा काम छ ढिलो हुन्छ है भनेर म ससुराली तिर लाग्थे र अबेर घर फर्कन्थे।“
अनि आमा तीर हेर्दै बाले भन्नु भो “त्यो मेरो सर्टको कुरा नी भन्देउ न।“
मैले जिग्यासु पाराले आमा तिर हेरे।

आमाले सर्टको प्रसँग अघि बढाउदै भन्नु भो “ए उहाँलाई असाथ्यै सुहाउने एउटा सर्ट थियो। त्यसैले त्यो सर्ट अली पुरानो भए पनि मैले राखेको थिए। एक दिन उहाँको आमाले त्यो सर्ट हाम्रो घरमा हामीलाई काम दिदीको छोरालाई दिनु भएछ। मलाई चित्तै बुझेन अनि आर्को नयाँ सर्ट किनेर लेराएर उसलाई दिएर त्यो फिर्ता लिए।” मैले हास्दै सोधे “लौ के भनेर फिर्ता माग्नु भो त ?” उहाँ पनि मज्जाले हास्नु भो “ए हैन त्यो सर्ट त थोत्रो भैसक्यो बाबु लेउ म मेरो माइतीमा काम गर्ने केटालाई दिन्छु भनेर मागे र धोएर दराजमा राखे। अझै छ म सँग।“ हामी सबै हास्यौ। “यस्तै हो प्रेम नै रहरमा गरीएकोले सबै कुरा एक अर्कामै समर्पीत थिए। साच्चै दिन लामो तर रात छोटो लाग्थ्यो त्यो बेलामा। सोच्थे यो संसारमा हामी बाहेक अरु कोही नभैदिए कति आनन्द हुन्थ्यो।“ बाले हास्दै भन्नु भो।

“अनी कहिले देखि कर र डरले माय गर्नु पर्यो त बा आमा?” मैले कुरोलाई अगाडी बढाउन इङ्कीत गरे।
“जेठो छोरो हाम्रो जिबनमा आए पछि हामीले सोच्नु पर्ने, प्रेम गर्नु पर्ने र जिम्मेवारी लिनु पर्ने कुरा थपियो। ब्यबहारले छोप्न थाल्यो। दुबै एक अर्काको लागि समय नपाएर छ्ट्पटाए पनि म अफीसको काममा र उनी घरको काममा ब्यस्त भएको बाहना गर्न थाल्यौ। एकले अर्कालाई समय नदिएको गुनासो आउन थाल्यो। एक अर्कामा ठास्स ठुस्स भैराखे पनि यसो छोरा छोरीका आँखा छलेर हात समाउदा पनि रमाइलो लाग्थ्यो। मन सँगै भए पनि तन मिल्न नपाउदाको छ्टपटी चाहिँ थियो नी। कहिलेकाहीँ बुडा बुडी मात्रै घर बाहिर जान पाहियो भने त्यो दिन बन्थ्यो। उनी छोरा छोरी लिएर माइती गएको शनिबार म स्वतन्त्र भएको महसुस गर्थे। न उठेर ओछ्यान मिलाउनु पर्ने, न दार्ही खौरनु पर्ने, न बेलामा खानु पर्ने।“

यस पटक बिचमै बाको कुरा काटेर आमाले भन्नु भो “त्यही त पैला पैला म माइती पुग्न नपाउदै उतै पुग्ने मान्छे पछि त आज आमाले ज्वाइँलाई लेराउनु भनेको छ जाउ हिड्नुस भन्यो भने जान्न आज करेसा बारी गोड्नु छ रे।अघि पछि करेसामा टेक्ने पनि होइन फेरी।“ आमाको कुरा नसक्दै बा ले भन्नु भो “ तिमीलाई नी त माइतीमा दिदी बहिनीसित बसेर मजाले साधेको पिरो भोगटे खादै हिन्दी सिरीयल हेर्न पाउथेउ नी।“ त्यो त हो भनेर आमाले सही थप्नु भो। “गजब थियो भन्या तेही उनको नाकको कोठीलाई म यत्रो बाख्राको बगुल्टो जत्रो देख्थे भने उनलाई मेरो यही झुसे दारी जुङ्गाले घोच्न थालेको थियो। तर दुइ दिन पछि मलाई नियास्रो लाग्न थाल्थ्यो र उनी माइतीबाट आउने बाटो हेरेर कौशिमा बस्थे। नोक झोक मिसिएको अजबको प्रेम थियो भन्दा हुन्छ। यसरी कर र डरले हाम्रो मायाको डोरोलाई थेगी राखेको थियो। कती बेला ६० कटीयो पत्तै भएन।“

“छोरा छोरी ठुला भए हामीलाई मनग्गे फुर्सद मिल्न थाल्यो। साथमा घुम्ने डुल्ने र रमाइलो गर्ने समय प्रसस्त थियो। तर उमेर बढ्दै जादा हाम्रो तनको चाह पनि कम हुदै गयो। अब त रहर पनि छैन, कर र डर पनि छैन तर प्रेम चाहिँ उस्तै छ है। खाली यसको स्वरुप मात्र फेरीएको छ। अहिलेको प्रेम भरको हो बाबु। देखी हाल्यौ नी तिमीले हामी एक आर्काको हात थामेर हिडेको। युबा अबस्थामा रहर लाग्थ्यो तर दुनियाले हात समाएर हिड्न दिन्नथ्यो। त्यसपछि परीवारको जिम्मेवारी अनी खै के खै के ले नभ्याएर हो की हामीलाई नै लाज लागेर हो एकान्तमा मात्र हात समाइयो। अब अहिले दुनियाँले पनि तारीफै गर्ने आफुलाई पनि साहारा मिल्ने। अहिले न उनको रुपले मलाई लोभ्याएको छ न मेरो ज्यानले उनलाई तानेको छ। अहिले उनको नाकको त्यो कोठी छ की छैन पनि मलाई यादै हुन्न। छ न त त्यत्रै छ नी है। मेरो दारी बढेको र फुलेको पनि उनलाई खासै मतलब छैन। कहिलेकाहीँ म उनलाई क्रीम पाउडर दल्नु नि। उनी पनि मलाई त्यो फुलेको कपाल रंग्ग्याउनु नि भनि टोपल्छिन्। त्यत्ति हो। एक अर्का सँग टासीएर सुत्नु पनि छैन घुरेको सहन नसकेर छुट्टै सुत्न मन पनि छैन। तर एक अर्काको साथ चाहिँ प्यारो छ। एक क्षण यिनी कतै गइन भने मैले यसो आँखा तानेर हेर्छु। म कतै लागे भने होइन बुढा कता गयौ भनेर यिनी चिच्याउछीन। उही देबेन्द्रको गित – तिमी भयौ बुढी पिपल म त बुढो बर जिन्दगीको यस क्षणमा एक अर्काको भर–सुन्यो बस्यो।“

उहाँहरु मज्जाले हास्न थाल्नु भो। म चाहिँ हामी प्रेमको कुन चरणमा छौं त भनेर सोच्न थाले छु।

डा. अमर कार्की
वेस्ट पाल्म बिच, फ्लोरीडा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend