जन आकाश

समिक्षक, तेजप्रकाश बानियाँको कलमवाट
साहित्यकार तोयानाथ सुबेदीको जन्म वि.सं. २०१७ साल फागुन ७ गते ओखलढुङ्गा जिल्लाको नर्मदेश्वर–१ मा भएको हो । पिता डिल्ली प्रसाद सुवेदी र माता पूर्ण कुमारी सुवेदीका साहिँला सुपुत्रको रुपमा जन्मनु भएका तोयानाथको बाल्यकालमा पिताको साथ बित्यो । उहाँले कखहरा घरैमा सिक्नु भयो । त्यसपछि ६ वर्षको उमेरमा गाउँको हिमगंगा निम्न माध्यमिक विद्यालयमा १ कक्षामा भर्ना भएर ८ कक्षासम्म त्यहाँ अध्ययन गर्नुभयो ।
त्यसपछि काठमाडौँ गएर वि.सं. २०३५ साल माघ २ गते सेनामा भर्ना हुनुभयो । फुर्सदको समयमा नक्साल स्थित नन्दीरात्री हाईस्कूलमा अध्ययन गरेर एस.एल.सी उत्तीर्ण गर्नुभयो । शिक्षा प्रेमी तोयानाथले अझै पनि फुर्सदमा उच्च शिक्षा हाशील गर्न ल क्याम्पसमा भर्ना भइ वि.एल. सम्मको अध्ययन गरी नेपाल कानून व्यवसायी परिषदको सिफारिसमा अधिवक्ताकोे उपाधि प्राप्त गर्नुका साथै श्री पुनरावेदन अदालत पाटनको सदस्यता समेत प्राप्त गर्नु भएको छ । यसो, उसो गर्दै भन्दै जाँदा सेना तर्फको नोकरीको पेन्सन पाकिसकेको हुँदा २०५२ फागुन मसान्तमा राजीनामा दिनुभयो र तुरुन्त चैत्रबाट पुतलीसडक स्थित सेक्रेटरिएल कम्प्युटर अफिसमा काम गर्न थाल्नु भयो । तत्पश्चात सेनाको कल्याणकारी औषधोपचार, उप समिति प्रशासन फाँटमा मिति वि.सं. २०६१ वैशाख १ गतेबाट २०६७ चैत्र मसान्तसम्म सेवा गर्नुभयो र त्यहाँबाट अवकाश लिनुभयो । जागीर छोडी सक्दा पनि उहाँको जोस जाँगर र हौसलामा कुनै कमी आएको छैन । जस्ताको तस्तै हुनुहुन्छ । हाल उहाँ १२ वर्षदेखि परिवारका साथ काठमाडौँको सिनामङ्गल काँडाघारीमा बस्दै आउनु भएको छ । उहाँ समाजसेवा र साहित्य साधनामा लाग्नु भएको छ ।

उहाँको र मेरो चिनापर्ची कसरी भयो भन्नु पर्दा म गोगंबु साहित्यमा आबद्ध हुनाले जाने आउने गरिरहन्थें । २ वर्ष यतादेखि उहाँ पनि आउन थाल्नु भयो । त्यसै क्रममा भेटघाट हुँदाहुँदै घनिष्टता बढ्यो । उहा ज्यादै लगनशील र मिहिनेती हुनुहुन्छ । उहाँलाई साहित्यमा बाल्यकालदेखि नै रुचि थियो । स्कूल लेभल देखि नै २÷४ गोटा बालगीत र कविता लेख्नु भएको रहेछ ।
सहरमा जस्तो छपाउने सुविधा गाउँमा नहुने भएकोले ऐले ती बाल कविता हराइसके । गत मंसिर १ गते आधुनिक साहित्य परिषद्को वार्षिक उत्सवमा उहाँ आउनु भएको रहेछ । उक्त कार्यमा मैलेपनि सहभागि हुने अवसर पाएको थिएँ । हामी दुई भेटघाट भएपछि नमस्कार साटासाट गरियो । आशन ग्रहन गर्ने काम सकिएपछि तोयानाथले झोलाबाट फुत्त एउटा पुस्तक झिकेर मलाई दिनुभयो । कार्यक्रमको व्यस्तताले गर्दा केहीपनि नसोधी मैले धन्यवाद दिदै पुस्तक समातेर झोलामा राखें । सानोतिनो साहित्यकारमा गनिएपछि झोला भिर्नु चाहिँ परिचय नै हुँदोरहेछ । कार्यक्रम समाप्त भएपछि गफगाफ गरेर आ–आफ्ना गन्तव्यतिर लागियो । घर पुगेर सदाझैं झोला झिकेर यथास्थानमा झुण्ड्याएँ । २ दिनपछि फुर्सद मिलाएर झिकें । पुस्तक हातमा आयो । यसो हेरेको त, सबैले बुझ्ने गरी नेपाली लोकलयमा लेखेको गीत् िभागवत पो रहेछ, । पुस्तकको डिजाइन पनि साह्रै राम्रो छ । आवरणको अग्रभागमा राधाकृष्णको तस्वीरले सजाइएको छ भने आवरणको पृष्ठ भागमा शिरमा नाम र परिचय, माझमा लेखकको पूरा विवरण र अन्तमा प्रकाशक सिद्धार्थ पब्लिकेशनको लोगो र नामलाई मिलाएर लेआउट गरेको देख्दा त अनुभवी चित्रकारले शान्त मनले सोचेर कोरेको आर्ट जस्तै देखिने रहेछ ।
अन्तर्वस्तुको बारेमा कभर पल्टाएर भित्रप्रवेश गर्दा उक्त पुस्तकमा भएका महत्वपूर्ण विषयको सार खिचेर आफ्ना बिचार सहितँ अमृत तत्वको प्रशंसाँ शीर्षकमा डा. मेघराज घिमिरेले लेख्नु भएको विचारले पुस्तकको महत्व अझै बढेको छ । तत्त पश्चात् लेखकको संक्षिप्त टिप्पणी शीर्षकमा भागवतमा भएको कथाहरूलाई १५२ शीर्षकमा विभाजन गरी विषय सूची बनाउनु भएको छ । प्रशंगहरू व्यवहारिक र रोचक छन् ।
हामी नेपालीहरू भौगोलिक अवस्थाले गर्दा आर्थिक विकासमा भर्खर भर्खर बामे सर्दैछौँ । तर संस्कृतिमा भने धनी छौँ । हाम्रो संस्कृति, रहनसहन विभिन्न जातजातिको विना भेदभाव मिश्रित बसोबास, संस्कार एवम सामाजिक अनुशासन भनेका सभ्यता र परिचयका धरोहर हुन् । पूर्वीय दर्शनका अनुयायी हामी, हाम्रो प्राचीन वाङ्मय, वेद, उपनिषद् आदिको गहनता र सूक्ष्मतालाई बुझ्दै नबुझी हिन्दुधर्मको मर्मलाई वास्तै नगरी सतही तवरमा अध्ययन गरेर वा पूर्वग्राही भावले हिन्दु धर्मका कमजोर पक्षलाई अँगालेर पश्चिमाहरूले इसाइधर्म भिराउँन यत्न गरिरहेका छन् । हुन त हाम्रो धर्मलाई खलल पु¥याउन सकिन्छ भनेर अध्ययनका लागि पृथ्वीनारायण शाहका पालामा इसाई धर्मका ३ जना पादरीहरू धर्म प्रचार गर्ने बहानामा नेपाल छिरेका थिए । पृथ्वीनारायण शाह दुरदर्शी राजा भएकाले पादरीहरूबाट भविष्यमा हुनसक्ने खतरालाई मध्यनजर राखी ती पादरीहरूलाई देश निकाला गर्न लगाए ।
त्यसबखत देखि नै हाम्रो देशमा कुनै न कुनै वहानामा कतै एनजिओ, कतै शिक्षा प्रोजेक्ट, कतै स्वास्थ्य प्रोजेक्ट, कतै केही सशक्तिकरण आदिद्वारा सहयोग पु¥याउने बहानामा हातमा चारो लिएर हाम्रो देशको कुना कन्धरामा पुगेर सहयोगको नाममा जनता भट्काउने कोसिसमा छन् । यस्तो दुरावस्थामा हाम्रा सोझा साझा जनतालाई सजग र चेतनशील बनाउनु सक्षम नागरिकको कर्तव्य पनि हुन आउँछ ।
तर दुःखलाग्दो कुरा के छ भने नेताहरू धर्म वेचुवा हाम्रा युवाशक्ति वैदेशिक रोजगारमा र शिक्षितहरू अन्य देशमा जेसुकै कारणले पुगेका भएपनि सक्दो प्रयास गरेर उतै टासिने हुँदा हाम्रो देश त बुढाबुढी, बालक र फटाहा नेताहरूको हातमा छ । यस्तो अवस्थामा तोयानाथ जीले धर्म संस्कृति बचाउने खालका पुस्तकहरू लेखेर जनताको हातमा पु¥याउनु भनेको संस्कृतिको जगेर्ना गर्नु हो । योगी ति भागवतको पुस्तक हुनाले घरमाराख्नु भनिन्छ । भागवतको अतिकति मात्र ज्ञानका हिसाबले पनि यो पुस्तक सबैले पढ्नु पर्ने खालको छ । यस मानेमा म लेखकलाई सम्मान व्यक्त गर्दछु र भविष्यमा यसको बाँकी भाग –२ पनि प्रकाशनका लागि छिटै अनुकूल मिलोस् भन्ने कामना गर्दछु ।
नेपाली साहित्यमा लेखकको नाम चुलिदै जाओस् र पाठकले पनि उहाँका कृतिहरू अध्ययन गर्न पाऊन् भन्ने कामनाका साथ आजलाई यति नै ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend