जन आकाश
दामोदर ढकाल दीपक
एउटी कवयित्री मेरो कार्यालयमा आइन् र भनिन् । दाइ मलाई एउटा सानो पुस्तक प्रकाशन गर्न इच्छा जागेको छ ।
मैले उनीतिर हेरेर भने,किन सानो निकाल्ने बहिनी सामाग्री कम छ हो ? सामाग्री धेरै छन् तर पैसा कम छ । उनले कारण खुलाइन् ।
उनको कारण बुझेर, मैले उनका रचनाहरू मिलाउन थालेँ।चिटिक्क परेको पुस्तक निस्कियो । उनले पुस्तक सुम्सुम्याइन् , बच्चाले नयाँ खेलौना भेटेजस्तो खुसी भइन् । म उनको खुसी हेरेर, आफ्नो पहिलो पुस्तक निकालेको क्षण सम्झिन पुगेँ ।
केही दिनपछि पुस्तक विमोचन भयो । त्यसपछि पुस्तकको समीक्षा भयो , पुस्तक पढेर समीक्षा गर्ने कम भए, उनको लेखन क्षमताको सम्भावना कसैले देखेनन्, देखे त केवल पृष्ठ थोरै । यो पुस्तकले राष्ट्रिय , अन्तराष्ट्रिय मान्यता पाउँदैन र पुरस्कार योग्य कृति बन्दैन ।
तब उनी निराश बनिन् र भनिन् , दाइ के कम पेजको पुस्तक निकाल्नु नहुने हो रु के यो मेरो पुस्तक नै भएन र ?
मैले उनलाई पूजा कोठामा जाऊ भने । उनी पूजाकोठामा पुगिन् र आमाले पाठ गर्ने हनुमान चालिसा भेटेको बताइन् । त्यसपछि बुबाको कोठामा जाऊ भने , उनी बुबाको कोठामा पुगिन् र सिरानीमा हेरिन् बुबाले सधैँ पढ्ने मुनामदन र गौरी पुस्तक भेटेको बताइन् ।
तब मैले उनलाई बताएँ, कृति मान्यता पाउन र पुरस्कार पाउन लेखिँदो रहेछ कि मन जित्न लेखिने रहेछ ? तिम्रा बुबाआमाले अन्तराष्ट्रिय मान्यता पाएको थाहा पाएर ती पुस्तक किन्नु भको हो त ? एकपटक सोध त ?
सोध्नै पर्दैन दाइ । उनी बल्ल खुसी भएर हाँसिन् ।
तब मैले भने, सानो ऐसेलु पनि फल हो ठुलो कटहर पनि फल हो । कटहरलाई मात्र फल देख्नेहरूका कुराको पछि नलाग । पेज थोरै भयो भनेर पिर नगर, मान्छेले पिउने पानी जरुवाकै शुद्ध र मिठो हुन्छ, अर्को कुरा मान्छे जन्मिँदै जवान भएर जन्मिँदैन।मैले यति भनेको केहीबेरमा उनले फेसबुकमा स्टाटस राखिछन् पुस्तक पृष्ठको वहस गर्नेलाई होइन , सिर्जनात्मक क्षमताको बहस गर्नेलाई स्वागत छ । मैले स्टाटस हेरेर महसुस गरेँ मान्छेहरू बिरुवा रोप्न होइन उखेल्न छिटो तम्सिँदा रहेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend