logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गद्य कविता: असार पन्ध्र


  • जन आकाश
  • शनिबार, असार ११ २०७९

 



 

जब जब असार पन्ध्र नजिक आउछ

किसानको निधारबाट पसिना चुहन थाल्छ

त्यही पसिनाको जलले गरा टलपल हुन्छ

मुठी रोपी, मुरी फलाउने अठोट पलाउछ

अनि त उसले दिन र रात एक बनाउछ।

जब जब मेघ गर्जन्छ अनि पानी बर्सन्छ

किसान हातमा कोदालो र पिठिउँमा घुम बोक्छ

त्यही कोदालोले खेतका आली ठड्याउछ

हातमा बिउ भिजेको जिउ, उनीलाई सम्झन्छ

अनि मनको लड्डु घिउसँग खादै हलो समाउछ।

जब जब रोपारले बिउ हिलोमा गाड्छन

बाउसेले असारे भाकामा भाका मिलाउछन

त्यही भाकामा बारीबाट मकैका पात बज्छन

कोही सुसेली हाल्छन कोही सुस्केरा हाल्छन

अनि मङ्सीरमा भित्र्याउने मायाको टुसा पलाउछन।

जब जब श्राबण लाग्छ उसको बाली बढ्छ

किसान मस्तिस्कमा एउटा सपना बुन्छ

त्यही सपना ऊ बिपनामा सबैलाई बाड्छ

धानखेत गोड्दै आफ्नो सपनालाई निखार्छ

अनि ऊ आलीमा टुक्रुक्क बसेर मुस्कुराउछ।

जब जब खेतमा धानका बाला झुल्छ

किसानको भाग्यको ढोका खुल्छ

त्यही भरोसामा साहुसँग ऋण माग्छ

मङ्सिर लाग्छ, उसको बाली पाक्छ

अनि बल्ल ऊ आफ्नो फाटेको दौरा फेर्छ।

जब जब बोरा बोरामा धान भरिन्छ

किसानको ऋणले लौरो उठाउछ

त्यही लौरो टेक्दै साहु खेतमा आउछ

धानका भारी, साहुको घरतिर जान्छ

अनि ऊ थाप्लोको टोपी झिकेर आसु पुच्छ।

जब जब अहिले फेरि असार पन्ध्र आउछ

बुढो किसान यि ब्यथा नातीलाई सुनाउछ

उसको नाती यसलाई दन्त्य कथा बनाउछ

नाती धान र चामल दुबैलाई राइस नै मान्छ

अनि चामल त फ्याक्ट्रीमा बन्छ हजुरबा भन्छ

जब जब सडकहरुमा भेल बग्न थाल्छ

किसान आफ्नो खेतका गराहरु खोज्छ

त्यहाँ प्लटिङ्ग र ढलानमा उम्रेका भबन भेट्छ

गैरी खेतका फोटाहरु पालै पालो औलाले छुन्छ

अनि खै के हुन्छ हुन्छ ऊ धुरु धुरु रुन्छ

जब जब अहिले फेरि असार पन्ध्र आउछ

अनि खै के हुन्छ हुन्छ किसान धुरु धुरु रुन्छ ।

–डा. अमर कार्की

ठेचो,  ललितपुर

हाल: वेस्ट पामबिच, फ्लोरिडा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend