जन आकाश
प्रेम–आवश्यकताको रुप
“रात्री गन्थन”
–विनोदकुमार श्रेष्ठ
एकदिन, शङ्करन पिल्लई एउटा पार्कमा गए । त्यहाँ एउटी सुन्दर महिला ढुङ्गाको मेचमा बसिरहेकी थिइन् । उनी त्यतै गए अनी त्यही मेचमा बसे । केही मिनेटपछि, शङकरन उनको नजिक सरे । ती महिला टाढा सरिन् । फेरी, केही मिनेटपछि उनी केही इन्च सरे । उनी टाढा सरिन् । उनले पुनः केही बेर पर्खिए, अनी केही इन्च अझ नजिक पुगे ।त्यति बेलासम्म ती महिला मेचको छेउमा पुगिसकेकी थिइन् । उनले ती महिलालाई अंगालो हाले । महिलाले हात पन्छाइन् । शङ्करन केहीबेर यत्तिकै बसे अनी घुँडा टेकेर एउटा फूल दिँदै उनलाई भने –“म तिमीलाई प्रेम गर्छु । म तिमीलाई यति प्रेम गर्छु, जति मैले आफ्नो जीवनमा अहिलेसम्म कसैलाई गरेको छैन ।”
उनी पग्लिइिन् । प्रकृतिले आफ्नो रुप देखाइन् अनी उनीहरू एक–अर्कामा हराए !
साँझ परिसकेको थियो । शङ्करन पिल्लई जुरुक्क उठे अनी भने –“म जानुपर्छ । आठ बजिसकेछ, मेरो बुढी पर्खिरहेकी हुन्छे ।”
उनले भनिन् –“के तपाईँ जाँदै हुनुहुन्छ ? तपाईँले भर्खरै भन्नुभएको थियो कि तपाईँ मलाई प्रेम गर्नुहुन्छ !”
“हो ! तर अब समय भइसक्यो । म जानुपर्छ ।”
यो माथिको कथा सबैजनामा लागू हुन्छ म भन्दिन । यस्तै कथा मेरो जीवनमा भने लागू भएको छ । मजस्तै थुप्रै मानिसमा लागू हुने गर्दछ पनि । मजस्तै थुप्रै मानिसहरूका निम्ती प्रेम एउटा आवश्यकता बनेको छ, जुन बिना उनीहरू बाँच्न सक्दैनन् । “म तिमी बिना बाँच्न सक्दिनँ” भन्नु मेरो जीवनको हकमा भन्ने हो भने एक हदसम्म “म ह्वीलचेयर बिना एक पाइला पनि हिड्न नसकेको जस्तै हो ।”
ह्वीलचेयर मैले चढेको नै १५ वर्ष भयो । कसैले मलाई “अव तपाईँ ह्वीलचेयर बिना हिँड्न सक्नुहुन्छ” भनिदियो भने के म पत्याउन सकुँला र ?यसमा जीवनको सार्थकता छैन । त्यसैगरी प्रेमको नाममा म आफूँ असाध्यै असहाय र अपूर्ण बनेको छु । एउटा प्रेम तपाईँलाई पनि मैले यहाँ शेयर गरे ः
साउन पन्द्रको दिन थियो । खिर खाने दिन पनि हो नेपाली परम्परा अनुसार । यस्ता चाडहरू फेसबुक र टिकटक चलाउनेहरूले धेरै चासो राख्दछन् । अझ भन्नु पर्दा खिर खान्छन् कि खादैनन् त्यो थाहा छैन तर फेसबुक र टिकटकमा पिक्चर वा भिडियो अनिवार्य पोष्ट गर्छन् । बनाएर, या कतैबाट ल्याएर भए पनि ।
हो यही एक वर्ष पहिलेको साउन पन्द्र । कसैले मलाई म्यासेजमा सोध्यो – “खिर खानु हुन्छ ?” मैले पनि जवाफमा – “बनाएर दिनु हुन्छ भने किन नखानु ।” लेखेर सेन्ट गरेँ ।
उनी र म फेसबुकमा साथी थियौँ तर खासै कुराकानी भएको थिएन । उनले एक्कासी यसरी सोधे पछि म छक्क परेँ । अनौठो पनि लाग्यो । उनले भनिन् – “एकछिन ल । म लिएर आउछु ।”
खिर लिएर आउने कुरा मलाई विश्वास थिएन । विश्वास गरू पनि कसरी ? आज सम्म न राम्ररी बोलचाल भएको थियो न नजिकिएर नै कुराकानी । लाग्यो, उनी पनि अरूअरू जसरी नै जिस्क्याइरहेकी छे ।
खिर लिएर आउने कुरा पछि म्यासेज आदानप्रदान भएन ।
न उनले म्यासेज गरिन् न मैले ।
दिन बिस्तारै आफ्नै रफ्तारमा अघि बढिरह्यो ।
बेल्की हुँदै गर्दा फेरी म्यासेज देखा पर्यो –“सरी ल ! तपाईं आश गरेर बस्नु भएको थियो होला तर खिर बोकेर त्यहाँ आउनै लाज लाग्यो ।”मैले “केही छैन । मलाई आश पनि थिएन” लेखेर पठाएँ । उनले –“आज नल्याए पनि म तपाईंलाई एक दिन जसरी पनि खुवाउछु ।”लेखेरपठाइन् ।
सधैं देखिरहने, भेटिरहने मान्छे हुन् उनी । आज मेसेज आदान प्रदानमा कुरा हुँदै थियो । बिस्तारै कुराहरू अघि बढ्दै गयो । उनी आज यति खुलस्त भएर कुरा गर्दै थिइन् कि म शब्दमा बयान गर्न सक्दिनँ । आम नारीभन्दा बिल्कुल फरक । लाग्थ्यो, सयौँ वर्षसम्म हामीले सङ्गत गरिसकेका छौँ ।
म कस्तो मान्छे हुँ भन्ने पनि उनलाई थाहा थियो । मेरो जीवन धान्नु मेरा लागि आफैलाई कठिन हुन्छ भन्ने पनी थाहाँ थियो उनलाई । तर मेरो व्यक्तित्व उनलाई मन पर्यो या अन्तरङ्ग या कुरा गोप्य राखिदिन सक्ने जिम्मेवार व्यक्ति सम्झिन् । यसको उत्तर मैले पाउन सकेको छैन तर म अपाङ्ग र उनी सबलाङ्ग हुनुले केही असर गरेन ।
च्याटमा हामी रत्तिँदै थियौँ । हाम्रो मन साटासाट हुँदै गयो दीप श्रेष्ठले गाएको गीतजस्तै–
एउटै बाटो सधैँ भेटघाट भइरहँदा
मुस्कानहरू साटिएछन् बोलिरहँदा
कुन बिन्दुमा मन खुले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन ।
तर एउटा कुरा प्रष्ट छु म । म्यासेजकै क्रममा उनले फ्याट्टै लेखेकी थिइन् – “एउटा कुरा भनूँ ?” मैले पनि लेखेर सोधिहालेको थिए –“भन्नुहोस् न ।” उनले जवाफमा लेखेकी थिइन् – “म पहिले देखि नै हजुरलाई मन पराउछु ।” सोधेँ –“कहिले देखि र किन मन पराएको ?” उनले, कहिले देखिको प्रश्नमा “जुन दिन तपाइलाई देखेँ” र अर्को प्रश्नमा“तर किन मन पराए म आफैलाई थाहा छैन । मन पराउनु पाप हो र ?” भन्दै प्रश्न सोधिन् ।
यो जवाफले म छटपटिएँ । यो जवाफप्रति मैले निकै सोचेँ । एकदमै चुप भएर । उनी पनि सोच्दै थिइन् होलिन् मैले मन पराएको कुरा भनेर सही गरे या गलत भन्दै ।उनले फेरी लेखेकी थिइन् – “आज आट गरेरै भनेकी हुँ ।”
प्रेमको भाषा बुझाउन आँखा बिझाउने रोमान्स नै चाहिन्न, वा नियति सम्झाउन सधैँको रोइलो पनि देखाइरहनु पर्दैन । प्रेमको भाषा बुझाउन प्रेम र वियोग, संवेग र संवेदना हाम्रो हकमा एक कलात्मक शिखर भयो । जीवन आरोह–अवरोह र प्रेम–संवेदना मात्र रहेछ । यही हुँदै थियो ।
मैले उनलाई “बिचार गर ।” भनेँ । अनी थपेँ –“मेरो शरीर देखेर बिचरा ! भन्दै देखाएको दया हो भने भो चाहिँदैन त्यस्तो प्रकारको माया । म जे छु ठिक छु ।”
मेरो कुरा सुनेर उनले “त्यस्तो होइन” भन्दै स्पष्टिकरण दिने प्रयास गरिन् । अनी मेरो मोबाइल नम्बर माग्दै भनिन् – “भरै म कल गरेर सबै कुरा बताउछु ।” उनले नम्बर मागे पछि मैले “तिमी त श्रीमानसँगै हुन्छौ कल गर्न मिल्छ र ?” प्रश्न सोधेँ । “म मिलाइ हाल्छु नी !” जवाफमा उनले लेखिन् ।
बेलुकीपखको ८ः३० बजे उनले कल गरिन् । मनमा लागेको कुरा बताइन् । मैले पनि खुलेरै कुरा गरेँ । यति खुलेछौ कि त्यो कुरा कसरी बयाँन गरूँ ।
गफ भएको दुई तीन दिन भइसकेको थियो ।दुई तीन दिन पछि उनले साच्चै खिर बोकेर आइन् । जब उनी मेरो अघि आइन् । जब उनी मेरो सामुन्य भइन् । जवानीको रङ्गमा मस्त देखिएको आकर्षक उनको शरीर, लज्जालुपन, नसालु आँखा, हेर्दै माया गरूँ गरूँ लाग्ने उनको अनुहार देखेर म घायल भएँ । उनी मेरो नजरमा नजर जुदाएर हेर्न सकिरहेकी थिइनन् । कुरा गर्दा पनि अर्कोतिर हेरेर गर्थिन् ।
उसको हेराइले मेरो मन्द मुटु ढकढक गर्न थाल्यो । के गरूँ के गरूँ ? मन छटपटियो । उनले ढोका झन् खोलिन् । मैले ढोका लगाउने इसारा गरेँ तर उनले ढोका लगाइनन् । उनी म नजिकै आइन् म आफै गएर ढोका ढप्काएँ । म केही बोल्न खोज्दै थिएँ, उनले चुप रहने इसारा गरिन् । न मेरो मुख बाट केही शब्द नै निस्कन सक्यो ।
म असिनपसिन भएको थिए । निस्सासिएर रोकिएला भैmँ भयो श्वास । उनलाई हेरेँ, पूरै बत्तिसा देखाएर ङिच्च गरिन् । विजयको भावमा । जसरी बाघले मृगलाई मारेपछि उचाल्छ ।
यस दिन देखि प्रत्येक दिन जसो उनी म कहाँ आइन् । मैले केही खाएको छैन भन्ने जानेर अनेक कुरा बोकेर आइन् । मेरो अनुहार हेर्नका लागि अनेक बाहाना बनाइन् ।
अव त फुर्सद भए कि हामी च्याटमा कुरा कानी गथ्यौँ । बेल्की समय मिलेको बेला उनैले कल गर्थिन् । गफ गर्ने समय मिलाउन पनि त गाह्रो हुन्छ । अनेक किसिमका झुट बोल्नै पर्यो । कतै संका गरेर घर झगडा पर्ला भन्ने पनि डर ।
डरै डर बीच बेल्की पख पानी सिमसिम परेको बेला बाहिरै बसेर रूज्दै कति दिन त मलाई कल गर्दै खुसी बनाउने प्रयास गरिन् त कहिले बाथरुम भित्र छिरेर । यसरी एकअर्काको प्रिय हुँदै गयौँ हामी । मैले कहिल्यै पनि उनलाई सच्चा प्रेमिका हुन सक्छिन् भनेर सोचिनँ । किनकी म पहिल्यैदेखि शारीरिक अवस्थाका कारण धोकामा जिएको मान्छे । यस्तै पूर्वाग्रह थियो मेरो मस्तिष्कमा । म सम्बन्ध सँगसँगै मैले धेरै कुराहरूमा उनको परीक्षण गर्दै थिएँ । र, सम्बन्धको केही दिन पुग्दासम्ममा म यो निष्कर्षमा पुगिसकेको थिएँ कि उनी मेरो त कहिल्यैँ हँुदिनन् तर त्यतिमात्र यसको स्वरुप होइन । यसभित्र एउटा सच्चा सीता छ, जो हरेक युगमा अग्निपरीक्षा दिएर पनि सफल नै भएर निस्कन्छे प्रेममा ।
त्यसपछिश्रद्धाले डेरा जमाउन थाल्यो मनमा उनीप्रति । यतायती टोलाइरहने मेरा आँखाप्रति उनले ईष्र्या जनाउँदै आइ । यतिखेर थाहाँ भयो जसरी उनले मलाई प्रेम गरेकी छे मैले पनि तेसै गरी गरेको छु । मात्र फरक थियो व्यक्त गर्ने शैली मात्र । उनी भन्ने गर्थिन् –“म तपाईलाई प्रेम गर्छु । अचेल त मलाई लाग्छ, तपाई भन्नु नै म र म भन्नु नै तपाईं हो । म तपाईं विना एकपल पनि छुट्टिन नसक्ने बनिसकेँ । मलाई तपाईंप्रति निकै विश्वास छ ।”
यस्तै कुरा सम्झिरहेको छु आज । फोन नगरेको त कयौँ महिना भयो । अन्तिम पटक फोन कहिले भयो भन्ने पनि अव त विर्सिसकेँ । कहिले काही धेरै दिन पछि उनी लेख्ने गर्छिन् –“तपाईं प्रति मेरो प्रेम उस्तै छ । कहिल्यै कत्ति पनि कम भएको छैन । म मरेको दिन मात्र त्यो प्रेमको अन्त्य हुनेछ ।”
यतिखेर लाग्छ, मसँग छुट्टिन उनका लागि सहज छैन तर उसका जीवनप्रति पनि मेरो कुनै उत्तरदायित्व रहँदैन । उसले भनेकी थिइन् –“मैले तपाईंलाई सधैँ आदर्श पुरुषकै रुपमा स्थापित गरेकी छु दिलमा तर श्रीमान्सँग आवद्ध भइसकेपछि फेरिफेरि तपाईँप्रति आशक्ति देखाउनु मेरो चरित्रहीनता हुनेछ । म कयौँ जुनीसँम्म तपाईंको हुनै सक्दिन तर पनि तपाईंप्रतिको प्रेम मर्ने छैन ।”
उनको कुरा नि ठिक छ । तर अचेल उनले मलाई उसकै बानी सारिदिएकी छे । म रिसाउँदा मलाई बुझ्ने एउटै मानिस थियो यो संसारमा केवल त्यो उनी हुन् । आज यसरी बुझ्ने मानिस टाढिएकी छिन् । म एक्लै छु । बस् । यत्ति थाहा छ ।
उनलाई थाहा थियो, मेरो मन कतिबेला दुख्छ । उनलाई थाहा थियो, म पीडा हुँदा कसरी बस्छु । उनलाई थाहा थियो, मेरो पीडोको मल्हम के हो ? उसले जानेकी थिई, ती सबै सीपहरू, कलाहरू । जसले एकै सेकेण्डमा दुःखीबाट सुखी बनाउँथ्यो । थकानबाट जाँगर चलाउँथ्यो ।
लाग्छ, अचेल सन्तोष छैन मनमा । एक्लिएको महसुस गर्छु । सान्तवनाका कुनै विषय भेटाउँदिनँ । मनमा अनेक तरङ्गहरू चलिरहन्छ ।
उकुसमुकुस भएर आउछ । मनले एउटै कुरा खोज्छ, जुस सम्भव नै छैन । म आफैलाई भुलाउने प्रयास गर्छु, तर सक्दिन । मनमा अनेक किसिमका बग्रेल्ती स्मृतिहरू उसैसँग टाँसिएर रहेका छन् र पुग्छु तिनै गल्लिहरूमा जहाँ उनी र मैले केही क्षण विताएका थियौँ ।
ती ओसिला दिनहरू ।ती न्याना चुम्बनसँगैका अंगालाहरू । छटपटिएका निदान गराइदिने स्पर्शहरू ।
तर, समय कहाँ एक नाशको रहन्छ र ? म जस्तै त छ समय । जाँदै गरेको समय जस्तै । किन?थाहा छैन मलाई तर आएको समयले रुवाउदँछ । वर्तमानमा मेरो विगतको खोज निरर्थक भएरहेको छ । अब मैले आफ्नै अक्षांसमा यसै गरी फेरी घुम्नै पर्छ । यसको कुनै विकल्प छैन । तर पनि लगाव टुट्न सजिलो नहुने रहेछ । थाछैन यो लगावले किन सताइरहन्छ मलाई । अनी कति दिन सम्म सताइरहने हो ।
हामी दुईमध्ये कसेको गल्ती छैन । गल्ती त समयको हो । निष्ठुर बनेको त समय हो ।
ऊ पनि केही दिन बहकिएकी थिइन् मसँग । अनेक प्रकारका सपना देख्थिन् । ह्वीलचेयर ठेलेर एकान्तमा लैजाने जहाँ हामी मात्र होऊ र मायाका अंगालामा घण्टौँ सम्म बाधिँरहन सकौँ ।मेरै लागि मात्र भए पनि गाडि किन्ने । अनेक सहरहरूमा मलाई घुमाउन लैजाने ।
मेरा हरेक सुखदुःखमा साथ दिने । उनका सपना भनी साध्य थिएनँ । उनको समपना कहिल्यै पूरा हुन्छ भन्ने मलाई लाग्दैन थियो तर पनी उनी सपना देख्थिन् । म अपाङ्ग हुँ र अपाङ्ग देखेरै यस्ता बिचार आएको होला मनमा । मनमा यस्ता प्रकारका बिचार आउनु पनि खुसीको कारण हुन सक्छ । तर पनि केही छैन, उसका भावहरू मभित्र समाहित भएका थिए । उसले कहिल्यै सवलाङ्ग मानिसभन्दा फरक आँखाले हेरिन मलाई । उसका प्रत्येक प्रेरणाले मलाई सवलाङ्ग बनाइरह्यो । हरघडी ।जुनदिनहरूमा हाम्रा मिठामिठा कुराकानी भएका थिए ।
हरेक मान्छेभित्र एउटा “सुन्दर मान्छे” हुन्छ । एउटा ढुङ्गालाई हेर्नुस्, तपाईंको आँखाले त्यसलाई फगत ढुङ्गा देख्छ । तर, एक कालिगढले त्यो ढुङ्गालाई सुन्दर आकृति देख्छ । कालिगढले जव, छिनो र हतौडा चलाएर उक्त ढुङ्गाको अनावश्यक भागहरू टुक्याउँदै हटाउछँन् यतिखेर आहा ! तव सुन्दर आकृति मात्र बाँकी रहन्छ हेरूहेरू लाग्ने आकृतिमा कुदेको । त्यही आकृति देखिन् उनले मलाई ।
धेरै जस्तो चाहिँ ऊसँग भेटेकै दोस्रो दिन भएको एक मिठो चुम्बनको याद आउछ । त्यो चुम्बनको समय म निकै नर्भस भएको थिएँ । बाइ भनेर छुट्टिने बेलामा अनायासै ऊसँगको अंकमालले मेरो शरीर पूरै काँपेको थियो । त्यो प्रेमिल क्षण उनी एक शब्द पनि बोल्न नसकेर मलाई हेरिरहेकी थिइन । एकटकले ।मायाका भाव छछलल्काएर । उनका ती कोमल स्पर्श ती कोमल ध्वनि म सँगसगै जीवितै छन् । ती कोमल स्पर्श र ती कोमल ध्वनि आँखा चिम्म गर्दा त्यही क्षण मेरो अघि टक्क उभिन्छ ।
यो सम्बन्ध सबैलाई सुनाउने कुरा पनि होइन । प्रायः म आफू आफैँसँग मात्र कुरा गर्छु ।
भान्सामा हुँदा ऊसँगै हुन्छु । बाटो हिँड्दा उसँगै हिँड्छु । मनमनै आफँैसँग कुरा गरिरहदा कति पटक त उसको फोन फ्याट्ट आएको हुन्थ्यो । त्यो बेला म भन्ने गर्थें – ‘म तिमीलाई सम्झिरहेको थिएँ, ठ्याक्कै तिम्रो फोन आयो ।’ उनले पनि भन्ने गर्थिन्–‘मैले पनि कहाँ बिर्सन सकेको छु त । तपाईंकै याद्मा टोलाइरहेको हुन्छु र फोन गरेँ ।’
तर समय कहाँ एक नासले मात्र चल्छ र ? मान्छे कति बेला कसरी परिवर्तन हुन्छ पत्तै हुँदैन । स्वयम् नारीलाई सृष्टि गरेका ब्रह्माले त नारीको स्वभाव बुझ्न सकेका थिएनन् रे । म त फगत भुइँ मान्छे । कहाँ बुझ्न सक्थेँ र ? तर जती दिन म उनको साथमा रहेँ, भोकमा भोजन दिइन । मायाको आभास दिलाइन् । प्रेम गर्न सिकाइन । अनी एक आमाले दिने माया दिइन् । एक नर्सले दिने सेवा दिइन् । एक प्रेमिकाको धर्म निभाइन् ।
म प्रेमको जालोमा अल्झिरहेको थिएँ । आफ्नो सुविधा, आराम र भलाइको लागि बनाएका सम्बन्धहरूलाई म वास्तवमा प्रेम सम्झिरहेको थिए । तर म भनिरहेको छैन कि ती सम्बन्धहरूमा अलिकती पनि प्रेमको अनुभव हुँदैन तर यो सीमित रुपमा मात्र हुन्छ । “म तिमीलाई प्रेम गर्छु ।” जतिसुकै पटक भने पनि अपेक्षा र आवश्यकताहरू पूरा भएन भने मष्तिष्कमा उथुलपुथुल मच्चिने रहेछ । यही मच्चिएको उथुलपुथल म व्यक्त गरिरहेको छु ।
समाप्त
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend