जन आकाश
देश भन्नु नै के रै छ । र चार किल्लाको माटो ! त्यै माटो नै उस्को मात्रै जो छन् टाठो-बाठो !!
काठमाडौ । मार्मिक हरफ कलाकार प्रकाश सपूतको ‘पीर’ गीतको अंश हो । देश भन्ने केवल शब्द मात्रै होइन,। यो एउटा भावना, प्रेम, कर्म थलो र पहिचान हो । देशसँग केवल भूगोल र राजनैतिक प्रणाली मात्र हुँदैन, योभित्र संस्कार, संस्कृति, परम्परा, कला, संगीत, प्रकृति लगायत अनेकन् मूर्त र अमूर्त सम्पदाहरू हुन्छन् । देश बाहिर अन्य कुनै देशमा गएपछि हामीले गुमाउने भनेको यिनै कुराहरू हुन् ।
देश भन्ने बित्तिकै योसँग अनेकन् भावना र प्रेम जोडिएका हुन्छन् । विदेशमा आफ्नो देशको कुनै व्यक्ति अचानक भेटिंदा आफ्ना परिवारका निकट सदस्य भेटे जस्तै हुन्छ । त्यसैले देशलाई मातृभूमि अर्थात् आफ्नो जन्मभूमि पनि भनिन्छ । रामले त जन्मदिने आमा र जन्मेको ठाउँ स्वर्ग भन्दा ठूलो भनेका छन् । त्यसैले आजको हाम्रो देश नेपालका निर्माता पृथ्वीनारायण शाह हुन् । जसले हामीलाई नेपाल र नेपालीको पहिचान दियो देशमा हुनुपर्ने न्यूनतम सबैथोक दियो त्यो व्यक्ति सबैका लागि आदरणीय र पूजनीय हुन्छ । त्यस माथि उनी राजा नै थिए । उनले बनाएका वा गुन लगाएका व्यक्ति तथा समुदायले त उनलाई राष्ट्र निर्माता र यसको नायक मान्नु अत्यन्त स्वाभाविक हो ।
धेरै लामो समयसम्म राजतन्त्र सामन्तवादको प्रतीक थियो र त्यसले बहुसंख्यक समुदायलाई उत्पीडनमा राख्यो । त्यसकारण त्यसको विरोध भयो र त्यसका रखवालाहरू जन भावनाको विपरित जाँदा पदच्यूत हुन पुगे । तर पनि जसले देश बनायो, हामीलाई पहिचान दियो त्यसको महिमा गान हुनुपर्छ । भन्ने केही राजनैतिक शक्तिहरू अहिले नेपालमा पुनः सक्रिय भइरहेका छन् ।
अहिलेको अल्पमत तथा विभिन्न टुक्राहरू जोडिएर बन्न लागेको सरकारलाई राष्ट्रिय एकता दिवसको रूपमा त्यो सामन्तवादी विरासतलाई ब्युँताउनुपर्छ भन्ने दबाव र प्रभाव दिइ राखिएको छ । के नेपाल देशका निर्माता भनिने पृथ्वीनारायण शाह सबैका लागि नायक थिए । के सबै जना मस्तक भएर उनको महिमा गाउनुपर्ने कुनै बाध्यता छ । देशमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि सामन्तवादको अवशेषको जयगान गाउनुपर्ने आवश्यकता छ ।
काल माक्र्सले कुनै पनि देशका शासकहरूलाई श्रमिक वर्गको सबैभन्दा ठूलो वर्ग दुश्मन मान्छन् । त्यही सिद्धान्तको जगमा टेकेर कम्युनिष्ट क्रान्ति गरिन्छ । नेपालका सबै कम्युनिष्ट घटकहरूले राजतन्त्रलाई त्यसैगरी हेरे र त्यसको अन्त्यका लागि नेतृत्व दायी भूमिका खेले । शासक सबैका वर्गदुश्मन नहुन सक्छन् । तर दलितलाई त सबैखाले शासकहरू वर्गदुश्मन थिए । यो प्रसंग पृथ्वीनारायण शाहको हकमा पनि लागू हुन्छ ।
पृथ्वीनारायण शाहले पश्चिम नेपालको सानो राज्य गोरखाबाट आफ्नो एकीकरण अभियानको थालनी गर्ने सोच बनाउँदा उनीसँग पर्याप्त रकम थिएन जसको आधारमा उनले हतियार र प्रविधि जोड्न सकून् । त्यतिबेला तोपगोलाको आविष्कार र प्रचलन भइसकेको थियो ।तर उनीसँग ती उपलब्ध थिएनन् । त्यसैको जोहो गर्न उनलाई बनारस जानुपर्ने भयो ।
पृथ्वीनारायण शाह तथा उनका कुनै पनि सन्ततिले नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कुनै पनि दलित समुदायलाई पुरस्कृत गरेको देखिएन । बरु असली हिन्दुस्तान बनाउने नाउँमा जात व्यवस्था र त्यस भित्रको छुवाछूत, अपमान र घृणालाई संस्थागत गरे
नगरा बजाउने तथा कपडा सिलाइ दिने बिसे नगर्चीको घरमा पुगेर उनले आफ्नो समस्या बताए । बिसे नगर्चीले पहिले गोरखामा कति घर धुरी छन् । भनी प्रश्न गरे । राजाले भने ६ हजार नगर्ची घर भित्र पसे र राजालाई एक रुपैयाँ चढाए । ‘एउटा दमाईबाट एक रुपैयाँ राजालाई दिने भनी पृथ्वीनारायणले अपमान बोध गरे । नगर्चीले सम्झाए । कुरा बुझेपछि उनले सबै घर धुरीबाट एक एक रुपैयाँ उठाएर ६ हजार चाँदीको मोहर जम्मा पारे । सो सम्पत्ति सहित उनी बनारस गए । युद्ध लड्दा सगोत्रीहरूको पनि हत्या गर्नुपर्ने भएकोले उनले पहिले आफ्नो गोत्र फेरे । त्यसपछि एकजना गोला बारुद बनाउन जान्ने मुस्लिम र एकजना हतियार बनाउन जान्ने लाटो कामीलाई साथैमा ल्याएर हतियार बनाउन लगाए । त्यही हतियारको बलमा उनले एकीकरण अभियान थाले ।
राज्य संचालन र त्यो पनि युद्धमा गुप्तचरीको ठूलो महत्व हुन्छ । यसको सफल संचालन विना युद्ध जित्न असंभव जस्तै हुन्छ । त्यतिबेला गोरखाका मनिराम गाइनेले पृथ्वीनारायण शाहको वीरताको गाथालाई कर्खाको माध्यमबाट जनस्तरमा पुर्याए । उनको पक्षमा महत्वपूर्ण सूचनाहरू संकलन गरेर राजालाई सघाए ।
लाटो कामीसँग कामीहरूको एक हूल नै थियो जसलाई उनले हरेक युद्धमोर्चाहरू नजिक आरन बनाउन लगाएर हतियारको अकण्टक आपूर्तिको व्यवस्था मिलाएको भनिन्छ । एउटा आरन र अग्निको कस्तो भूमिका रहन्छ । सृजनामा भन्ने सुन्दर वर्णन अहिलेको चर्चित अग्नि महा काव्यमा डा.नवराज लम्सालले गरेका छन् । बिसे नगर्चीको बयान कवितामा श्रवण मुकारुङले बिसे नगर्चीलाई प्रख्यात बनाए
विद्रोहको प्रतीकको रूपमा डा. पृथ्वीनारायण शाहसँग युद्ध मोर्चामा लड्नेहरू उनका ठकुरी वंशका व्यक्ति तथा अन्य क्षत्रीहरू मात्र थिएनन् त्यसमा मगर र गुरुङहरू पनि प्रशस्तै थिए । नेपालको एकीकरण सकिएपछि उनको भारदारी सभामा शाह, पाँडे, बस्नेत, थापाहरू परे र उनीहरू सबै शासकको रूपमा स्थापित भए । यता गुरुङ र मगरलाई उनले आफ्नो सेनामा उच्च ओहोदामा राखेर पुरस्कृत गरे ।
त्यति मात्र नभई बनारसबाट ल्याएका मुस्लिम कालिगडलाई सेनामा सन्तान दरसन्तान सम्म गोलाबारुद बनाउने काममा स्थायी जागिरको व्यवस्था गरिदिए । ग्यालेक्सी टेलिभिजनले प्रसारण गर्ने युगान्तर कार्यक्रमको एउटा भागमा सेनामा गोला बारुद बनाउने ती मुस्लिम व्यक्तिको पछिल्लो सन्ततिलाई विस्तार देखाइएको छ । यो दृश्य देखेपछि मैले आफूलाई सघाउने लाटो कामी र उनका सन्तानलाई केही पुरस्कृत गरी सेनामा जागिर दिए कि भनेर सोधखोज गरें, तर त्यसको केही छनक पाउन सकिनँ ।
नेपालका दरबारको इशारामा इतिहास बनाउने र लेख्ने कुनै पनि स्थापित इतिहासकारहरू बिसे नगर्चीको बारेमा केही लेखेको छैन । कताबाट प्रगतिशील साहित्यकार तथा नाटककार भीमनिधि तिवारीले आफ्नो बिसे नगर्ची भन्ने एकांकी नाटकमा यो सबै कुरा लेखे र हामीले उनको बारेमा थाहा पायौं । केही दलित अधिकार कर्मी त्यसमा पनि खासगरी परियार समाजले बिसे नगर्चीको सालिकलाई गोरखाको मुख्य बजार चोकमा राख्न खोज्दा त्यसको विरोध गरियो । धेरै समयसम्म त्यो सालिक अलपत्र पर्यो र पछि कुनै एउटा कुनामा स्थापित गरियो ।
मनिराम गाइने र उनका सन्तति कता हराए कता, कहीं कतै त्यसको सोधखोज तथा चर्चा छैन । राज्यले स्थापित गरेको कला, साहित्य तथा संगीतलाई प्रवर्द्धन गर्ने निकायमा यी सारंगी वादकलाई कहिल्यै पनि प्राज्ञको रूपमा स्वीकार गरिएन, उनीहरू बाँच्नकै लागि पनि सधैं भीख माग्नुपर्ने स्थितिमा रहे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend