जन आकाश
पर्वत। जिल्ला सहकारी संघ लिमिटेड पर्वतको अध्यक्षमा पर्वतका अगुवा सहकारीकर्मी शेषराज रेग्मी निर्विरोध निर्वाचित हुनु भएको छ ।
संघको मंगलवार सम्पन्न विशेष सधारणसभाले रेग्मीको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा लाल बहादुर अधिकारी, सचिवमा ऋषिराम भुषाल र कोषाध्यक्षमा देवी क्षेत्री लामिछाने निर्वाचित हुनु भएको छ ।
सञ्चालक समितिका सदस्यहरुमा तारानाथ पाध्या, यज्ञप्रसाद शर्मा र गणेश बहादुर पुन मगर रहनु भएको छ । लेखा सुपरीवेक्षण समितिको संयोजकमा घनश्याम उपाध्याय तथा सदस्यहरुमा राजेन्द्र खड्का र धन बहादुर कुँवर चयन हुनु भएको छ ।
लामो समयदेखि निष्क्रिय रहेको जिल्ला सहकारी संघ पर्वतको विशेष साधारणसभाबाट निर्वाचित सञ्चालक समितिले जिल्लाको सहकारी अभियानलाई एकतावद्ध बनाएर अगाडि बढाउने प्रतिवद्धता नवनिर्वाचित अध्यक्ष रेग्मीले गर्नु भएको छ ।
साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले सहकारी अभियानलाई बचाउनका लागि सहकारीका सदस्यहरुलाई सहकारी सचेतनामा वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारी अभियानलाई प्रभावकारी र सदस्यमैत्री बनाउनका लागि संघहरुको भूमिका बढाउन आवश्यक रहेको बताउनुभयो ।
जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका संस्थापक अध्यक्ष गोविन्द पहाडीले जिल्ला सहकारी संघ क्रियाशिल नहुदा पर्वतको सहकारी अभियान ओझेलमा परेको चर्चा गर्दै आगामी दिनमा सक्रिय भएर अगाडि बढ्न सुझाव दिनुभयो ।
कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्माले कुश्मा नगरपालिका भित्रका सहकारीको संस्थागत विकास र सुशासनका लागि नगरपालिकाले राष्ट्रिय सहकारी बैंक लगायतका निकायहरुसंग समन्वय गर्दै अगाडि बढेको बताउनुभएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघ पर्वतका प्रतिनिधि तथा राष्ट्रिय सहकारी महासंघ गण्डकी प्रदेश समन्वय उपसमितिका सदस्य देवी क्षेत्री लामिछानेको अध्यक्षता, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष शेषराज शर्माको स्वागत र सचिव ऋषिराम भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend