logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशन मङ्सिरभित्रै, मिति केन्द्रीय समितिले तोक्ने


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मङ्सिर मसान्तभित्र सम्पन्न गर्ने भएको छ। नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले तय गर्ने जानकारी दिएका छन्।



महामन्त्री राणाका अनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहणपछि बस्ने बैठकले अधिवेशनको मिति निर्धारण गर्नेछ। अधिवेशन छठलगत्तै वा मङ्सिरको अन्तिमतिर हुन सक्ने भए पनि अन्तिम निर्णय केन्द्रीय समितिबाटै हुने उनले बताए।

गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको कांग्रेसले समयको चापका कारण जिल्ला र प्रदेश अधिवेशन भने बाँकी राखेको थियो। त्यसबेला वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सम्पन्न गरी केन्द्रीय महाधिवेशन गरिएको थियो।

केन्द्रीय महाधिवेशनका लागि आवश्यक पर्ने अधिवेशनलाई प्राथमिकता दिँदै बाँकी अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय गरिएको थियो।

कांग्रेसका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ। एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका लागि आवश्यक प्रक्रिया पूरा गरिएकाले त्यहाँ जिल्ला अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि बाँकी जिल्ला र प्रदेश अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तय गर्ने बताए। उनका अनुसार अधिवेशनको समय मङ्सिरभन्दा पर जाने सम्भावना छैन। अब केन्द्रीय कार्यसमितिको निर्णयपछि कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend