जन आकाश
काठमाडौं । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले गुरागाईंले दिएको राजीनामा कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार गुरागाईंले मंगलबार पदबाट राजीनामा दिएका थिए। पदको दुरुपयोग गरेको आरोप लागेपछि उनले राजीनामा दिएको जनाइएको छ।
गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको तथा अदालतको आदेशविपरीत कर्मचारी बढुवाका लागि सिफारिस गरेको विषयलाई लिएर विवादमा तानिएका थिए।
आयोगको निष्पक्षता र कार्यसम्पादनमाथि विभिन्न क्षेत्रबाट प्रश्न उठ्दै विरोध हुन थालेपछि उनीमाथि नैतिक दबाब बढेको थियो। निरन्तर विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका हुन्।
गुरागाईंको राजीनामा स्वीकृत भएसँगै कोशी प्रदेश लोक सेवा आयोगको नेतृत्वमा नयाँ नियुक्तिको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय चासोको विषय बनेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend