logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बागलुङका सहकारीकर्मीहरुले जारी गरे १५ बुदे घोषणापत्र


  • जन आकाश
  • आइतबार, फाल्गुन २१ २०७९

 



बागलुङ । बागलुङका सहकारी कर्मीहकरुले सहकारीमा व्यक्तिगत बचतको सिमा २५ लाख रुपैया राख्ने प्रस्ताव खारेजी लगायत १५ बुदे घोषणापत्र जारी गरेका छन्
बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा शनिवार सम्पन्न सबल सहकारी निर्माणमा सञ्चालकको भूमिका विषयक सहकारी गोष्ठी सहभागीहरुले १५ बुदे घोषणापत्र जारी गरेका हुन् ।

सहभागीहरुको तर्फबाट १५ बुदे घोषणा पत्र सार्वजनिक गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीमा आन्तरिक कारणले आएका समस्या आफै समाधान गर्न तथा अन्य क्षेत्रका कारण आएका समस्या समाधानका लागि सरोकारवालाहरुसंग सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

घोषणापत्रमा सहकारी संस्थाको दिगो विकासका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उप–समितिहरुले आफ्नो भूमिका सकृयताका साथ निर्वाह गर्ने, हालको परिस्थितिमा तरलता व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको हुनाले आफना सहकारी संस्थामा कम्तीमा १५ प्रतिशत तरलता कायम राख्ने तथातरलता संकट व्यवस्थापनका लागि कोषको व्यवस्था गर्न राज्यसंग माग गरिएको छ ।

सहकारी अभियानको छवि (साख) उच्च बनाउन, सहकारी क्षेत्रप्रति विश्वासको वातावरण बनाउन सरकार र अभियानका तर्फबाट तत्काल पहल गर्न माग गर्ने, केही नेपाल ऐनलाई संशोधन गर्न प्रस्तावित विधेयक २०७९ मा प्रस्तावित व्यक्तिगत वचतको सिमा २५ लाख राख्ने प्रावधान खारेज गर्न माग गरेका छन् ।

यस्तै अनुगमन प्रभावकारीताका लागि नियामक निकायहरु सगँ सहकार्य गर्दै सहकारी क्षेत्रको अनुगमन नियमनका लागि दोस्रो तहको नियामक निकाय Second Tire Institution STI_ गठन गर्न माग गर्ने, सहकारी संघ संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउनुका साथै प्रभावकारी अनुगमन निमयनका लागि सरोकारवाला निकायसंग समन्वय गर्ने, सहकारी संस्थामा सुशासन कायम राख्न ऐन कानुनको पुर्ण परिपालना गर्ने, सन्दर्भ ब्याजदर तत्काल खारेज गरी ब्याजदर स्वतन्त्र रुपमा बजारलाई निर्धारण गर्न दिइनु पर्ने माग सहकारीकर्मीहरुले गरेका छन् ।

घोषणापत्रमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण तत्काल स्थापना गर्नु पर्ने, ऋण नतिर्न उर्दी जारी गर्ने समुह तथा व्यक्तिलाई सामाजिक बहिष्कार गर्ने, सुरक्षित कार्यालय व्यवस्थापन, सुुरक्षित ऋण लगानी, सदस्य, समुदाय र सरकारसँग सुमधुर र समन्वयकारी सम्बन्ध कायम राख्ने, सहकारीका नकरात्मक विषयले प्राथमिकता पाइरहेको वर्तमान समयमा सहकारीमार्फत भएका सकारात्मक लेख रचना प्रकाशन गर्ने, सहकारी संस्थाका सञ्चालक र कर्मचारीसंग रहेको ऋण तत्काल असुल गर्ने र संकटको अवस्थामा सहकारीहरुबीच समन्वय र सहकार्य गर्दै समस्या समाधानका लागि ऐक्यवद्धता जाहेर गर्ने उल्लेख छ ।

सहकारीकर्मीहरुले १५ बुदे घोषणा पत्र पारित गर्दै कार्यान्वयनका लागि सबैलाई आग्रह गरेको जिल्ला बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवरले जानकारी दिएका हुन् ।

जिल्लामा क्रियाशिल ८५ वटा सहकारी संघ संस्थाका प्रमुख अतिथि प्रतिनिधिहरु सहित सहकारी अभियानका अगुवाहरुको सहभागितामा सम्पन्न गोष्ठीको उद्घाटन गण्डकी प्रदेशसभाका उपसभामुख बिना कुमारी थापाले गरेकी थिइन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend