logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नारी दिबस


  • जन आकाश
  • बुधबार, फाल्गुन २४ २०७९

 



डा. अमर कार्की, वेस्ट पाम बिच , फ्लोरिडा,अमेरिका

आमा तिमीले दुनियाँ देखायौ

प्रीय तिमीले बाँच्न सिकायौ

छोरी तिमीले हाँस्न सिकायौ

सबै मिली एउटा मान्छे बनायौ

नारी तिमीले यो संसार बनायौ

हजुरआमा, आमा, दिदी, बहिनी, श्रीमती, छोरी अनि नातिनी सबै नारी त हुन्। सबै नारीहरुलाई शुभकामना १ हामीले नारीको हक हितकाबारेमा सयौँ पुस्तक लेखेका छौँ, थुप्रै कार्यक्रम , सभा र गोस्ठीहरु गरेका छौँ। अझै पनि गर्ने छौँ। मैले पनि यस बिषयमा धेरै लेखेको छु र बोलेको छु । तर के साँच्चै परिबर्तन आएको छ ? आज म यही प्रश्नको उत्तर माग्दै छु ।

प्रकृतिले सृष्टिको लागि भाले र पोथी बनायो । भालेलाई शारिरिक रुपमा बलियो बनायो । पोथीलाई सुन्दर, नरम र दायालु बनायो । अनि सृस्टिको ९९५ अभिभारा पोथी वा आमालाई दियो । हो यहीँ नेर आएर अन्याय गर्यो, पक्षपात गर्यो प्रकृतिले । असमानता त यहीँबाट शुरु भएको हो नि । तर हामी भाले र पोथी मात्रै हौँ र ? हामी त बुद्दि जिबी प्राणी हौँ, मानब हौँ। त्यो पनि २१ सौं शताब्दिको ।

आज भन्दा हजारौँ बर्ष पहिले जब मानब जातीहरुले खेतिपाती र कमाइ गर्ने चलन थिएन त्यतिबेला एउटा परिवारको मुली महिला हुन्थिन रे । उनकै खटनपटनमा बाकी सदस्यहरु चल्दथे । तर जब खेतिपाती र पशुपालनको चलन आयो तब पुरुषहरु बलिया हुने भएकाले बाहिर काममा उनीहरु नै जाने भए । उनीहरुले कमाएर लेराए र परिवारको पालनपोषण हुन थालेपछि उनीहरुको हैकम चल्न थाल्यो । एउटा परिवार, समाज र सँगठनको प्रमुख सबैभन्दा बलियो ब्यक्ति भयो । त्यो अबस्य पुरुष नै हुने भयो । बिस्तारै जब चेतना बढ्दै गयो अली पढे गुनेका पन्डित र गुरुहरुले डरले भनौँ या गुलामीले तिनै पुरुषहरुको हित हुने गरि, उनीहरुलाई देबता सरह बनाएर वा पापको डर देखाएर शास्त्र लेखे , नियम कानुन बनाए । त्यसैलाई धर्म र संस्कारको रुपमा स्थापना गराए । पुरुषलाई ठुलो बनाउने र फाइदा पुर्याउने धर्म संस्कारको उनीहरुले बिरोध गर्ने त कुरै भएन । स्वयम महिलाहरुले पनि पुरुषहरुलाई खुशी बनाउनको लागि यि चिजहरुलाई प्रसय दिइ नै रहे र आज पनि दिदै छन् ।

बास्तबमा चेतना आउन र लेराउन समय र परस्थिति बाधक होइन बाहना मात्र हो। यसको ज्वलन्त उदाहरण हो युगमाया । आजभन्दा सय बर्ष अघि, जुनबेला एउटा छोरी भएर जन्मनु अभिषाप नै मानिन्थ्यो, त्यतिबेला एउटा दुर्गम क्षेत्रमा एक अशिक्षित महिलाले नारी अधिकार र सामाजिक बिकृति बिरुद्द आन्दोलन गरेको इतिहास हो युगमाया। तर त्यो बेलाको समाज र पुरुषबाट पनि उनको हिम्मतलाई सहयोग मिलेको थियो भने आज त परस्थिति धेरै फरक छ । तै पनि आजका शिक्षित , सम्पन्न अनि स्वतन्त्र महिलाहरु पनि धेरै पक्षपाती कुप्रथालाई कायम राख्न मद्दत गरिरहेक छन र आफुले पनि पालन गरि रहेका छन् । किन त ?

हिम्मत गरे नारी सर्बोपरी

नत्र त सधै अबला नारी

मेरो छोरीको एउटा साथी एउटा सँस्थामा इन्जिनियरको जागिर खान गैइन् । जागिर शुरु गरेको दुई महिना पछि उनले के थाहा पाइन भने उनकै पदमा काम गर्ने उनको केटा साथीले उनको भन्दा बार्षिक २० हजार डलर बढि तलब पाउदा रहेछन् । उनले पनि आफ्नो तलब त्यही बराबर गर्न माग गर्ने बिचार गरिन् । उनलाई डर पनि लाग्यो कतै उनको जागिर जाने त होइन भनेर । तर उनले यो आफ्नो अधिकार हो र यसको लागि लड्नै पर्छ भनेर अठोट गरिन् । आफ्नो हाकिमकोमा यो कुरा लिएर माग गर्न गैइन । त्यहाँ उनीहरुको निकै बहस भयो । त्यसपछि उनी अर्को जागिर खोज्न पनि थालिसकेकी थिइन् । तर केही दिन पछि उनको तलब बढाएर केटा इन्जिनियरको बराबर गरिएको पत्र आयो ।

हामीमा डर छ । धर्म र सँस्कृतिको डर । समाजको डर । नत्र के बिकसित मुलुकमा बसेका र घुमेका नेपाली नारीहरुले देखेका र बुझेका छैनन त हिन्दु बाहेक अरबौ अरु महिलाहरु पनि महिनावारी हुन्छन् । तर ति पर सर्दैनन भनेर । ति पनि आ आफ्ना भगबान पुज्छन खै त ति भस्म भएका , खै त तिनलाई पाप लागेको ?

 

कहाँबाट आयो कुन्नि यो महिला पर सर्ने चलन ।

को हो चलाउने सबैभन्दा पहिला पर सर्ने चलन ।

संसार भरी सबै महिलाहरु महिनाबारी हुन्छन्

हाम्लाई मात्र किन चाहिने होला पर सर्ने चलन ।

हामी हाम्रा छोरीहरुलाई हाम्रो कुसंस्कार अनुसार ढ्ल्न बाध्य बनाउछौं, यही रित सिकाउछौँ । हामीले त छोरीहरुलाई सहज हुने गरि हाम्रो संस्कारलाई पो बदल्नु पर्ने होइन र ? मेरो खुल्ला प्रस्न आजको लागि महिलाहरु सँग । अझैँ कानुन बनाउन हैसियत राख्ने महिला जमातसँग । बिडम्बना हेर्नु त

लोग्ने म त पहिले खाएँ पछि तिम्ले खायौ
चुलो चौका सकिवरी जागिरमा नी धायौ
राष्ट्रपति महिला देशको तर लाजमर्दो कानुन
म नै चाहिने नागरिकतामा छोरी तिम्ले पायौ !

झट्ट हेर्दा गौण लाग्ने यिनै कुराहरुले नारीहरुमा मनोबल घटाउँछ । महिलाहरुले आफु भित्रको यो डरलाई परास्त गर्नु पर्यो । सामाजिक, आर्थिक, साँस्कृतिक , शैक्षिक र राजनैतिक अधिकार लिनको लागि लडाइँ आफैभित्रबाट सुरु गर्नु पर्छ ।

अन्तमा सबै नारी आमा हुन् र हुन्छन त्यसैले उनीहरुको लागि यि दुई हरफ लेखेको छु ।

तिम्रो काख भन्दा अरु केही, नरम छैन मलाई

तिम्रो सामु यो शिर झुकाउन, शरम छैन मलाई

मठ, मन्दिर र चर्च कतै जान्न म आमा, किनकि

भगबान भन्दा महान हौ तिमी, भरम छैन मलाई !

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend