logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

राज्यसमक्ष व्यवसायीका आवाज पुर्याउन मेरो उम्मेद्धारीः कार्की


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

 



राजकुमार कार्की ‘राजु’, केन्द्रीय सदस्यको उम्मेदवार, नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि उद्यमी राजकुमार कार्की ‘राजु’ले उम्मेदवारी दिएका छन् । उनले बस्तुगततर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । साना, मझौला लगायत सम्पूर्ण व्यवसाय तथा क्षेत्रमा अहिले आर्थिक मन्दिको असर देखिएको र यस्तो परिस्थिति समाधानका लागि राज्यसमक्ष व्यवसायीका आवाज पुर्याउने लक्ष्यसहित महासंघमा उम्मेदवारी दिएको बस्तुगत समूहका केन्द्रीय सदस्य कार्कीले बताएका छन् ।

आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, सेवा क्षेत्र, आयुवेर्दिक तथा जडिबुटी क्षेत्र, स्टक मार्केट, वैदेशिक रोगगार (मेन पावरका) क्षेत्र लगायतमा देखिएका नीतिगत तथा कानुनी अप्ठ्यारालाई निराकरण गरी नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउने यात्रामा व्यावसायिकता र उद्यमशीलतालाई मजबुत बनाउनका लागि उम्मेदवारी दिएको कार्कीले बताएका छन् ।

उनले भने, “‘मेरो मुख्य लक्ष्य भनेको सहयोग र सहभागिता हो । राज्यलाई पनि सहयोग गर्ने र राज्यसँग सहभागी हुने । वस्तुगत संघका साथीहरुको समस्या तथा मुद्धा समाधान गर्न लाग्ने लक्ष्य छ ।”

इलाममा जन्मिएका र व्यावसायिक यात्रा पनि इलामबाटै सुरु गरेका कार्की निर्यात व्यवसायमा सक्रिय छन् । ‘विदेशी मुद्रा नेपाल भित्र्याउने अभियानमा छु,’ उनी भन्छन्, ‘मुलुकको समृद्धिका लागि निर्यातलाई प्रवर्द्धन गर्नुको विकल्प छैन ।’

कार्की निर्यात व्यवसायी संघको संस्थापक केन्द्रीय सदस्य, नेपाल अदुवा उत्पादक संघको संस्थापक उपाध्यक्ष, नेपाल अलैची व्यवसायी महासंघको निवर्तमान अध्यक्ष तथा नेपाल कुचो संघको अध्यक्ष भएर काम गरिरहेका छन् । व्यावसायिक तथा सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवबाट निजी क्षेत्रको छाता संस्थामा पुगेर सक्रियताका साथ काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend