logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

अर्नब चक्रवातले भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति


  • जन आकाश
  • बुधबार, कार्तिक १२ २०८३

काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेपछि तीन जनाको मृत्यु भएको छ। चक्रवातका कारण ३१ घरमा क्षति पुगेको छ भने रूख र बिजुलीका पोल ढल्दा सडक अवरुद्ध हुनुका साथै विद्युत् आपूर्ति प्रभावित भएको छ।



भारतीय सञ्चारमाध्यमका अनुसार रूखले थिचिएर तथा बिजुलीको तारमा छुँदा तीन जनाको मृत्यु भएको हो। चक्रवातका कारण आन्ध्र प्रदेशका काकिनाडा, विशाखापट्टनम र आसपासका क्षेत्रमा बढी क्षति पुगेको छ।

भारतीय मौसम विभागका अनुसार बुधबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्दा चक्रवातको हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो। झोक्कासहित हावाको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुगेको जनाइएको छ।

चक्रवात कमजोर हुँदै गए पनि आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएको छ भने छिमेकी ओडिशामा पनि ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चक्रवातका कारण हवाई तथा रेल सेवा प्रभावित भएका छन्। अधिकारीहरूले अवरुद्ध सडक खुलाउने र विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम गरिरहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend