logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मुर्ति निर्माण तालिम सम्पन्न जिर्ण मुर्तिहरु पुनःनिर्माण गर्न सक्छौ सहभागीहरु


  • जन आकाश
  • शुक्रबार, बैशाख २९ २०८०

काठमाडौं  । काठमाडौंको बागबजारमा एक महिने मूर्ति निर्माण तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरको आयोजनामा बागबजारमा सञ्चालित एक महिने मूर्ति निर्माण तालिम कार्यक्रम सम्पन्न भएको हो ।



विभिन्न जिल्लाबाट सो कार्यक्रममा एघार सहभागीहरु भएको कार्यक्रम संयोजक लक्ष्मी रुम्बाले बताएकी छन् । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको स्थापनाकालदेखि नै बौद्ध , धर्म दर्शनसँग जोडिएकोमा सम्वद्र्धन र प्रवद्र्धनका लागि वार्षिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएकोमा यो कार्यक्रम पनि पर्न गएको उनले बताइन् ।

यो कार्यक्रम नेपालभरि रहेका विभिन्न आस्थाका प्राचीन मूर्ति एवम् गुम्बाहरुमा जीर्ण भएकाहरुलाई पुनस्थापना गर्न यो तालिमको आयोजना गरेको उनको भनाई थियो ।

रुम्बाका अनुसार गाउँगाउँमा जीर्ण र भत्किएका मूर्तिहरु मर्मत–सम्हारका लागि जनशक्ति उत्पादन गर्न यो कार्यक्रमको आयोजना गरेको हो । स्थानियस्तरबाट नै एक अभियानका रुपमा पुराना मूर्तिहरुलाई मर्मत गरेर नयाँ बनाउन र स्थापना गर्न सहज हुने उनले बताइन् । साथै एक महिनासम्म गरेको यस तालिम कार्यक्रमले एउटा आधार तय गर्ने उनको दावी थियो ।

 

बागबजारकै एक होटलमा बसेर एक महिनासम्म प्रशिक्षण दिएको प्रशिक्षक भिम श्रेष्ठले बताए । समापनको कार्यक्रममा उनले कुन तवरमा मूर्ति निमार्ण गर्ने भन्ने कुराहरु सिकाउन पाएको उनले बताए । करिब तीन दशकदेखि मूर्तिकला र चित्रकलामा रमाएका उनले यस प्रशिक्षणमा प्रशिक्षर्थीहरु नयाँ भए पनि राम्ररी सिकेको बताएका छन् ।

सहभागीहरु रामेछापको मन्थली नगरपालिका–११ बाट ग्याल्चन लामा र रामेछाप नगरपाकिला –८ बाट रामकृष्ण तामाङ, ताप्लेजुङ जिल्लाका मिरिङदेन गाउँपालिका–२ बाट दावा ओङजु शेर्पा र मिरिङदेन गाउँपालिका–५ को थुपकमाबाट दा नोर्बु शेर्पा सहभागी भएका छन् ।

यसैगरी सोही जिल्लाको मिक्वाखोला गाउँपालिका–४ थलङबाट निमा तेन्जी शेर्पा, साँघुबाट निमा दार्ची शेर्पा र ङिमा छिरिङ शेर्पा रहेका छन् भने सोही गाउँपालिका–५ फाकुम्बाबाट निमा छिरिङ हिसी शेर्पा सहभागी भएका छन् ।

यस्तै ताप्लेजुङ जिल्लाकै फुङलिङ नगरपालिका–९ को हाङदेवाबाट पेम्बा टासी शेर्पा र संखुवासभाको चैनपुर नगरपालिका–३ पोखरीबाट फुर्बा शेर्पा,सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१४ बाट ज्ञानबहादुर ब्लोन तामाङ रहेका छन् ।

ताप्लेजुङ जिल्लाबाट आएका निमा दार्ची शेर्पाले सञ्चारकर्मीहरुसँगको कुराकानीको क्रममा ,‘यस्तो प्रशिक्षण पाएकोमा खुशी छु । पहिले कहिल्यै नलिएकाले अब केही गर्न सकिन्छ जस्तो लागेको छ । यस तालिममा पहिले हामीले माटो र र्फमाबाट पनि सिक्यौँ । अब त फाइबरबाट पनि बनाउन सकिन्छ ।’ उनका अनुसार एक महिनासम्म होटलमा नै बसेर उक्त प्रशिक्षर्थीहरुले प्रशिक्षण लिएको बताए थिय।

 

यसैगरी मन्थलीबाट आएका ग्याल्चन लामाले आफ्नो अनुभव सुनाउँदै भने,‘ गाउँमा भएका जीर्ण मूर्तिलाई अब आफै मर्मत गर्न सकिन्छ ।’ उनले सिकेको सिपलाई आफ्नो गाउँमा आउने पिँडीहरुलाई आदानप्रदान गर्ने बताए । यो एक महिने तालिम खासै नपुगेको उनी बताउँछन् तर यसले थोरै भए पनि मर्मतसंहारमा भने टेवा पुग्ने बताए । आउँदा दिनमा यस किसिमको तालिमको वृहत रुपमा भए राम्रो हुने उनी बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend