जन आकाश
बागलुङ । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले सहकारीमार्फत कृषकहरुलाई उत्पादनमा थप केन्द्रीत बनाउने योजना निर्माणको अन्तिम चरणमा रहेको बताउनु भएको छ ।
राष्ट्रिय सहकारी बैंकले स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहकारीका क्षेत्रमा काम गर्नका लागि पेश गरेको सुझाव बुझ्दै गाउँपालिका अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।
उत्पादनसंग जोडिएको जनशक्ति विस्तारै पलायन हुने अवस्था सिर्जना भएको छ, कृषि क्षेत्रबाट पलायन हुदै गएको जनशक्तिलाई कृषिमै केन्द्रीत गर्नका लागि सरोकारवालाहरुसंग समन्वय गरेर काम गर्ने गरी अगाडि बढ्न लागिएको बताउनु भएको छ ।
सहकारीमार्फत काठेखोलावासीलाई के गर्न सकिन्छ, कसरी उत्पादन वृद्धि गर्न सकिन्छ भन्ने विषयमा पालिकाले योजना बनाउन थालेको भन्दै उहाँले आगामी वर्षको बजेटमा सहकारीको प्रवद्र्धनका लागि बजेट व्यवस्थापनका सहकारी शाखालाई निर्देशन गरिएको जानकारी दिनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष तिलक पुनले पालिकाको राजस्व परामर्श समितिमा सहकारीका प्रतिनिधिलाई आमन्त्रण गर्ने विषयमा छलफल भएको र आगामी वैठकबाट सहभागी गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
बैंकले बुझाएको १४ बुदे सुझाव पत्रका बारेमा जानकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले पालिका भित्रका सहकारीहरुको संस्थागत विकाससंगै सहकारीमार्फत वित्तीय साक्षरता, सहकारी सचेतना अभिवृद्धि गरी सदस्यहरुलाई आयआर्जनमा केन्द्रीत गर्नका लागि पालिकासंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
बैंकका सञ्चालक जिसी र बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक पुन र प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमलाई ध्यानाकर्षण गर्दै १४ बुदे सुझाव बुझाउनु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend