logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

रामेछाप पत्रकारको कार्यालयमा साचो


  • जन आकाश
  • आइतबार, असार ३ २०८०

रामेछाप ।  नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभए पछि प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा  ताला लगाएको छ ।



शनिबार प्रेस चौतारीले कालो झन्डा राखेर कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ रामेछापले मापदण्ड विपरीत सरकारी जागिरे र निष्क्रिय रहेकालाई पनि राजनीतिक आस्थाको आधारमा सदस्य कायम नै राखेको र प्रेस चौतारीका सदस्यको सदस्यता भने खारेजको निर्णय गरेपछि चौतारीले शनिबार कार्यालयमा ताला लगाइदिएको हो । प्रेस चौतारीले निर्णय सच्याउन ४८ घण्टाको समय दिएको भए पनि सो अवधिमा महासंघले निर्णय नसच्याएकाले तालाबन्दी गर्नु परेको प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिनुभयो । पुरानो सदस्यता सुद्धिकरणमा मात्र होइन नयाँ सदस्य सिफारिसमा समेत चौतारी आबद्ध पत्रकार माथि विभेद गरिएकोले बाध्य भएर ताला लगाइएको श्रेष्ठले बताउनुभयो ।

प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न पत्रकार महासंघको नेतृत्वलाई आग्रह गरेको थियो । निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चौतारीले घोषणा गरेको छ ।

त्यस अघि प्रेस चौतारी नेपाल रामेछाप र प्रेस सेन्टर रामेछापले जेठ २८ गते पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेलाई भेटेर ध्यानाकर्षण पत्र समेत बुझाएको थियो । जसमा शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९  अक्षरशः पालना गरेर अघि बढ्न आग्रह गरिएको थियो । तर लगत्तै महासंघ नेतृत्वले आफू निकट दल विशेष पार्टीका कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यता प्राप्त गर्नबाट वञ्चित गर्ने गरी निर्णय गरेको थियो ।

महासंघले गलत निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासङ्घका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने,  निर्णय नसच्चिएसम्म पत्रकार महासङ्घका सबै गतिविधि ठप्प गराउने र प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने चौतारीको तर्फबाट शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend