logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

पोखरामा उत्रियो पहिलो अन्तर्राष्ट्रिय विमान


  • जन आकाश
  • बुधबार, असार ६ २०८०

चीनको छेन्दुबाट आकाश मार्गको २ हजार किलोमिटरभन्दा लामो दुरी तय गर्दै आएको सिचुवान एयलाइन्सको विमानको गन्तव्य थियो कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल।

किमाथांका हुँदै तिब्बतबाट नेपाल छिरेको सिचुवान एयरलाइन्सको एयरबस ए-३१९ को यो यात्रा नेपालको हवाई उड्ययनका लागि विशेष भएकाले यस क्षेत्रका लागि विशेष चासोको विषय हुनु स्वाभाविक थियो। किनकि कुनै पनि अन्तर्राष्ट्रिय विमान पहिलो पटक पर्यटकीय नगरी पोखरामा अवतरण हुँदै थियो।



अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको आधा वर्ष पूरा भइसक्दा पनि आन्तरिक उडानमा सीमित भएको विमानस्थलमा पहिलो उडान आफैंमा ऐतिहासिक हुने नै भयो। आज बिहान भित्रिएको सिचुआन एयरलाइन्सको यस विमान रेगुलर सेड्युलको फ्लाइट भने होइन। चीनबाट पोखरामा सिधा चार्टर्ड उडान गरेको हो यस विमानले।

चीनको ऋण सहायतमा २८ अर्बभन्दा धेरैको लगानीमा निर्माण भएको पोखरा विमानस्थललाई धेरैले ‘ऋणको पासो’का रुपमा अर्थ्याउँदै आएका छन्। यसखाले अर्थ्याई ६ महिनासम्म उडान नहुँदा स्वाभाविक रुपमा पुष्टि हुनेतिरै देखियो।

चीनको छेन्दु-तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको जहाज आज बिहान  ९ बजेर ९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

विमानलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहितको टोली पोखरामा प्रतीक्षारत अवस्थामा थियो। कुनै पनि विमानस्थलमाथि हुने पहिलो अन्तर्राष्ट्रिय उडानको विशेष अर्थ हुन्छ नै। त्यसैले मन्त्रीसहितको टोलीले स्वागत गरेको हो ।

पहिलोपटक विदेशी विमान ल्यान्ड भयको   पर्यटनमन्त्री किरातीका लागि चीनबाट भएको यो उडानको विशेष अर्थ पनि छ। प्रचार रुचाउने उनका लागि देखाउन सकिने कामको सूचीमा यो उडान पनि थपिएको छ। सोसल मिडियामा उनले त्यसबारे लेखेका पनि छन्।

तिब्बत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही विमानबाट नेपाल फर्किएका छन्। उनीसहितको नेपाली टोली र शुक्रवार तथा शनिवार फेवातालमा हुने ‘ड्रागन बोट फेस्टिभल’मा सहभागी हुने चिनियाँ खेलाडी पनि यसैबाट आएका छन्। सबैगरी १ सय ३५ यात्रु विमानबाट नेपाल आएका छन्।

यो विमानस्थल गत जनवरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १ गते उद्‍घाटन गरेका हुन्। उद्‍घाटनको दिन हिमालय एयरलाइन्सले परीक्षण उडान गरेको थियो। त्यसयताको यो पहिलो अन्तर्राष्ट्रिय उडान हो।

सिचुआन एयरलाइन्सको विमान आज दिउँसो नै चीन फर्किने छ। के पोखरा विमास्थलमा ल्यान्ड भएको चिनियाँ विमानले ‘ऋणको पासो’मा परेको उक्तिलाई मेटाउन भूमिका खेल्छ? त्यसका लागि भने प्रतीक्षा नै गर्नुपर्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend