logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनियर यादवविरुद्ध मुद्दा दायर


  • जन आकाश
  • बिहिबार, असार ७ २०८०

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति कमाएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इञ्जीनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बिहीबार यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइएको जायजेथा जफत तथा कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको हो ।



पदको दुरुपयोग गरी यादवले सेवामा रहँदा भ्रष्टाचार गरेको अख्तियारको अभियोजनमा उल्लेख छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादव २०४८ फागुन १ गतेदेखि सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनी २०७९ जेठ १ गतेसम्म सेवामा वहाल थिए । अवकाशलगत्तै उनीविरुद्ध अख्तियारले गैर कानुनी सम्पत्ति छानबिनको मुद्दा अगाडि बढाएको थियो ।

 

उनले पदमा रहँदा तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैध आयको तुलनामा लगानी तथा खर्च बढी रहेको तथा त्यसको कुनै स्रोत समेत नखुलेको पाइएको आयोगले दायर गरेको मुद्दामा उल्लेख छ । वैध आय भन्दा बढी रहेको एक करोड ४२ लाख ५२ हजार पाँच सय ५० रुपैयाँ बराबरको बिगो कायम गरिएको हो ।

आयोगले गैरकानुनी रुपमा आर्जन गरेको तथा स्रोत नखुल्ने सम्पत्ति पत्नि मञ्जुदेवी यादवको नाममा घरजग्गा खरिद, घर निर्माण, शेयर खरिदलगायतका प्रयोग गरेको पाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend