जन आकाश
काठमाडौं । नेपाल – हिमालय एअरलाइन्स्ले काठमाडौं र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ ।
यस नयाँ सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्नेछ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्स्को विश्वास रहेको छ ।
काठमाडौं–बेइजिङ–काठमाडौं रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत, विष्णु पुकार श्रेष्ठ, दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एअरलाइन्स्को पहिलो उडानबाट बेइजिङको यात्रा गर्नुभयो ।
उनको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फ गहिरो ध्यानाकर्षणको प्रती पनि हो । यात्रुहरूले हिमालय एअरलाइन्स्मा हिमालयन आतिथ्यताको अनुभव गर्दै यस रुटमा यात्रा गर्न सक्नेछन ।
एअरलाइन्स्को पहिलो उडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानिय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो२ बजेर १५ मिनेटमा अवतरण हुने छ ।
उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानिय समय अनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने छ ।
हिमालय एअरलाइन्स्ले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ र काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एअरलाइन्स्ले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend