logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्छः मन्त्री शर्मा


  • जन आकाश
  • आइतबार, साउन २१ २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।



पहिलो नेपाली चलचित्र आमाका अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य बसुन्धारा फाउण्डेशनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्रहरु बिदेशी चलचित्रहरुसित प्रतिष्पर्धा गर्नसक्ने बनाउने आवश्यक रहेको बताउनुभयो ।

यसका लागि सरकारको नीतिगत सहयोग हुने र चलचित्र निर्माताहरुले पनि गुणस्तरमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न त्यही जानुपर्ने अवस्थाको अन्त्य भएको आजको डिजिटल युगमा विभिन्न देशका अभ्यासहरुबाट सिकेर गुणस्तरीय चलचित्र बनाउनतिर ध्यान दिन मन्त्री शर्माले सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने सर्जक र स्रष्टाहरुको सम्मानमा सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताउनुभयो । हिजो श्वेत पर्दाबाट सुरु भएको नेपाली चलचित्र क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले त्यसमा आवश्यक परिमार्जनको काम थालिएको पनि उहाँले जानकारी दिनुभयो । चलचित्र बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

उहाँले समाजका हरेक क्षेत्रमा योगदानहरुको उचित सम्मान हुनुपर्ने बताउनुभयो । ‘सबै मानिस सबै क्षेत्रमा लाग्न सक्दैनन् तर जो जुन क्षेत्रमा लागेको छ, उसले निष्ठापूर्वक काम गरेको छ कि छैन भनेर समाजले मूल्यांकन गर्नुपर्छ’– मन्त्री शर्माले भन्नुभयो– ‘हरेक क्षेत्रमा लागेर समाजका लागि योगदान गर्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्नेहरुको बिचमा समाजले नै भिन्नता छुट्याउनुपर्छ, त्यही नै ठूलो सम्मान हो ।’

राजनीतिक, कर्मचारी वा अन्य कुनै पनि क्षेत्रमा केही मानिसले गर्ने कमजोरीलाई मूलधार बनाउने र राम्रो काम गर्नेहरुको चर्चा नहुने परिपाटी समाजका कायम रहेको उल्लेख गर्दै उहाँले यसलाई सच्याएर हरेक क्षेत्रमा राम्रो काम गर्नेहरुलाई सतहमा र नराम्रो काम गर्नेहरुलाई किनारामा राख्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली चलचित्र क्षेत्रमा महिलाको प्रवेश सुरु गराउने भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालको भूमिका प्रशंसा गर्दै उहाँले भन्नुभयो– ‘आज पनि छोरीलाई हरेक काममा छोरासरह जिम्मेवारी दिन आनाकानी गर्ने नेपाली समाजमा त्यतिबेला छोरीहरु चलचित्र क्षेत्रमा प्रवेश गर्दा कति कठिनाई झेल्नुपर्यो होला, आजको पुस्ताले कल्पना मात्र गर्न सक्छ ।

उहाँहरुले थालेको अभियान समाज रुपान्तरणमा ठूलो बिद्रोह थियो, यसको नेपाली समाजले युगयुगसम्म मूल्यांकन गरिरहने छ ।’

सो क्रममा मन्त्री शर्माले भुवन चैत्य बसुन्धरा फाउण्डेशन पुरस्कार २०७९ र २०८० बाट विभिन्न सर्जक तथा स्रष्टाहरुलाई सम्मान गर्नुभएको थियो ।

हरिश भुवन चन्द पुरस्कारबाट बरिष्ठ गीतकार यावद खरेल र नीर शाह, चैत्यदेवी सिंह पुरस्कारबाट बरिष्ठ संगीतकर्मी गणेश रसिक र बरिष्ठ अभिनेता शिव श्रेष्ठ, चेतनारायण बसुन्धरा भुसाल पुरस्कारबाट बरिष्ठ अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend