logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आन्दोलनरत शिक्षकलाई निषेधित क्षेत्रमा प्रवेश नगर्न गृहमन्त्रीको आग्रह


  • जन आकाश
  • बिहिबार, असोज ४ २०८०

काठमाडौं– सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकको प्रावधानको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले निषेधित क्षेत्रमा प्रवेश नगरी आन्दोलनका कार्यक्रम अघि बढाउन आग्रह गरेका छन्।



बिहीबार बिहान भएको वार्ताका क्रममा गृहमन्त्री श्रेष्ठले संवेदनशील क्षेत्रमा प्रवेश गर्दा प्रहरी बल प्रयोग गर्न बाध्य हुने र जसले गर्दा मुठभेडको स्थिति आउनसक्ने भएकाले शिक्षकहरुलाई सजकताका साथ आन्दोलन गर्न उनले आग्रह गरे। बुधबारको आन्दोलन तथा प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा प्रवेशको कोसिस भएको र बिहीबार हुने आन्दोलनलाई कसरी सुरक्षाको दृष्टिकोणले सफल बनाउने भनेर गृहमन्त्री श्रेष्ठले शिक्षक नेताहरुलाई सोधेका थिए।

सरकार शिक्षकहरुका माग सम्बोधन गर्न तयार नै रहेकाले आन्दोलनका कार्यक्रम रोकेर विद्यालय सञ्चालन गर्न पनि मन्त्री श्रेष्ठले आग्रह गरेका थिए। तर शिक्षककहरुले आफूहरुको माग सम्बोधन हुने आधारहरु नदेखेसम्म आन्दोलन रोक्न नसकिने बताएपछि वार्ता निष्कर्षविहीन भएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरिले जानकारी दिए।

गृहमन्त्रीले शिक्षकहरुलाई आन्दोलनको रुट परिर्वतन गर्न पनि आग्रह गरेका थिए। उनीहरुलाई मुख्य सडकमा नभइ अन्यत्र केन्द्रित हुन गृहमन्त्रीको आग्रह थियो। काठमाडौं उपत्यका सबै सवारी साधानको आवागमनमा समस्या हुँदा कार्यालय सञ्चालनमा समेत समस्या सिर्जना हुने भएकाले आन्दोलनको रुट परिवर्तन गर्न गृहमन्त्रीले आग्रह गरेका थिए।

तर शिक्षकहरुले भने आफूहरुले पुरानै स्थानमा आन्दोलन जारी राख्ने बताएका छन्। सरकारसँगको वार्तामा सहमति शिक्षकहरु बिहीबार पनि आन्दोलनमा उत्रिने भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend