logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

चन्द्रागिरि नगरपालिकाको ३ नं बडा बालश्रम मुक्त घोषणा


  • जन आकाश
  • शुक्रबार, असोज ५ २०८०

काठमाडौँ– चन्द्रागिरि नगरपालिका आफ्नो नगरलाई बालश्रम मुक्त बनाउने अभियानमा लागेको छ । नगरपालिकाले केही वडालाई बालश्रम मुक्त घोषणा गरिसकेको छ भने केही वडाहरू घोषणाको तयारी छ ।



चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले समग्र नगरपालिकालाई नै बालश्रम मुक्त घोषणा गर्ने अभियान जारी रहेको र आगामी २०८१ सालको चैतसम्ममा उक्त घोषणा भइसक्ने जानकारी दिए । उक्त नगरपालिकामा १५ वडा छन् । अहिलेसम्म चन्द्रागिरि– ३ र १४ भने बालश्रम मुक्त भइसकेको छ ।

वडा नं १४ गत वर्ष घोषणा भएको हो भने वडा नं ३ लाई बिहीबार घोषणा गरिएको हो । उक्त वडाभित्र फेला परेका १८ बालबालिकामध्ये केहीलाई विद्यालय भर्ना गरिएको र केहीलाई घर फिर्ता गरी बालश्रम मुक्त घोषणा गरिएको वडा नं ३ का अध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिनुुभयो भने यसअघि विभिन्न चरणमा कार्यक्रम तथा अनुगमन गरी बालश्रम मुक्त घोषणा गरिएको बताउँदै वडाध्यक्ष महर्जनले वडालाई छिटोभन्दा छिटो बालमैत्री बनाउने प्रतिबद्धता जनाए ।

बालश्रम मुक्त बनाउन बाल विकास समाज र वल्ड भिजन इन्टरनेसनल नेपालले सचेतनामूलक कार्यक्रम तथा तालिम प्रदान गरेको थियो । समाजका सिनियर फिल्ड अधिकृत दीपेन्द्र पराजुलीले नगरपालिकाको सामाजिक विकास तथा सुशासनका काममा संस्थाले आवश्यक सहयोग गर्दै आएको र यस वडालाई बालश्रम मुक्त बनाउन आवश्यक सहकार्य गरिएको बताए ।

यहाँ बालश्रम मुक्त वडा घोषणा गर्नुअघि उक्त वडाको मुख्य बजार थानकोटमा विभिन्न वेशभुषासहितको झाँकी तथा बाजागाजासहित र्याली निकालिएको थियो । विभिन्न स्कुल तथा महिला समूह र जातजातिका प्रतिनिधिहरूको सहभागितामा प्लेकार्डसहित र्याली निकालिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend