logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप विमानस्थलबाट लुक्लाका लागि व्यावसायिक उडान थालियो


  • जन आकाश
  • आइतबार, असोज ७ २०८०

रामेछाप — मुख्य पर्यटकीय सिजनका लागि सगरमाथातर्फ जाने पर्यटकलाई लक्षित गरेर निजी विमान कम्पनीहरुले आइतबारदेखि रामेछाप विमानस्थलबाट लुक्लाका लागि व्यावसायिक उडान थालेका छन् ।



रामेछाप विमानस्थलबाट लुक्लातर्फ पर्यटक लैजाने र लुक्लाका पर्यटक रामेछाप उतार्ने वायुसेवा कम्पनीहरुले अवको करिब दुई महिना रामेछाप विमानस्थलमा नै जहाज राखेर उडान गर्ने योजना बनाएका छन् ।

रामेछाप विमानस्थलकी एटिसी पूजा थापाका अनुसार आइतबार रामेछाप विमानस्थलबाट ७ उडान र ९ वटा अवतरणको तालिका रहेको बताएकी छन् । पर्यटकीय सिजनमा निजी क्षेत्रका तारा, सीता र समिट एयरले रामेछापबाट लुक्लाका लागि उडान गर्दै आएका छन् । डलरमा पर्यटक बोक्नका लागि रामेछाप विमानस्थलबाट लुक्लाको उडान गर्ने हवाई कम्पनीले रामेछापबाट काठमाडौंको लागि यात्रु उडान गर्न भने अटेर गर्दै आएका छन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई चापका कारण साना जहाजहरुले भनेको समयमा उडान र अवतरणको लागि पालो नपाउने हुँदा नेपाल नागरिक उडड्यन प्राधिकरणले रामेछाप विमानस्थललाई केही वर्षदेखि वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्दै आएको छ । प्राधिकरणले जहाजलाई रामेछापमा नै रात्रिकालीन पार्किङ गर्न र सोहि विमानस्थलबाट उडान केन्द्रित गर्न वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएकाले बाध्य भएर विमान कम्पनीहरु रामेछाप विमानस्थल प्रयोग गर्न थालेका हुन् । गएको सिजनमा एकै दिन रामेछापबाट लुक्लातर्फ दैनिक सरदर ५० उडान हुने गरेका थिए ।

लुक्लाका लागि कामठाडौंभन्दा आधा दुरी छोटो रामेछाप विमानसथल प्रयोग गर्दा पनि झन्डै काठमाडौंकै भाडा असुल गर्ने विमान कम्पनीहरुले यात्रुहरुलाई काठमाडौंबाट ४ घन्टाको सडकमार्गबाट रामेछाप ल्याउने र लैजाने गरेका छन् । सडकमार्गबाट यात्रु ओसार्नेमा केही ट्राभल एजेन्ट पनि रहेका छन् ।

काठमाडौंबाट राति नै आउने सवारी साधनले बिहान रामेछाप विमानस्थलमा यात्रु छोड्ने गरेका छन् । लुक्लाबाट आउने यात्रु पनि रामेछाप विमानस्थलबाट सिधै काठमाडौं पुग्ने भएकाले रामेछापमा रहेका व्यवसायीले पर्यटकबाट लाभ लिन सकेका छैनन् । सोलुतर्फको मौसम बिग्रेको अवस्थामा मात्र पर्यटकहरुले उडानको प्रतीक्षा रामेछापमा गर्ने गरेकाले केही व्यापार व्यवसाय हुने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend