logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

आयरल्यान्डमा नेपाली विद्यार्थीका लागि सहज भिसा र छात्रवृत्तिको व्यवस्था गर्न आग्रह


  • जन आकाश
  • आइतबार, असोज ७ २०८०

काठमाडौं– सभामुख देवराज घिमिरे आयरल्यान्डको भ्रमण सकाएर आइतबार स्वदेश फर्किएका छन् ।



स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर, त्यहाँका राष्ट्रपति माइकल डी हिगिन्सलगायत उच्चपदस्थ व्यक्तित्वसित शिष्टाचार भेट गरेको बताए ।

त्यसक्रममा नेपाली विद्यार्थीका लागि सहज भिसा र छात्रवृत्तिको व्यवस्था, क्यान्सरलगायत रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधिसहितको सहयोगबारे, एकार्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणका लागि प्रोत्साहनबारे छलफल भएको उनले बताए ।

नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीलाई आयरल्यान्ड भ्रमणमा सहजीकरण गर्ने, अबका दिनमा नेपालबाटै आयरल्यान्डका लागि भिसाको प्रबन्ध, नेपालमा आइरिस लगानी भित्र्याउने र जलवायु परिवर्तनलगायत विषयमा विश्वमञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको उनले जानकारी गराए ।

सभामुखको भ्रमण टोलीमा यहाँबाट प्रतिनिधिसभाका सचिव पद्यप्रसाद पाण्डेय र उनका स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी थिए । आयरल्यान्डमा नेपाली राजदूतावास लन्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधिमण्डलमा सहभागी भएका थिए । गएको भदौ ३१ गते सभामुख आयरल्यान्ड प्रस्थान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend