जन आकाश
काठमाडौं — नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई तत्काल प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी भर्नाको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरी शुल्कसम्बन्धी निर्णय गरी प्रवेश परीक्षाको मिति तोक्न माग गरेका हुन् । शुल्क विवादका कारण संस्थानमा प्रवेश परीक्षा अनिश्चित बनेको छ । साउन २५ गते इन्जिनियरिङ स्नातक बीईको शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार कायम गर्ने निर्णय गरिएको थियो ।
शुल्क वृद्धि विरोधमा विद्यार्थी आन्दोलन भएपछि भदौ १९ गते प्रवेश परीक्षा र शुल्क वृद्धिको निर्णय रद्द गरिएको छ । सहायक डिन सुशीलबहादुर बज्रचार्यको शुल्क निर्धारण कार्यदलले ७ लाख ७७ हजार शुल्क कायम गर्न सिफारिस गरेको थियो । त्यसलाई रद्द गर्दै गठित शुल्क पुनरावलकोन समितिले ५ लाख ५४ हजार शुल्क तोक्न सिफारिस गरेको छ । तर डिन कार्यालय शुल्कसम्बन्धी कुनै पनि निर्णय गरेको छैन ।
सहप्राध्यापक हरिराम पराजुलीको संयोजकत्वमा विद्यार्थी सम्मिलित शुल्क पुरावलोकन समिति गठन भएको थियो । नेविसंघका सभापति शर्पाले उक्त समितिले हचुवाको भरमा शुल्क सिफारिस गरेको जनाएका छन् ।
अध्ययन संस्थान र क्याम्पसहरूको खर्च घटाउनु भन्दा विद्यार्थीबाट शुल्क असुल्न खोजिएको उनले बताए । नेविसंघले खर्च घटाउन सके अनावश्यक शुल्क वृद्धि गर्नुनपर्ने जनाएको छ । डिन कार्यालयले शुल्क तोक्ने व्यवस्था छ । शुल्क तोकेपछि मात्र प्रवेश परीक्षाको कार्यक्रम अघि बढाउने तयारी छ । नेविसंघले अवपलम्ब शुल्क तोकी परीक्षा सञ्चालन गर्न भनेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend