जन आकाश
काठमाडौ । यस वर्ष तिहार पछाडि परेकाले फूलहरू चाँडै फुल्दा तिहारका लागि २० प्रतिशत फूलहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको व्यवसायीहरूको भनाई छ ।
काठमाडौँ, कात्तिक २२ गते । यस वर्षको तिहारमा नेपालमा ४० लाख थान फूलको माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालमा मागको ८० प्रतिशत फूल भने नेपाली उत्पादनले नै धान्ने देखिएको छ ।
तिहारलाई फूलैफूलको चाडको रूपमा लिने भएकाले पनि यस पर्वमा फूलको महत्त्व रहेको छ । यस वर्ष अन्य वर्षको तुलनामा माला आयतमा कमी आएको छ । स्थानीय उत्पादनले धान्न थालेपछि आयतमा कमी आएको हो ।
एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार तिहार नजिकिएसँगै फूल टिप्न र फूलका माला उन्न किसानहरू लागिसकेका छन् । नेपाल विशेष गरी सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग आत्मनिर्भर रहेको उनको भनाई छ । “तिहार आउन अब दुई हप्ता मात्र बाँकी रहँदा किसानहरू फूल टिप्न र माला उन्न व्यस्त छन् । यस पटकको तिहारमा करिब ४० लाख मालाको खपत हुने अनुमान रहेको छ ।” उनका अनुसार तिहारमा ३५ लाख सयपत्री, चार लाख ५० हजार थान मखमली, २० हजार थान गोदावरी र ३० हजार थान मिक्स माला खपत हुने अनुमान छ ।
गत वर्षको भन्दा यस वर्ष मालाको खपत केही बढी हुने अनुमान रहेको तामाङ भनाई छ । यस वर्ष तिहार पछाडि परेकाले फूलहरू चाँडै फुल्दा तिहारका लागि २० प्रतिशत फूलहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनको भनाई अनुुसार “यस वर्षको तिहार पछाडि परेकाले फूलहरू चाँडै नै फुलेकाले तिहारसम्म रहेनन् । त्यसैले २० प्रतिशत हाराहारीमा फूलहरू बाहिरबाट ल्याउनुपर्ने अवस्था आएको हो ।”
यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ । यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने अध्यक्ष तामाङको भनाइ छ । यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनको अनुमान छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend