logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले मानवजिवन संकटमा छ ः राष्ट्रपति पौडेल


  • जन आकाश
  • मंगलबार, मंसिर १९ २०८०

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभाव न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय सहयोगको प्रमुख हकदार भएको बताएका छन् । मंगलबार इसिमोड स्थापनाको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सीमानाभित्र नभई सीमापारी र विश्वस्तरमासमेत पर्ने स्पष्ट पारे ।



‘अहिलेको विश्व मानवसिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले संकटमा छ । पहाडी संवेदनशील भूवनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ,’ पौडेलले भने ।

राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख गर्दै कार्वन उत्सर्जनको कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरिरहेको बताए ।

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु हाम्रा सामु ठूलो चुनौती छ । हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्सानी पुगिरहेको छ,’ पौडेलले भने ।

राष्ट्रपति पौडेलले नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनिकरण, जैविक विविधता संरक्षण, जीवीकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताए ।

पौडेलले इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिवद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend