logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

चितवन कारागारमा बिरामी कैदीको चाप बढ्दै


  • जन आकाश
  • शुक्रबार, मंसिर २९ २०८०

नारायणगढ– चितवन कारागारमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।



एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए । “कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ”, उनले भने ।

कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ । अहिले कारागारमा मधुमेहका २६, थाइराइडका ३, मुटुरोगी ४, एचआइभी सङ्क्रमित ४, छारेरोगबाट पीडित ४, मानसिक रोगी ५, हेपाटाइटिसबाट पीडित ३ तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ ।

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

“उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ”, उनले भने । औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend